२६ जेठ २०८३, मंगलबार
गण्डकी कोटीहोम

धर्मका विषयमा भ्रम सिर्जना नगरियोस्

माघ २६, २०८१
काठमाडौं
धर्मका विषयमा भ्रम सिर्जना नगरियोस्

यतिबेला आगामी वैशाख–जेठमा गरिने भनिएको गण्डकी कोटीहोम महायज्ञ व्यापक चर्चाको विषय बनेको छ । चर्चाको कारण शुरूमा महायज्ञका लागि चाहिने समिधा (दाउरा) स‌ंकलनको विषय थियो भने अहिले आएर महायज्ञले वायुप्रदूषित गराउने भएकाले यस्ता महायज्ञ गर्नैहुन्न भन्ने समेत जोडिएको छ । 

महानगरका मेयरकै तहबाट यसअघि महिनौं दिनसम्म चल्ने यस्ता लामा यज्ञको नामै सुनिएको थिएन भन्ने कुरा पनि आयो । यस्ता यज्ञले पर्यटक आगमनमा बाधा पुग्छ भन्ने कुरा पनि आयो, जसले एकैसाथ विभिन्न प्रश्न र आशंका उब्जाएको छ । 

प्रथमतः महायज्ञबाट वायुप्रदूषित हुन्छ भन्ने कुरा पहिलोपटक सुनेजस्तो लाग्छ । यसअघि त महायज्ञले वायुशुद्धीकरण गर्छ भन्ने सुन्ने गरिएको थियो । वैदिक ऋषिमुनिहरू यज्ञ अनुष्ठानलाई आयुवर्धक मान्थे, लामालामा यज्ञ अनुष्ठान चलाउँथे ।

नैमिषारण्य क्षेत्रमा यस्ता अनुष्ठान महिनौं होइन, वर्षौंसम्म चल्ने गर्थे । वर्तमान युगकै कुरा गर्ने हो भने पनि केही वर्ष अघि भारतको गोखरपुरमा यस्तैखाले महायज्ञ भएको थियो । यज्ञ समाप्तिपछि वायुको स्तर मापन गर्दा यज्ञको अघिभन्दा पछिको वायुको बढी शुद्ध भएको पाइको थियो, जुन कुरा त्यति बेलै सञ्चारमाध्यममा आएको थियो । 

महायज्ञहरू पर्यटक आगमनमा बाधक बन्छन् भन्ने कुरा पनि बालपनबाहेक केही होजस्तो लाग्दैन, किनभने यस्ता महायज्ञहरू पर्यटक वृद्धिमा बाधक होइन, साधक बनिरहेका हुन्छन् । पर्यटक आउने आफ्ना देशमा भएको दृश्यहरू हेर्न होइन, नभएका दृष्य हेर्न र त्यसैमा रमाउन हो । आफूले नदेखेको दृश्य देखेपछि त्यसप्रति चासो बढ्छ र सोधीखोजी हुन थाल्छ, जसले अन्ततः पर्यटक बसाइलाई लम्ब्याइरहेको हुन्छ । 

महायज्ञको उद्देश्य पनि पर्यटक वृद्धिमा सघाउने नै रहेको पाइएको छ । मानवसेवा फाउन्डेसन पोखरा शाखालगायतका धार्मिक संस्थाहरूले गर्न लागेको भनिएको सो महायज्ञको प्रमुख उद्देश्यमा पोखरालाई मुक्तिद्वारको रूपमा प्रतिष्ठापित गरी नेपाल भ्रमणवर्ष २०२५ लाई सफल पार्ने लगायतका विषयवस्तु रहेको कुरा उसले आफ्नो पोस्टरमै उल्लेख गरेको छ ।

हो, महायज्ञ खासगरी हवन यज्ञमा समिधा (दाउरा) चाहिन्छ । धेरै दिन चल्ने यज्ञमा सोहीअनुसार जोहो गर्नुपर्ने हुन्छ । आयोजकहरूले नै शतकुण्डीय गायत्री कोटीहोम गर्ने भनिसकेपछि समिधा बढी संकलन गर्नु स्वाभाविकै हो । समिधा धेरै चाहिने भएपछि सोहीअनुसार रूख वा हाँगा छिमल्नु वा कटानी गर्नुपर्ने हुन्छ । त्यसैले यो के नि ? भन्ने प्रश्न उठ्न सक्छ र समस्याको शुरूआत पनि त्यहीँबाट भएको देखिन्छ । 

तर, आयोजक संस्थाले वडा कार्यालयहरू (६, १३ र १४) को सिफरिसमा स्थानीय जनताले छिमल्न वा काट्न ठीक पारेका मानववस्ती जोखिमयुक्त सयौं वर्ष पुराना रुखहरूको हाँगा संकलन गरेको जनाएको छ, तर महानगर पालिकाले भने त्यसलाई जफत गरेको मात्र छैन मेयरसाब आफैंले कुनै पनि हालतमा महायज्ञ नै हुन नदिने उद्घोष गर्नुभएको छ । यसबाट के प्रस्ट हुन्छ भने– मेयरसाब वैदिक सनातन धर्मविरोधी हुनुहुन्छ । कि त उहाँ र सम्बन्धित वडा कार्यालयहरूबीच कुनै आन्तरिक समस्या छ ।

उहाँहरूको आन्तरिक समस्या के हो, उहाँहरूले नै जान्ने कुरा हो, तर सबैले बुझेको कुरा के हो भने यस्ता आन्तरिक समस्यालाई महायज्ञको नाममा भजाएर भ्रम सिर्जना गर्नुहुँदैन । होइन, उहाँको वैदिक धर्मविरोधी नियत हो भने त्यो त झन् यसै पनि राम्रो होइन । 

यदि साँच्चै वडा कार्यालयहरूको सिफारिसमै रुख वा हाँगा काट्ने वा छिमल्ने काम भएको हो भने सो सिफारिश स्वयं महानगरकै सिफारिश हो । आफ्नै अंगले गरेको कामलाई आफूले गरेको होइन भन्न मिल्दैन । मातहत निकायले आफ्नो आदेश विपरीत काम गरेको हो भने त्यतिबेलै प्रतिवाद गर्नुपर्थ्यो, जति बेला रुख काट्ने वा हाँगा छिमल्ने काम भएको थियो । महिनौं अगाडि भएको काम अहिले आएर आफूलाई थाहा थिएन भन्नुलाई के भन्ने ?  

लौ मानौं एकछिनलाई अहिले आएर नै थाहा पाइछ रे, यदि त्यसै हो भने त्यसको खोजी त सम्बन्धित वडा कार्यालयभित्रै हुनुपर्ने हो । महायज्ञका लागि ठीक पारिएको समिधा नै जफत गर्नुको आशय के हो ? होइन, महायज्ञ आयोजक संस्थाहरूले आफूखुशी दाउरा कटानी गरेका हुन् भने त्यसको जवाफ आयोजकहरूले पनि दिनुपर्छ ।   

वैदिक यज्ञअनुष्ठान भनेका सनातनधर्मावलम्बीहरूको प्राण हुन्, जसले निरन्तर चल्न पाउनुपर्छ । यसमा बाधा दिने अधिकार कसैलाई पनि हुँदैन ।

यदि कसैले त्यस्तो धृष्टता गर्छ भने अन्ततः उसैका निम्ति निकै प्रत्युत्पादक बन्न पुग्छ । भागवतमा एउटा प्रसंग आएको छ । एकपटक तत्कालीन राजा बेनले यज्ञअनुष्ठानलाई रोक लगाउने प्रयास गरेका थिए, जुन काम अन्ततोगत्वा उनलाई निकै महंगो पर्‍यो । 

हो, अहिलेको समय परक छ । समय फरक भएकाले तरिका पनि फरक हुन सक्छ । बेनले भोगेको नियति भोग्नु नपर्ला, तर त्यस्तै अर्को कुनै अवस्था सिर्जना भने पक्कै हुन सक्छ । राजा बेन ऋषिहरूको कोपभाजनमा परेका थिए । अहिले प्रशासकहरू जनताको कोपभाजनमा पर्न सक्छन् । हेक्का राखौं ८४ पूजा नजिकै छ ।   

महानगर प्रमुखको साँच्चै यज्ञअनुष्ठानमा रोक लगाउने रहर हो भने पहिले चाहे जुनसुकै धर्मको नाममा होस्, पशुपक्षीको हत्या हुने तामसिक यज्ञअनुष्ठानमा रोक लगाउन सक्नुपर्छ । विशुद्ध घिऊ र चरु हवन गरिने सात्विक यज्ञमा रोक लगाउनुको कुतै तुक छैन । पशुपक्षीहत्याको यज्ञलाई हेरेर रमाउनेहरूले सात्विक यज्ञलाई रोक लगाउने रहर नगरे हुन्छ ।  

हाल आयोकहरू कुनै पनि हालतमा यज्ञ सम्पन्न गरेरै छाड्ने भनिरहेका छन् । महानगरपालिका कुनै पनि हालतमा यज्ञ हुनै दिन्न भनिरहेको छ । यस्ता परस्परविरोधी कुराले मुठभेडको स्थिति निम्याउन सक्छ । 

कदाचित त्यस्तो अवस्था आयो भने नतिजा निकै भयानक हुन सक्छ । त्यसैले समस्या केमा हो, आपसमा बसेर छलफल गरी टुङ्ग्याउनुपर्छ । होइन जुँगाको लडाइँमा रमाएर महायज्ञमा बाधा पुर्‍याउने हो भने ठाने हुन्छ, हामीले आफूपर्ने खाल्टो आफैँ खन्दैछौँ । सबमा चेतना भया !  

salt training

कमेन्ट गर्नुहोस्