
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको वृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’को ३०औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।
आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौं रूपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानूनका साथै आईटी तथा स्टार्टअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको पहलपछि सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानूनहरूमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।
‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानूनी व्यवस्थाले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ ’, उनले भने ।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत अध्यक्ष ढकालले बताए ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्न, जनशक्ति विकास गर्न, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दु:खद् भएको बताए । पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधका विषयमा बोल्दै उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे ।
माघ २८ गतेसम्म चल्ले क्यान इन्फोटेकको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैंले धेरै काम गर्न बाँकी रहेको बताए ।
उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारका लागि काम गरिरहेको बताए ।