०५ साउन २०८३, मंगलबार

गुणस्तरीय समावेशी शिक्षाको आफ्नै मोडल बनाउँदै बागलुङका स्थानीय सरकार

माघ २७, २०८१
काठमाडौं
गुणस्तरीय समावेशी शिक्षाको आफ्नै मोडल बनाउँदै बागलुङका स्थानीय सरकार

बागलुङका दुई स्थानीय तहले गुणस्तरीय समावेशी शिक्षाको आफ्नै मोडल बनाइरहेका छन् । ​

​जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा अहिले गुणस्तरीय शिक्षाको बारेमा स्थानीय परिवेश र आवश्यकता अनुसार स-साना अभ्यासबाट समावेशी गुणस्तरीय शिक्षाको पहल थालिएको हो। 

हेम्पल फाउन्डेसनको आर्थिक तथा भीएसओको प्राविधिक सहयोगमा बीवाईसी बागलुङ साझेदारी गरी २०७८ सालदेखि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाले क्रमश: २७ र ३३ वटा सामुदायिक विद्यालयमा सिकाइ अभियान शुरू गरे ।

समावेशी गुणस्तरीय शिक्षालाई केन्द्रविन्दुमा राखेर शुरू गरिएको यो अभियानले पढाइ वातावरणमा सुधार गर्ने, शिक्षकहरूलाई तालिम दिने, विद्यालयमा शिक्षण प्रविधि र विधिमा सुधार गर्ने जस्ता क्रियाकलाप सञ्चालन गरिँदै आएको छ । 

यी क्रियाकलापसँगै समावेशी र गुणस्तरीय शिक्षाको बुझाइलाई सैद्धान्तिक र कानूनी घेराभित्र हालेर भन्दा पनि सरल र स्थानीय परिवेशको आधारमा छलफल गरियो । तीन वर्षसम्मको यो अभियान ६० विद्यालयबाट  अहिले दुई पालिकाका सबै १ सय २१ वटा विद्यालयमा  विस्तार भएको छ । यी विद्यालयका शिक्षकहरू आफ्ना हरेक साना प्रयासबाट नै गुणस्तरीय शिक्षा प्राप्त हुने विश्वास गर्छन् । 

null

जैमिनी नगरपालिकामा अवस्थित दलित उत्थान आधारभूत विद्यालयकी शिक्षिका राधा विक भन्छिन, ‘पहिले मेरो छेउमा विद्यार्थी आउन डर मान्थे । अहिले मेरो वरिपरि झुम्मिएर रमाउँदै पढ्छन् । मैले सिकाइ परियोजनाले आयोजना गरेको तालिमबाट विद्यार्थीमैत्री शिक्षक र शिक्षाको बारेमा बुझेँ । त्यही बुझाइलाई कक्षाकोठामा लागू गरेपछि यो परिवर्तन सम्भव भयो ।’

बागलुङ जिल्लाकै काठेखोला गाउँपालिकामा रहेको ग्राम विकास आधारभूत विद्यालयका शिक्षक बलराम सुवेदीले कक्षा १ देखि ५ सम्मका सिकाइमा थप सहयोगको आवश्यकता भएका विद्यार्थीका लागि अतिरिक्त उपचारात्मक कक्षा सञ्चालन गरिएको बताए ।

‘यसबाट बालबालिकाको सिकाइ उपलब्धि २० प्रतिशतले वृद्धि भएको छ । पहिला दुईमा दुई जोड्दा चार हुन्छ भन्न नसक्ने विद्यार्थी अहिले गणितमा सक्षम भएका छन्’, उनले भने, ‘मलाई लाग्छ उनीहरूका लागि यसरी उनीहरूको कठिनाइलाई पन्छाउँदै, सिकाइमा सहजीकरण गरी गुणस्तरीय शिक्षा प्रबर्द्धन गर्न सकिन्छ ।’ 

कक्षाकोठासँगै विद्यालय प्रांगणको वातावरण पनि गुणस्तरीय शिक्षाका लागि महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ । विद्यालयमा निर्माण भएका बालमैत्री पूर्वाधार र विपन्न तथा सीमान्त बालबालिकालाई  शैक्षिक सामग्री वितरण जस्ता कार्यले उनीहरूलाई विद्यालयमा टिक्न सहज भएको उनीहरूले बताएका छन् ।

‘जुन कुरा समावेशी र गुणस्तरीय शिक्षाको आधार पनि रहेछ भन्ने अनुभूत हामीलाई भएको छ’, शिक्षक सुवेदीले भने । 

बालबालिकाको नियमितता, अध्ययन सीप र रुची बढाउन सकिएमा शिक्षकलाई पनि सजिलो हुने र बालबालिकाले सहज ढंगले सिक्छन् भन्ने कुरा शिक्षकहरू बताउँछन् ।  

salt training

कमेन्ट गर्नुहोस्