३० असार २०८३, मंगलबार

४५ वर्ष पहिले परीक्षण, १५ वर्षअघि इजाजत तर, अघि बढेन चौकुने सिमेन्ट उद्योगको काम

माघ २३, २०८१
सुर्खेत
४५ वर्ष पहिले परीक्षण, १५ वर्षअघि इजाजत तर, अघि बढेन चौकुने सिमेन्ट उद्योगको काम

४५ वर्षअघि पहिचान भएको चौकुने सिमेन्ट उद्योगको काम अहिलेसम्म अघि बढ्न सकेको छैन । सुर्खेतको चौकुने गाउँपालिका-६ मा सिमेन्ट उद्योग सञ्चालनका लागि भनेर मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिले इजाजत पाएको नै १५ वर्ष पुगिसकेको छ । 

तर, अहिलेसम्म उद्योग सञ्चालनका कुनै काम अघि बढ्न सकेका छैनन् । गाउँपालिका र प्रदेश सरकारले प्रस्तावित सिमेन्ट उद्योगसम्म पहुँच मार्ग पुर्‍याइसकेका छन् । यद्यपि, उद्योगको काम अघि नबढ्दा गाउँमै रोजगारी पाइने आशमा बसेकाहरू निराश बन्न थालेका छन् । 

खानी तथा भूगर्भ विभागले २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई इजाजत दिएको थियो । तर, प्रगति शून्य भएपछि विभागले पहिलोपटक २०७४ मा मुक्तिश्रीको लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि सञ्चालक अजय सुमार्गीले उच्च अदालत पाटनमा चुनौती दिए । अदालतले उनका पक्षमा आदेश दिएपछि विभागले कम्पनी नवीकरण गर्‍यो । 

२०३६ सालमा चौकुनेको लखरपाटामा उद्योग स्थापना गर्ने गरी परीक्षण भएको थियो । जसका लागि २०३५ सालमा खानी तथा भूगर्भ विभागले चुनढुंगा र माटो परीक्षण गरेको थियो ।

कम्पनीले बारम्बार काम शुरू गर्ने आश्वासन मात्रै दिएको गाउँपालिका अध्यक्ष खड्क विक ‘विवश’ बताउँछन् ।  स्थानीय तहको निर्वाचनताका घोषणापत्र सम्झँदै गाउँपालिका अध्यक्ष विकले भने, ‘उद्योग सञ्चालन हुने आशामा युवालाई रोजगारी दिलाउने प्रतिबद्धता जनायौं । तर, कार्यकाल सकिन थाल्यो । सिमेन्ट उद्योगले गति लिने आधार देखिँदैन ।’

उनी कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताउँछन् । गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेका छन् । 

पालिकाले लेख्यो पत्र
अलपत्र उद्योग सञ्चालन गर्ने/नगर्ने सम्बन्धमा गाउँपालिकाले मुक्तिश्रीलाई पत्र लेखेको छ । गत भदौ ११ गते लेखिएको पत्रमा इजाजत पत्र पाएको एक दशक बित्दा पनि चुनढुंगा उत्खनन् कार्य नगरी पटक पटक म्याद मात्र थप्दै आएको भनिएको छ ।

‘यति ठूलो आयोजना सञ्चालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकहरूको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकारात्मक असर परेको कुरा जानकारी गराउन चाहन्छु’, पत्रमा भनिएको छ, ‘साथै, उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था छ ? या छैन ? यसको यथाशीघ्र तथ्यसहित जानकारी दिनु हुन र यदि उद्योग सञ्चालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियम अनुसार अधिग्रहण प्रक्रियामा जान हुन र सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जान हुन अनुरोध छ ।’

null

खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । 

कारखाना सञ्चालन गर्न करिब ७ अर्ब लागत लाग्ने अनुमान गरिएको कम्पनीका प्रतिनिधि लोक अधिकारीले बताए । उनका अनुसार मुक्तिश्रीले दैनिक एक हजार ५०० देखि पाँच हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । 

‘हामीले चौकुने गाउँपालिका वडा नम्बर ७ मा अहिले प्लान्ट स्थापना गर्नका लागि भनेर चार सय रोपनी जग्गा खरिद गर्ने योजना बनाएका छौं’, अधिकारीले भने, ‘त्यसका लागि पालिकासँग छलफल गरिरहेका छौं ।’

उनले केही दिन पहिले कम्पनीका सञ्चालक सुमार्गी चौकुने आएर फर्किएको जानकारी दिए । ‘उहाँ यहाँ आएर फर्किसक्नु भएको छ । जग्गाको मूल्य मिलेको खण्डमा माघभित्रै जग्गा खरिद गर्ने र फागुनभित्र जग्गाको भुक्तानी दिने योजना हामीले बनाएका छौं’, अधिकारीले भने,‘कम्पनीलाई हरेक वर्ष नवीकरण गर्दै आइरहेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्