
योगको अर्थ हुन्छ जोड्नु । जोड्नुको अर्थ सुख शान्ति र आनन्दसँग जोड्नु पनि हुन सक्छ । अंशलाई अंशी वा जीवात्मालाई परमात्मासँग जोड्नु पनि हुन सक्छ । महामुनि पतञ्जलीका अनुसार यसको आठवटा साधन छन्, जसमा यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन् । यीमध्ये अघिल्लो पाँचवटा बहिरङ्ग साधन हुन् भने अन्तिम तीन अन्तरङ्ग साधन हुन् ।
यमको अर्थ संयम हुन्छ । संयम भनेको चित्तवृत्ति निरोध गर्ने तरिका हो । यसका पाँचवटा अङ्ग हुन्छन्, जसमा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रह पर्छन् । अहिंसा भनेको हिंसा नगर्नु हो । सत्य भनेको मन, वचन र कर्मलाई सत्यको मार्गमा हिँडाउनु हो । चोरी नगर्नु भन्नाले अर्काको धन, सम्पत्तिमाथि लोभ नगर्नु भन्ने बुझिन्छ । ब्रह्मचर्य भनेको इन्द्रियहरूलाई वशमा राख्नु हो भने अपरिग्रह भनेको विषय आर्जनको दोषबाट बच्ने प्रयास गर्नु हो ।
नियम भनेको शुद्धि हो । यो पनि पाँचै किसिमको हुन्छ, जसमा शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वरप्रणिधान पर्छन् । आभ्यन्तर शौच र बाह्य शौच गरी शौच दुई किसिमको हुन्छ । आभ्यन्तर शौच भनेको चित्तमा जमेको मयल धुने प्रयास गर्नु हो । बाह्य शौच भनेको मल विसर्जन तथा स्नानादिबाट शरीर शुद्धिको प्रयास हो ।
सन्तोषलाई बढी लोभ नगर्ने अर्थमा लिइएको छ । तप भनेको सुखदुःखलाई समान रूपमा लिनुपर्छ भन्ने हो । स्वाध्याय भनेको सत्शास्त्रको अध्ययन तथा जप यज्ञमा ध्यान दिनुपर्छ भन्ने हो । ईश्वरप्रणिधान भनेको ईश्वर भक्ति तथा कर्म समर्पणको अभ्यास हो ।
स्थिर भएर सुखपूर्वक बस्ने क्रियालाई आसन भनिन्छ । आसनमा बस्ने साधकले कुन कुरामा ध्यान दिनुपर्छ भने बस्दा आराम पनि होस् र मनको शान्ति पनि नखलबलियोस् । हठ योगमा विभिन्न किसिमको आसनको कुरा आएको छ । तर, ती आसन शारीरिक तन्दुरुस्तीका लागि बढी उपयोगी हुन्छन् । मानसिक शान्ति तथा परमात्मा प्राप्तिका लागि राजयोग नै बढी उपयोगी मानिएको छ ।
आसन सिद्ध भएपछि श्वास–प्रश्वासको गति सन्तुलनका लागि गरिने क्रियाको नाम प्राणायाम हो । बहिरी वायुलाई शरीरभित्र लिने कामलाई श्वास र भित्रको वायु बाहिर फाल्ने क्रियालाई प्रश्वास भनिन्छ । श्वासप्रश्वास निरन्तर चल्ने प्रक्रिया हो । सामान्यतया २४ घण्टामा २१ हजार ६०० पटक सास भित्र जाने र बाहिर निस्कने गर्छ । यो असन्तुलित हुनु भनेको आयु छोट्याउनु हो । त्यसैले आयु लम्ब्याउन श्वासप्रश्वासको गतिलाई पनि बढाउँदै लानुपर्ने हुन्छ, जुन काम प्राणायामले गर्छ ।
जतिबेला इन्द्रियहरू बाह्य विषयबाट विमुख हुने अवस्था सिर्जना हुन्छ, त्यस्तो अवस्थालाई प्रत्याहार भनिन्छ । साधारण अवस्थामा इन्द्रियको स्वेच्छाचारिता प्रबल हुने गर्छ तर, प्रत्याहारको अभ्यासबाट इन्द्रियहरू मनको वशमा हुन पुग्छन् र मनलाई परमात्मामा स्थिर गर्न सहज हुन्छ ।
धारणा भनेको चित्तलाई कुनै स्थानमा वा इष्टवस्तुमा स्थिर गराउने प्रक्रिया हो । प्राणायामबाट प्राणवायु र प्रत्याहारबाट इन्द्रियहरू वशमा आएपछि चित्तमा विक्षेपको सम्भावना रहँदैन र चित्त कुनै एक स्थानमा स्थिर हुन पुग्छ ।
ध्यान भनेको कुनै चीजमा एकाग्र हुनु हो । ध्येय वस्तुको ज्ञान जब एकाकार रूपले प्रवाहित हुन थाल्छ र उसलाई रोक्ने अन्य कुनै ज्ञान उपस्थित हुँदैन त्यस्तो अवस्थालाई ध्यान भनिन्छ । अर्थात् मनलाई स्थिर गरी इष्टवस्तुमा केन्द्रित गर्नु नै ध्यान हो ।
समाधिको शब्दको व्युत्पत्तिजन्य अर्थ हुन्छ विक्षेपलाई हटाएर चित्तलाई एकाग्र गराउने काम । जहाँ मन बाह्य वस्तुबाट विश्राम लिएर ध्येय वस्तुमा लीन हुन पुग्छ त्यही नै समाधि हो । ध्यानको अवस्थामा ध्यान, ध्येयवस्तु तथा ध्याता अलग–अलल हुने गर्छ तर, समाधिको अवस्थामा ध्येय वस्तु मात्र शेष रहने गर्छ । अर्थात् ध्यान, ध्याता र ध्येय वस्तु एउटै हुन पुगेको हुन्छ ।
समाधि पनि दुई किसिमको हुन्छ । सम्प्रज्ञात समाधि र असम्प्रज्ञात समाधि । सम्प्रज्ञात समाधिलाई सबीज समाधि भनिन्छ । असम्प्रज्ञात समाधि भनेको निर्बीज समाधि हो । किनकि यतिबेला चित्तको सबै खाले वृत्ति बन्द भई कैवल्य मुक्तिको अवस्था सिर्जना हुन पुगेको हुन्छ ।
यहाँनेर मननीय के छ भने ध्यान र धारणसम्म त साधक सजिलै पुग्न सक्छन् तर, आठौं अङ्ग समाधिमा पुग्न भने निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा साधकले अनेकखाले समस्याको सामना गर्नुपर्ने हुन्छ । यति बेला साधकलाई विभिन्न सिद्धि प्राप्त भएका हुन्छन् र अन्ततः यही नै उसका लागि बाधक बन्न पुग्छ । त्यसैले साधकले त्यसलाई समेत मार्नुपर्ने हुन्छ ।
भागवतमा एउटा प्रसङ्ग आएको छ । एकपटक सनकादि कुमारहरू वैकुण्ठको दर्शन गर्न गएका थिए तर सातौं द्वारमा पुगेपछि जय र विजय रोक्न आए । जय र विजय भनेको अभिमान हो । देशभित्रको प्रतिष्ठाको अभिमान जय र प्रदेशमा प्रतिष्ठाको अभिमान विजय । जब यस्तो हुन्छ त्यहाँ अहंका आउँछ । अहंकार भनेको क्रोधानुज हो । सनकादिलाई त्यस्तै भयो । सातौं द्वारमा पुगेका थिए जय र विजय आइपुगे । जब जय विजय आएका थिए क्रोध आइहाल्यो । फलत: उनीहरूले सातौं द्वारमा पुगेर पनि वैकुण्ठभित्र प्रवेश गर्न पाएनन् । उनीहरूलाई भगवानले द्वारबाटै फिर्ता गरिदिए ।
भागवतकै अर्को प्रसङ्ग पनि त्यति नै मननीय छ । वसुदेवले लामो समयसम्म भगवान्को ध्यान गरेकाले भगवान् भेट्न आएका थिए तर, सातौं द्वारभित्र रहेर पनि उनलाई बाहिर आउनमात्र परेको थिएन, भगवान्लाई बाहिरै छाडी योगमायालाई लिएर भित्र छिर्नुपरेको थियो । यहाँ भगवान्ले उनको परिपक्वताको परीक्षा लिएका थिए तर, वसुदेव महाराज फेल भए । फेल हुनु के थियो भगवत्प्राप्तिमा पुनः लामो संघर्ष गर्नुपर्यो ।
त्यसैले, यदि साँच्चै सुख, शान्ति, आनन्द प्राप्तिको चाहना गर्ने हो भने योगी बनेर मात्र पुग्दैन योगमार्गलाई उपयोग गर्न जान्नु पनि पर्छ । होइन भने त्यसैले नै घुमाइदिन्छ । अस्तु आजलाई यति नै ।