
‘क्षितिज ! बिदा मिल्यो ?’
साथी बिनिताको मेसेज आयो । साप्ताहिक बस्न मिल्ने एक दिनको बिदा बाहेक अर्को दिन बिदा मिलाउन मलाई निकै गाह्रो पर्छ भन्ने उसलाई राम्ररी थाहा छ । त्यसकारण, कतै निस्किने योजना बन्यो भने मलाई भन्दा उसलाई बढी चिन्ता हुन्छ, मेरो बिदाको ।
उसलाई पनि लाग्दो हो; यात्रामा एउटा आत्मीय मान्छे नछुटोस् । तर, म कयौंपटक छुटिगएको छु । साथीहरू मबिना यात्रामा निस्किँदा म रेल छुटेपछिको स्टेशनजस्तो बनिगएको छु । बचेरा उडिगएको गुँडजस्तो बनिगएको छु । नदीले छाडीगएको बगरजस्तो बनिगएको छु ।
मैले उनीहरूलाई रोकियौ भन्न मिल्दैन, उनीहरू मेरा कारण रोकिन मिल्दैन । यस्तै हो, यात्रा जिन्दगीको । तर, केही योजनाहरू मेरो समय नमिलेका कारण स्थगित गरिएका निकट विगत पनि छ । मेरो नमिल्दा उनीहरूले पनि क्यान्सिल गरेका उदाहरण छन् ।
यो प्रेमका लागि आभार प्रिय साथीहरू ! यो मायाका लागि मनैदेखि धन्यवाद !
उसो त हाम्रो बिदाको बार पनि मिल्दैन । नत्र एकैदिनमा गर्न सकिने यात्राहरू कति गर्दा हौं, हामी । यद्यपि, हप्ता वा महिनादिनमा उपत्यकाबाहिरको यात्रामा निस्किने ‘हैसियत’ छैन मेरो । ‘हैसियत’को कमजोर धरातलमा उभिएको मजस्ताका लागि यो विषय गाह्रै हो भन्ने लाग्छ । तर, करिब करिब नि:शुल्क उक्लिन सकिने यहीँ उपत्यकाका डाँडाकाँडा उक्लिने समय पनि नमिल्दा चाहिँ साह्रै थकथक लाग्छ ।
मेरो साप्ताहिक बिदा शुक्रबार पर्छ । उसको शनिबार र आइतबार- दुई दिन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नुको यही त मज्जा छ । अरु साथीहरू पनि प्राय: शनिबारे बिदावाला नै छन् ।
यसपालि मलाई कम्तीमा दुई दिनको बिदा चाहिनेवाला थियो । मैले अफिसमा सल्लाह गरेर मिलाउने कोसिस गर्छु भनेको थिएँ । मलाई पनि त प्रिय साथीहरूसँगै यात्रा गर्न मन हुन्छ नि ! म पनि उड्न चाहन्छु उनीहरूजस्तै आजाद भएर- फट्फटाउँदै रहरका पखेटाहरू । एउटा आत्मीय आकाशमा ।
तर, सबै योजनाहरू सफल हुँदैनन् । मन दुख्छ । कहिलेकाहीँ त दिक्क लाग्छ- कस्तो पेसामा लागिएछ ! न चाडबाड भन्न पाएको छ । न भनेका बेला साथीभाइसँग खुशी साट्न पाएको छ । न परिवारलाई समय दिन पाएको छ । तर, जीवनका कयौं स्वर्णिम र ऊर्जावान वर्षहरू यही पेसामा बिताएपछि अहिले अर्को कुनैमा आबद्ध भइहाल्ने पनि सोच्न सकिएको छैन । परिस्थिति नै यस्तै भयो भनेर मन बुझाउने गरिएको छ ।
मनै त हो बुझाउन सक्दा बुझ्ने रहेछ ।
मेरै समस्याले गर्दा साथीहरूले यसपटक दुई दिनभन्दा बढीको कार्यक्रम बनाएका थिएनन् । र, उनीहरूको चाहना थियो- म जसरी पनि सहभागी बनूँ !
‘मिल्छ । मिल्दैछ ।’
मैले उसलाई आश्वस्त पारेँ ।
‘ल यार जसरी पनि मिलाउनु पर्यो’, संवाद टुंगियो ।
बिदाको सहजीकरणका लागि अफिसमा कुरा राखेँ । सहकर्मी विनोद देवकोटासँग साप्ताहिक बिदा साटेँ । त्यतिले पुग्ने अवस्था थिएन । थप एकदिन चाहिने थियो, त्यो पनि शनिबार । अघिल्लो हप्ता साप्ताहिक बिदा नबसेकाले चाहिँ अलि सहज भयो मलाई ।
धन्न ! अफिसमा साथीहरूले ‘म्यानेज’ गरिदिनुभयो । खुशीको सीमा रहेन । मन उडेर कहाँ कहाँ पुग्यो- पुतलीजस्तै । तर, साथी बिनितालाई यसबारे तत्कालै भनिनँ । ग्रुपमा झन् मेसेज गर्ने कुरै भएन । म चाहन्थेँ- क्षितिज जान्छ/जाँदैन भन्ने ढुकचुक उसलाई भइरहोस् । म टक्क अन्तिम समयमा यात्रामा मिसिन पुगूँ । तर, यात्राका व्यवस्थापकीय पक्षका कारण केही दिन पहिल्यै ‘कन्फर्म’ गर्नु जो थियो ।
‘साथीहरू क-कसको मिल्ने भयो ? भरेसम्म कन्फर्म गर्नू है’, ग्रुपमा उसको मेसेज आयो ।
हाम्रो समूहका खनाल र भट्टराई (श्रेया) जान नमिल्नेमा परे । सागर अधिकारी प्रयागराजको महाकुम्भमा जाने तय भएकाले यता ‘कोसिस’ गर्ने कुरा भयो । मनीषा अधिकारी त्यो दिन बिहानको डियुटी सकेर जाने कुरा भयो । अध्ययनका लागि चीन गएकी लक्ष्मी बीसी बिदामा आएको हुनाले थप भन्नै परेन । नगदनारायणले साथ दिएसम्म सायद, ढुक्कले मिल्ने लक्ष्मीको मात्र होला !
‘मैले केही भन्नुपर्छ ?’, ग्रुपमा रिप्लाई गरेँ ।
‘कन्फर्म्ड’, बिनिताले भनिन् ।
म मौन बसेँ । उसलाई यसपालि चाहिँ क्षितिजले जसरी पनि बिदा मिलाउँछ भन्ने विश्वास थिएछ ।
अँs हाम्रा सूचना आदानप्रदानका लागि सामाजिक सञ्जालमा मेसेज ग्रुप बनाएका छौं । त्यसले हाम्रा बीचमा सञ्चार गर्न सहज त भएको छ नै, मेरा लागि त झन् फाइदै फाइदा । साथीहरूले आईफोनबाट लिएका तस्वीर/भिडिओ ट्याक्क ग्रुपमा खसाल्छन्, त्यहीँबाट निकाल्यो । अनि, सामाजिक सञ्जालमा ‘फूर्ति’ लायो । नत्र दमको बिरामीजस्तो थला परिसकेको मेरो एन्ड्रोइड फोनबाट कहाँ त्यस्ता दाम्मी दाम्मी फोटो/भिडिओ आउनू !

०००
साथी बिनिता र म करिब डेढ दशकदेखि मित्रतामा छौं । साथीको सम्बन्धमा अतिरिक्त चाहना नहुने हो र एक-अर्काप्रतिको सम्मान मौजुद रहने भने यसै सुन्दर भइजाने रहेछ । कमसेकम हाम्राबीचमा त्यो कुरा मौजुद छ र रहिरहनेछ । एउटा किताबले जोडेको साइनो असल मित्रका रूपमा मौलाइरहँदा छुट्टै आनन्द अनुभूति हुन्छ ।
‘हाम्रो मित्रता आहा लाग्दो कि डाहा लाग्दो !?’
‘दुबै किसिमको !’,ऊ भन्छ ।
केटा र केटी पनि साथी हुन सक्छन् ? भन्नेहरूका लागि हामी एउटा जवाफ हौं भन्ने लाग्छ । चाहन्छु- हाम्रो मित्रता यस्तै अजम्बरी भइरहोस् ! यो जवाफ सधैँ सतिसाल बनेर उभियोस् ।
जीवनमा कयौं साथीहरू जोडिन्छन् । छुटिन्छन् । कति जोडिए, कति टाढिए ? मित्रताको बहीखाता बनाएको छुइनँ । कति मेरा कारण टाढिए होलान्, कति आफ्नै कारण टाढिए होलान् । सबैसँग आत्मीय भइराख्न पनि सकिँदोरहेनछ ।
यो डेढ दशकको अवधिमा हामीले कति दु:ख साटेका छौं, कति खुशी बाँडेका छौं । एकअर्कालाई परेका अप्ठ्याराहरू छिचोल्ने कोसिस गरिरहेका छौं । हात दिएका छौं । साथ दिएका छौं ।
भरोसाको एउटा खाँबो बनेर आड दिने कोसिस गरिरहेका छौं । हामी हुर्किएको धरातल एउटै हुनुको कारणले पनि हाम्रो सोंच मिलिरहेको हुन सक्छ । जहाँ पुगे पनि आफ्नो धरातल कहिल्यै नबिर्सनू ल बिनि !
शुरूमा काठमाडौं छिर्दा मेरो ‘गोजी रित्तो’ थियो । गोजीभर थिए त केवल रहरहरू । सपनाहरू । तर, रहर र सपनाले मात्र बाँच्न सकिने रहेनछ । बाँच्नका लागि अर्थोकै चाहिने रहेछ ।
सबभन्दा पहिले त ओत लाग्ने डेरा चाहियो । र, डेरा व्यवस्थापनका लागि उसैले सहयोग गर्यो ।
त्यतिबेला मुवालाई भनेको थिएँ- तपाईंको छोरो शहरमा भोकै मर्दैन ! यहाँ बिनिताजस्तो साथी छ !
पारिवारिक रूपमा हामीले एक-अर्काका परिवारलाई चिनेका छौं । बेलाबखत सँगै खाना खाने मेलो जुराउँछौं । त्यसले झन् सुन्दर बनाएको छ, हाम्रो मित्रता ।
लुकाउनु केही भए पो ! हामी त खुला किताबजस्तै न हौं ।
उतिबेला मेरो सवारी साधन थिएन । काठमाडौंमा नयाँ थिएँ । ऊ मभन्दा केही वर्ष पहिल्यै काठमाडौं उक्लिसकेको थियो । त्यसकारण उसलाई यहाँका बारेमा अलि धेरै थाहा भइसकेको थियो । ती दिनहरूमा हामी भेट्दा हरेक पटक नयाँ-नयाँ ठाउँ भेट्थ्यौं । र, नयाँ-नयाँ परिकार खान्थ्यौं ।
वास्तवमा मलाई काठमाडौंको भूगोल र परिकारसँग परिचित गराउने ऊ नै हो । उसले त्यति नगरेको भए काठमाडौंसँग अभ्यस्त हुन मलाई कति समय लाग्थ्यो थाहा छैन ।
अहो ! म त मित्रताको कुरैमा पो अल्झिएछु । उससँगको मित्रताका किस्साबारे कुनै दिन लेखौंला । माफ गर्नुस् है, आज चाहिँ म यहाँ यात्राको कुरा गर्दै थिएँ क्यारे ।
शनिबार बिहान (माघ १९ गते), झण्डै ११ बजे कलंकीबाट एउटा हायस छुट्यो- १९८३ नम्बरको ।
र, त्यही हायसभित्र छौं हामी १९ जना । कस्तो संयोग ! माघ १९ गते, शुरूमा १९ नम्बर आउने हायसमा १९ जना यात्रु !
हाम्रो समूहका ९ जना छौं । चालक, सहचालक र अरु यात्रु गरेर १९ पुग्यौं ।
गाडीको नम्बरजस्तो ८३ सालको माघ १९ मा केही त हुँदैन होला नि है ? किनकी नेपाली राजनीतिमा माघ १९ एउटा महत्त्वपूर्ण दिनका रूपमा रहेको तपाईंलाई थाहै छ ।
ह्या ! मनमा के-के कुरा खेलिबस्छ ।
ल है ! बन्दीपुर… दमौली… डुम्रे... पोखरा…पोखरा..!
ढोकानेर उभिएर सहचालक बन्न खोजेँ । सडकमा हिँडिरहेका मानिसहरूले आँखा सोझ्याए । लाग्यो होला, लय मिलाउन नजान्ने कस्तो खलासी हो यो ?
‘यसरी नै जाऔं है, एक जनाको भाडा छुट मागम’, मनीषाले जिस्किइन् ।
‘म पनि यही चाहन्छु’, थपिदिएँ ।
तर, सहचालक नवीन ढकालजी आइपुगेपछि म आफ्नै हैसियतमा ओर्लिएँ ।
काठमाडौंको भीडभाड छिचोल्दै अघि बढ्यौं । छेउमा बसेको कृष्ण भाइलाई नागढुंगा सुरूङ देखाएँ । त्यसको फाइदाबारे बताएँ । तर, सुरूङ बने पनि यो बाटो यात्रा गर्दा मोटरसाइकल भने सुरूङमा चलाउन नपाइनेबारे बताउँदा ऊ खुशी देखिएन ।
‘ल्याह ! उसो भए त मजै भए नि यार !’, सायद कुनै बेला मोटरसाइकलमा यही बाटो यात्रा गर्ने सोंच बनाएको उसको रहरको गाँसमा मैले ढुंगा मिसाइदिएँ कि !
सुरुङ निर्माण क्षेत्र कटिनसक्दै मेरो पेट भने झण्डै सुरुङ बनिसकेको थियो । त्यसैमा सडकको दुर्दशाले झन् पेट हुँडुलिरहेछ ।
बिहान १० बजे नै कलंकी पुगेर गाडी चढिहाल्ने भनेको हुनाले डेराबाट केही नखाइ हिँडें । बिहानै खाना पकाउन र खान मन पनि थिएन । एउटा सुन्तला, ओखर र स्याउ खाएँ । भात-रोटी नखाइ चित्त नबुझ्ने हन्तकारी पेटले के टेर्थ्यो !
‘ल है खाना, खाजा खाम । छिटोछिटो खाइहालम । झरम झरम ।’
पेटको सुरुङमा भोकले ब्रेक थ्रु गर्ने आँटेका बेला चालकले गाडी कृष्णभीरको एउटा होटलमा लगेर रोकिदिए ।
‘तपाईं खाना नै खानू, क्षितिज !’
आफूहरू खाना नखाने मनशायसित बिनिताहरू प्रस्तुत भए । मनीषाबाहेक उनीहरूले बिहानै भात बजाइसकेका रहेछन् । हैट ! केटीहरू कडा ! तीन जना भाइ पनि छन् क्यारे ।
यात्राको असजिलोका कारण मनीषाले पनि खाना नखाने भइन् ।
‘ल साहुजी मलाई रोटी दिनुस्’,राजमार्ग छेउको भातभन्दा रोटी नै ठीक होला भन्ठानेर रोटी खाने निर्णयमा पुगेँ । मनीषा र बिनिताले केही टुक्रा चपाएर सहयोग गरे ।
लक्ष्मीजी, दीक्षा र मनिता बहिनी, कृष्ण, आर्यन र दिवस भाइहरू चटपटे, सुन्तला र काँक्रोमा सीमित भए । बाहिर चटपटे चपाइरहेको देखेपछि मनीषा पनि हुर्र उतै कुदिन् ।
र, केहीबेरमा गाडी कुद्यो । हामी सबै कुद्यौं ।

०००
‘चितवन रे ! कुन चितवन ?’
कुरिनटार पुग्नेबेला बाहिरको ठाउँ चिनाएपछि कृष्ण भाइको प्रश्न थियो यो ।
‘कतिवटा चितवन छ र ?’, मैले प्रतिप्रश्न गरेँ ।
उसले चितवन मकवानपुरसँग जोडिएको थाहा पाएको रहेछ । चितवन जानलाई हेटौंडाको बाटो जानपर्ने थाहा रहेछ । हेटौंडा उसको छिमेकी शहर । हेटौंडा हुँदै ओहोरदोहोर गर्छ, घर-काठमाडौं । तर, पृथ्वी राजमार्गमा पहिलोपटक यात्रा गरेको हुनाले उसलाई कता कता पुगेको जस्तो अनुभव भइरहेको रहेछ । यता पनि चितवन भन्दा उसलाई अलि अनौठो लाग्नु स्वाभाविकै ठानेँ ।
‘बसाइँ ठीक छ ?’
अगाडिको सिटबाट बेला बेला बिनिता, मनीषा र लक्ष्मीले सोधिरहन्छन् । उनीहरू र हाम्रो बीचमा सिटको एक लेयरले सिमाना छुट्याएको छ । मानौं बीचका सिटहरू दशगजा र त्यहाँ बसेका यात्रुहरू जंगे पिल्लर हुन् ।
‘फाइनल्ली यो मान्छेको बिदा मिल्यो यार ।’
उनीहरू बेलाबेला मेरो बिदाको सेलिब्रेट गरिरहेछन् ।
‘लाss ! म साँच्चै आएँ है ? ’, टुच्च थपिदिन्छु म पनि ।
बसाइँ वास्तवमा राम्रै थियो । गाडी रिजर्व थिएन । तर, रिजर्वजस्तै भयो । हामी गीत बजाउँदै, गफ गर्दै हिँड्दा अन्य यात्रुलाई ‘डिस्टर्व’ भएन । धन्यवाद ती यात्रुहरू, जसले हाम्रो यात्रालाई सहज बनाइदिनु भयो ।
मकै, सुन्तला खाँदै अघि बढ्यौं । मकैको एउटा घोगाको कति लिँदोरहेछ ?
आम्मामा ! ५० रूपैयाँ !?
दीक्षालाई अझै एउटा खान्की पुगेको थिएन । उसले अघि कृष्णभीरमा पनि खोजेको थियो । तर, पाएन ।
के चाहिँ ?
चिया ! क्या चिया !
अहो ! यात्रामा पनि चियाको तलतल !
म त यात्रामा चिया पिउन सक्दिनँ । पेट मचमच भएर के के भइजान्छ ।
केहीबेर अघि नै मुग्लिनको पुल तरिसक्यौं । कृष्ण भाइलाई हामी घर (जाजरकोट) जाने मुख्य बाटो देखाइदिएँ । गाडीमा लाग्ने समय बताइदिएँ । केटो जिल पर्यो ।
‘आम्मामा ! २३/२४ घण्टा लाग्छ ?’
‘एकपटक त ३२ घण्टा पनि लागेको छ, कान्छा ।’
बाटोमा फेरि सुन्तला थप्यौं । मुग्लिन-पोखरा सडकखण्डको चिल्लो कालोपत्रेमा कुदिरहेका छौं । कस्तो राम्रो बाटो । यस्तो लाग्छ- देश बनिरहेको छ ।
तर, सबै बाटो कालोपत्रे भइसकेको रहेनछ । ठाउँ ठाउँमा खाल्डाखुल्डी र कच्ची सडकसँग मितेरी गाँस्दै अघि बढ्यौं ।
बन्दीपुर कटेर केही अघि बढेपछि चार्जिङ स्टेशन भएको एउटा होटलअघि गाडी रोकियो । उसलाई पनि भोक लागेछ । नवीनजीले मुखमा पाइप राखिदिए । गाडीले चार्जको चुस्की लिन थाल्यो । दीक्षाले चियाको ।
‘अब त तृप्त भयौ होला नि ?’
उसलाई जिस्कायौं ।
‘सागर कमरेडलाई कल लाग्यो एकछिन है ।’
चीनमा पढिरहेकी । कम्युनिष्ट राजनीति गर्ने । हामीलाई कमरेड भनेर सम्बोधन गर्ने ‘कमरेड’को कुरा नमान्ने कुरै भएन । हाम्रो लागि लक्ष्मी नै सी चिनफिङ !
महाकुम्भमा गएका सागरसँग अघिल्लो दिनदेखि सम्पर्क हुन सकेको थिएन । हाम्रो यात्रामा जोडिने कोसिस गर्छु भनेको हुनाले आशा जीवितै थियो । बेला बेला फोन ट्राइ गरिरहेका थियौं ।
सागरले बुटवल पुगेको बताएपछि लक्ष्मी र बिनिताले बरु हामी पर्खिन्छौं छोटो बाटो भएर छिटो आउनू भने । लगत्तै दीक्षा बहिनीले सागरलाई कल गरिन् । अनि मलाई पनि कल गर्न भनिन् । हामी सबैले कल गरेर उहाँलाई दबाब दिने रणनीति जो बनेको थियो ।
‘भर्खर यहाँ पुगेर (सायद भैरहवा) मोबाइल चार्जमा लगाएको छु यार गुरु, कहाँ आउन भ्याइन्छ त !’, सागरजीको मसँगको संवाद ।
मैले सकेसम्म आउनुस् भनेर कर गरेँ । तर, त्यो करले काम गर्नेवाला छैन भन्ने लागिनैसकेको थियो । किनभने एक त उहाँ यात्रामै हुनुहुन्छ, अर्को हामी जाने भनेको ठाउँ पुग्न भैरहवाबाट कम्तीमा ८/९ घण्टा त लाग्छ लाग्छ । र, उहासँग सँगै महाकुम्भ गएका अरु तीन जना पनि साथमै हुनुहुन्छ ।
ल्याs !
हामी कहाँ जाँदैछौं भनेर चाहिँ भनिनँ कि क्या हो मैले !
सरी है । हाम्रो गन्तव्य हो- व्यास नगरपालिका-५, मानुङकोट, तनहुँ !
दमौली पुग्ने बेला प्रकाश सपुत आफ्नो नयाँ फिल्म बसन्तमा भाका हाल्न थाले- साँझ पर्यो झमक्क !

‘प्रिय मित्रहरू, भाइबहिनीहरू यसपटकलाई मलाई माफ गरिदिनुहोला । आउने चाहना हुँदाहुँदै पनि मेरो स्वास्थ्य समस्या र भौगोलिक कठिनाइको कारणले गर्दा तपाईंहरूमाझ उपस्थित हुन सकिनँ । यात्रालाई रमाइलो बनाउनुहोला, सबैलाई धेरै धेरै सम्झना छ । आउन नसकेकोमा फेरि पनि सरी भन्न चाहन्छु ।’
हामी मानुङकोट पुग्दै गर्दा बेलुका करिब साढे ६ बजेतिर ग्रुपमा सागरको भावुक मेसेज आयो ।
हाम्रो मन भयो चसक्क !
०००
आहा ! कस्तो अद्भूत ! कस्तो आनन्दित !
अघिल्लो साँझ हामीले हेरेको दमौली बजार लगायत सबै क्षेत्र कुहिरोले डम्म ढाकेको छ । बादलले छपक्कै छोपिएको छ । यस्तो लाग्छ- त्यो बादल/कुहिरोमुनि केही छैन । लाग्छ यो बादलै बादल कुदेर पर पुग्न सकिन्छ ।
कुदौं ? यो फगत एउटा दिग्भ्रम न हो ।
घाम उदाउन बाँकी नै छ । हामी घामभन्दा पहिल्यै, बादलभन्दा माथि पुग्यौं ।
आज हामीले घामलाई जित्यौँ !
अब विस्तारै उदाउनेछ घाम, हट्नेछ बादल र देखिने छ धर्ती ।
जिन्दगी पनि यस्तै त हो, कतिखेर उघ्रिन्छ थाहै हुँदैन । हाम्रा जिन्दगीका कति घामहरू उदाउनै बाँकी होलान् । कति घामहरू अस्ताउनै बाँकी होलान् ।
केही वर्षअघिसम्म गुमनाम थियो यो ठाउँ । तर, अहिले पर्यटकीय गन्तव्य बनेको छ । संरचनाहरू बनेका छन् । बनिरहेका छन् । टिकटकमा हालिएको एउटा भिडियोले भाइरल भयो मानुङकोट । तपाईंले याद गरेको भए, त्यो बेला यहाँ थामिनसक्नुको भीड लागेको थियो ।
अहिले यी बञ्चर डाँडाहरूमा भवन बनेका छन् । बाटोघाटो बनेको छ । बन्दैछन् । सोंच्छु- एकदिन सबैको दिन आउने रहेछ !
काठमाडौं उपत्यकाको नगरकोटजस्तो । कोतडाँडाजस्तो । डाँडागाउँजस्तो । दमौलीवासीका लागि एउटा मीठो गन्तव्य । दुई दिन समय मिलाउन सक्नेका लागि काठमाडौंबाट पनि खास टाढा होइन । पोखरा घुम्न जाँदा एकसाँझ यहाँ पुग्दा खेर जाँदैन ।
चिसो सिरोटोले हाम्रा गाला सेक्यो । तातो चियाको चुस्कीले न्यानो बनायौं । बादललाई पृष्ठभूमिमा सजाउँदै फोटो/भिडियो लियौं ।
अघिल्लो दिन यही डाँडाबाट सूर्यास्त हेरेका हामीले आज बिहानै सूर्योदय हेर्न पायौं । धन्यवाद प्रिय समय ! लाग्यो- यो समय टक्क यहीँ रोकियोस् !
‘तपाईंहरू भाग्यमानी रहेछ । हिजो अस्ति मौसम यस्तो थिएन । आज राम्रो भयो’, फर्किँदा चिया पसलको दिदीले भन्नुभो ।
‘पर्यटकीय ठाउँ भएर पनि बाटो त लास्टै धुलो है’, धुलोसँग साथीहरूको नफरत थियो ।
दमौलीबाट मानुङकोटतर्फ केही भाग कालोपत्रे भएपनि धेरै चाहिँ ट्रयाक मात्र खोलिएको छ । माथि डाँडामा बन्दै गरेका मन्दिरतर्फ उक्लिन चाहिँ ढुंगाको सिँढी बन्दैछन् ।
‘लम्जुङको ढुंगा हो हजुर ।’
सिँढीमा बिच्छ्याउँदै गरेका ढुंगाबारे सोधेपछि कामदारहरूले जवाफ दिए । सूर्योदय हेर्ने ठाउँपट्टी चाहिँ सिमेन्टेड सिँढी र फलामको रेलिङ बनाइएको छ ।
अब फर्किम ल !
एकछिन ! एकछिन !
तपाईंलाई यात्राको एउटा पार्ट सुनाउनै बाँकी छ ।
थोरै धैर्य गरिदिनुस् ल !
हामी गाडीबाट मानुङकोट हिल टप होटलको अगाडि झर्यौं । जहाँ हाम्रो बसाइँ हुनेवाला थियो । हामी कति जना छौं र के-के खान्छौं भन्नेबारे पहिले नै फोनबाट ‘बुक’ गरिसकेका थियौं । ट्रिपलाई सकेसम्म कम बजेटमै सफल र अद्भूत बनाउने योजनामा थियौं ।
हामी केही जना सरासर होटलको काउन्टरमा पुग्यौं । होटल सञ्चालक टुकप्रसाद दाहाल पैसा गनिरहनुभएको थियो । तर, हामीलाई गन्नुभएन । एकछिन उभिँदा पनि बालै दिनुभएन ।
‘गेस्ट आइसके । सर, पैसामात्र गन्ने कि स्वागत पनि गर्ने ?’
साथी बिनिताले फ्याट्ट भनेपछि दाहालजी झसङ्ग हुनुभो । उहाँले हामीलाई अरुकै (वल्लोपल्लो होटलका) पाहुना होलान् भन्ठान्नुभएको रहेछ । अरुकै पाहुना भएपनि आफ्नो काउन्टरमा छिरेपछि यसो सोधखोज गर्नुपर्ने, त्यसो गर्नुभएन । उहाँसँग हाम्रो गुनासो रह्यो ।
मनमा लागिरहेको थियो- कस्तो साहुजी होला यार भनेर । तर, भन्न सकिरहेको थिइनँ । बिनिताले फ्याट्ट भनिदिएपछि राहत महसुस गरेँ ।
‘अहो ! सरी है । छोराले ९ जनाको टोली आउँदैछ त भनेको थियो । बिनिता कार्कीको टोली तपाईंहरू नै हो ?’
‘अनि, हामी त हो नि !’
‘सरी है हजुर । म त कोही यत्तिकै घुम्दै आउनुभएको होला भन्ने सोचेको थिएँ ।’
‘हामी बस्ने कोठा, कता के कसो हो ल देखाइदिनुस् अब ।’
साहुजीले कोठा नम्बर १०७ र १०८ को चाबी थमाए । कोठा देखाए । हामी कोठामा ओर्लियौं ।
कोठाको व्यवस्थापन र सफाइ देखेपछि अघि खराब भएको मूड अन भइहाल्यो ।
सफा र चिटिक्क ! अहिले अलि अफ सिजन भएकाले पनि होला । त्यो दिन गेस्ट हामी मात्र रहेछौं ।
‘तपाईंहरू कति केटा, कति केटी हुनुहुन्छ ?’
‘चार केटा । पाँच केटी ।’
‘दुई/दुई वटा बेड छ । पुग्छ पुग्दैन । केटीहरू बस्ने रूममा एउटा सानो बेड थपौं ?’
‘हैन पर्दैन । हामी एडजस्ट गर्छौं ।’
‘लोकल कुखुरा खाने भन्नुभएको थियो । कति काटौं म्याडम ?’
‘एउटा कति किलोको हुन्छ ?’
‘त्यस्तै डेढ किलोजस्तो होला ।’
‘ल उसो भए दुईवटा काट्नुस् ।’
बार्बिक्युका लागि ब्रोइलरको मासु भनिएकाले दुईवटा मात्र लोकल कुखुरा खाने कुरा भयो ।
‘अहो ! कस्तो मीठो !’
पार्वती घर्ती दिदी र अर्को बहिनीले साह्रै मीठो पकाउनुभएछ ।
वाउ !
खाना खानुअघि हामीले चिउरा र फ्राइ चिकेन खायौं ।
सुपवाला मासु चाहिँ पछि खानासँग खाने कुरा थियो ।
‘कस्तो लाग्यो हजुरहरूलाई ?’
पार्वती दिदीले सोधिनभ्याउँदै हामीले मीठो मानेर खाइरहेका थियौं ।
पार्वती दिदी साह्रै मिजासिलो । उहाँको मुस्कान र पाहुनालाई गर्ने व्यवहारले हामी निकै पुलकित भयौं । उहाँप्रति अनुग्रहित भइरह्यौं ।
‘मनीषा खोई, तल आएन ?’,मासु चिउरा खानेबेला बिनिताले सोध्यो ।
मनीषा हामी आगो तापिरहेको ठाउँ आइपुगेको थिएन । तत्काल आउने कुरा पनि थिएन । हामीले अर्कै योजना बनाइसकेका थियौं ।
कस्तो योजना ?
पख्नु न, एकछिनमा थाहा भइहाल्छ नि !
‘यहाँ उहाँको एक जना कमरेड हुनुहुँदो रहेछ । पल्लो होटलमा कफी खाँदै हुनुहुन्छ ।’
‘एकछिन भेटघाट गर्ने कुरा ठीकै हो । सँगै आएपछि यसरी हराउनु त भएन नि यार ! हामीलाई चाहिँ समय दिनुपर्दैन ? खाना खाने बेला हुन लागिसक्यो’,धुँवाभन्दा कडा सुनियो उसको आवाज ।
‘कृष्ण, तिमी बाटोमा पिसाब फेर्छौं कि क्या हो ?’
माहोललाई डाइभर्ट गरेँ ।
‘किन र दाजु ?’
कृष्णले सोधिनभ्याउँदै लक्ष्मीको जवाफ आयो- जसले बाटोमा पिसाब फेर्छ, धुँवा उसैतिर जान्छ रे !
सबैजना गलल्ल हाँस्यौं ।
‘कहाँ हराको यार बहिनी तिमी ?’
आउनेबित्तिकै मनीषाले बिनिताबाट एक डोज भेटिहालिन् ।
‘हैन के दिदी, साथी आउनुभएको थियो । अनि गफ गर्दागर्दै ढिला भयो ।’
‘ठीक छ । तिमी पोलिटिक्स गर्ने मान्छे । नेटवर्क सबैतिर छ । तर, यसरी त हराउने होइन नि यार ।’
‘मानुङकोट आइयाछ तनहुँ, आइयाछ तनहुँ-
सँगै नआउने सागरलाई के भनौं
माया पानको पात…’
माहोललाई रमाइलो बनाउन गीत गाउन थालेँ ।
साथीहरू गीत मिसाउन थाले । आगो ताप्दै भाका हाल्यौँ ।
‘बाफ्रे ! कस्तो मीठो बनाउनु भएको दिदी खाना त ।’
खाना खाने बेला पार्वती दिदीको प्रशंसा गर्यौं। खाना प्रशंसा गर्न लायकै थियो ।
‘मलाईभन्दा पनि बहिनीलाई धन्यवाद दिनुस् । मेरोभन्दा उसको हात धेरै छ’, भान्छाभित्र रहेकी बहिनीलाई देखाउँदै दिदीले भन्नुभो ।
खाना खाइवरी अघिकै ठाउँ आयौं । जहाँ आगो बलिरहेको छ । र, अब बार्बिक्यु कार्यक्रम अघि बढ्नेवाला छ ।
‘कस्सम होला ! जिन्दगीमा पहिलोपटक मासु खान मन लागेन ।’
झण्डै दश पटक कोसिस गर्दा पनि मासुमा मन नगएपछि दुखेसो पोखेँ ।
‘लोकल कुखुराको झोलसँग भात हसुर्दा अहिलेको मासुका लागि ठाउँ नै राखिएनछ ।’
लगभग सबै जनाको हालत उस्तै थियो । विस्तारै विस्तारै खाना थाल्यौं ।
सबैभन्दा कम बोल्ने दिवस भाइले तीनवटा गीत गाएर सुनाए, त्यो पनि गितार बजाउँदै ।
काठमाडौंबाटै गितार बोकेर पुगेका थिए दिवस । सायद, उनले जम्मै कुरा गीतबाटै भने । हामीले सुनिरह्यौं । उनी कम बोलेकोमा अब गुनासो रहेन ।
‘ह्याप्पी बर्थडे टु यु…! ह्याप्पी बर्थडे टु यु डियर बिनिता…! ह्याप्पी बर्थडे टु यु डियर बिनिता दिदी…! ह्याप्पी बर्थडे…’
घडीमा ठ्याक्क १२ बजेपछि सम्बोधन अनुसार गुञ्जियौं हामी । १२ बजेपछि माघ २० शुरू भयो । र, माघ २०, उनै साथी बिनिताको जन्मदिन !
खनाल र भट्टराई भिडियो कलमा जोडिए ।
र, भर्चुअल सेलिब्रेसन गरे ।
बर्थडे स्पेशल गीत गायौं । माहोललाई उत्सवमय बनायौं ।
‘थ्यांक यू गाइज । ल अब सुत्न जाऔं ।’
‘भर्खर जन्मेको मान्छेलाई सुत्न हतार !’
‘ल जाम न त जाम । बिहान उठेर सनराइज हेर्न नि जानुछ । अब सुतौं !’
ढ्याक्क ढोका खुल्यो ।
‘ओईतँ त्यहाँ गरिरा ?’
पहिल्यै केटीहरूको कोठामा छिरेको आर्यन भाइलाई बिनिताले देखिहाल्यो । मनीषाले झ्याप्प बत्तीको स्वीच अन गर्यो ।
‘अरे ! के हो यो सब ?’
‘यही त हो अघि मनीषा हराउनुको कारण !’
‘कसको प्लान हो यो सब ?’
‘हामी सबैको !’
कोठाको एउटा बेडभरी ह्याप्पी बर्थडेवाला बेलुन फिँजारिएका थिए । जुन काठमाडौंबाटै बोकेर गएका थियौं । दीक्षा बहिनी अघि नै आएर फुलाएर गइसकेको थियो । बेडको बीच्चमा केक टुसुक्क बसेको थियो । र, लेखेका थियौं- ह्याप्पी बर्थडे बोल्ड लेडी !
बिनितालाई मीठो सरप्राइज दिन पाएकोमा हामी मख्ख पर्यौं । सोच्दै नसोचेको सरप्राइजले बिनिता पनि मख्ख !

काठमाडौंबाट हिँड्नु अघिल्लो दिन नै मानुङकोटमा केक पाउने/नपाउनेबारे सोधिसकेका थियौं । नपाइँदो रहेछ । दमौली नै झर्नुपर्ने रहेछ । हामीलाई कुनै हालतमा के लैजानुथियो । र, जसरी पनि हामी बिनितालाई सरप्राइज दिन चाहन्थ्यौं । त्यही अनुसार तनहुँमा रहेका मेरो एक जना विशिष्ट व्यक्तिलाई ‘म तनहुँ आउँदैछु साथीहरूसँग, हजुरको केही सहयोग चाहिन सक्छ’ , भनेर काठमाडौंबाट हिँड्दा भनेको थिएँ ।
‘हजुरको जिल्लामा भित्रिने अनुमति पाउँ’, फोनमा संवादलाई रमाइलो बनाउने कोसिस गरेँ ।
तर, तनहुँका पत्रकार साथी किरण श्रेष्ठ मनीषाको पुरानो चिनजानको साथी हुनुहुँदो रहेछ । उहाँ नै भएपछि अरु विकल्प प्रयोग गर्नै परेन । केक समातेर उहाँसगै आउने मान्छे तत्काल नभएकाले हामीले उहाँलाई नै मानुङकोट बोलायौं । अनि बिनितालाई बार्बिक्यूस्थलतिरै अल्मल्याएर मनीषालाई किरणजीसँग दमौली कुदायौं । किरणजीले नै मनीषालाई केकसहित फेरि मानुङकोट छोडिदिनुभयो ।
फेरि पनि धन्यवाद किरणजी ! हाम्रो योजनामा मीठो साथ दिनुभएकोमा । हामी तपाईंलाई सम्झिरहनेछौं ।
हाम्रा जन्मदिनहरूमा बिनिताले केही न केही विशेष गरिरहेको हुन्छ । उसको जन्मदिनलाई यसरी विशेष बनाउन पाएकोमा हामीले सन्तोषको सास फेर्यौं ।
‘यो मीठो सरप्राइजका लागि धन्यवाद गाइज । मनीषा बहिनी, अघिको गाली र रिस फिर्ता लिन्छु ल । यस्तो योजना रहेछ अनि !’,बिनिताको अनुहार एकप्रकारको खुशीले धपक्क बल्यो । उसको खुशीमा हाम्रो हृदय उज्यालो भयो ।
‘र, मीठो कविताका लागि धन्यवाद क्षितिज !’, उसले थपी ।
अघि बार्बिक्यूस्थलमा उसका लागि एउटा बर्थडे कविता सुनाएको थिएँ । जुन उसका लागि सरप्राइज नै थियो :
ए साथी !
उक्लिरहनू- खुशीका पहाडहरू
हिँडिरहनू- रहरका बाटाहरू
कहीँ बिझेछ भने पैतालाहरूमा- अवरोधको काँडा,
सम्झिनू-
हिँड्नु अझ धेरै बाँकी छ !
ए साथी !
आउनू- यसरी नै भरोसा बनेर
जिन्दगीका हरेक पलहरूमा
र,
बर्साइजानू यसरी नै
कहिल्यै नओइलाउने
मित्रताका सुगन्धित फूलहरू !
थपिदिनेछु म पनि,
साथको थोपा थोपा पानी
जसले ओइलाउन दिने छैन
तिमीले रोपेर गएको
हाम्रो मित्रताको अजम्बरी फूल !
यसरी नै थापिदिनेछु-
भरोसाको काँध
जो, कहिल्यै थाक्ने छैन
कहिल्यै गल्ने छैन
मिलाइदिनेछु- पैतालाहरूको झंकार
जसले, मित्रताको गोरेटोमा
तिमीलाई एक्लै हिँडेको आभाष दिनेछैन !
ए साथी !
हिँड्नुछ होला अझै
कयौं उकाली-ओरालीहरू
छिचोल्नुछ होला कयौं- सपनाका देउरालीहरू
उक्लिनुछ होला अझै- खुशीका पहाडहरू
नथाक्नू- यो यात्रामा
नहराउनू- सुदूर अनकन्टारमा !
बिहानको हरेक घाम-
तिमीलाई छोएर ब्यूँझियोस्
दिनको हरेक साँझ-
तिमीलाई जनाएर मात्र अस्ताओस्
तिमी निदाएपछि मात्रै निदाओस्- रात पनि !
यो घामभन्दा अजम्बरी आयुका लागि
यो हावाभन्दा अमूल्य जिन्दगीका लागि
यो साँझभन्दा प्रिय समयका लागि
ए साथी !
तिमीलाई जन्मदिनको बहुत शुभकामना !!