३१ असार २०८३, बुधबार
एआईजी केसी राजीनामा प्रकरण

शक्तिकेन्द्रको सौदावाजीमा प्रहरीका उच्च पद, थिलथिलो बन्दै संगठन

माघ २८, २०८१
काठमाडौं
शक्तिकेन्द्रको सौदावाजीमा प्रहरीका उच्च पद, थिलथिलो बन्दै संगठन

२०७४ चैत २७ मा सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गर्‍यो । मन्त्रिपरिषद्को उक्त निर्णयमा असन्तुष्टि जनाउँदै तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले चैत २८ मै राजीनामा बुझाए ।

खरेललाई उनीनिकट प्रहरी अधिकृत र केही पूर्वमहानिरीक्षकहरूले सकभर राजीनामा नदिन र दिनैपरे प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि मात्रै दिन सुझाएका थिए । खरो स्वाभावका खरेलले कसैको कुरा सुन्न चाहेनन् । राजीनामा बुझाए । 

पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले तत्कालीन गृहमन्त्रीहरू, वामदेव गौतम र विमलेन्द्र निधिसँग पौंठेजोरी खेल्दै खरेललाई कारबाहीबाट जोगाएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख भएका बेला खरेलले मन्त्री उपस्थित एक कार्यक्रमलाई सम्बोधनका क्रममा ‘प्रहरीको उपल्लो तहको बढुवा आर्थिक चलखेल हुने गरेको र मन्त्रीका घरघरमा ब्रिफकेश लिएर प्रहरीका हाकिमहरू जाने गरेको’ भन्दै त्यस्तालाई बढुवा नदिन आग्रह गरेका थिए । ​

खरेलको उक्त अभिव्यक्तिलाई लिएर बहालवाला डीआईजी र एआईजीहरूले असन्तुष्टी मात्रै राखेनन्, खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउन तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई लबिइङ गरे । तत्कालीन एआईजी विज्ञानराज शर्माको नेतृत्वमा छानबिन समिति बन्यो ।

समितिले खरेलको अभिव्यक्ति आवेग र उत्तेजनामा आएको भन्दै उनलाई स्पष्टिकरण सोध्न सिफारिस गर्‍यो । समितिले हल्का सिफारिस गरेको भन्दै तत्कालीन गृहमन्त्री वामदेव गौतम आईजीपी अर्यालसँग रुष्ट बनेका थिए । अर्यालले गृहमन्त्रीको जिज्ञासालाई खासै ध्यान दिएनन् । प्रहरी नेतृत्व अडिक रहँदा खरेल नसियतलगायत कारबाहीबाट जोगिए ।

वामदेवकै अघिल्लो कार्यकाल (२०५३ चैत)मा तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई ३५ दिनमै हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाएको थियो । खरेल सर्वोच्च अदालतमा पुगे । मुद्दा जितेर उनी पुनः आईजीपीमा पुनर्बहाली भए । प्रधानलाई बर्खास्त गरिएन बरु तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा सल्लाहकार बनाइयो । 

यस्ता अनेक दाउपेचले प्रहरी संगठन राजनीतिक कोपभाजनमा पर्ने मात्र होइन, व्यावसायिक रूपमा झन् झन् कमजोर बन्दै गएको छ । आमनागरिकमा प्रहरीप्रतिको विश्वास थिलथिलो बन्दै गएको छ । पद र जिम्मेवारीमा राजनीतिक शक्ति केन्द्रले सौदावाजी गरिरहेका छन् । जसमा बल पुर्‍याउन प्रहरी अधिकृतहरू स्वयं पनि जिम्मेवार देखिन्छन् । 

यस्तै प्रकारको लामो सूचीमा जोडिन पुगेका छन्, एआईजी रविन्द्र केसी । गत पुस २६ मा एआईजी बढुवा गरिएका केसीलाई अवकाश हुनु ३९ दिनअघि नै राजीनामा बुझाउन बाध्य पारिएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले भने एआईजी केसीले घरयासी कारणले राजीनामा बुझाएको बताए । उनले भने, ‘उहाँले घरासयी कारणले राजीनामा बुझाउनु भएको हो, अरु कारण थाहा भएन ।’

प्रहरी उच्च स्रोतका अनुसार १० दिनअघि केसी आईजीपी बसन्त बहादुर कुँवरलाई भेट्न उनको सचिवालय पुगेका थिए । त्यहाँ उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भयो । अवकाश हुन ३९ दिन बाँकी छँदै राजीनामा दिँदा बाहिर राम्रो सन्देश नजाने भन्दै केसीले आईजीपी कुँवरलाई ‘कन्भिन्स’ गर्न खोजेका थिए । तर, कुँवरले राजीनामा देऊ वा नदेऊ केही भनेनन् । बरु बढुवा गर्दाको बखत राजनीतिक शक्तिसँग गरेको सम्झौता के थियो वा थिएन, त्यसमा केन्द्रित हुन आग्रह गरेर पठाए । 

नेतृत्वले आफूलाई बचाउने आश नदेखेपछि केसीले तीन दिनअघि (शुक्रबार) राजीनामा बुझाइसकेका छन् । डीआईजी जनक भट्टराईलाई एआईजी बनाउनकै लागि केसीलाई राजीनामा गर्न लगाइएको प्रहरी मुख्यालय स्रोत बताउँछ । भट्टराई पनि केसीकै ब्याची हुन् ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने,‘आईजीसाबले राजीनामा नदेऊ, म गृहमन्त्रीलाई कन्भिन्स गर्छु भनेर ढाडस दिएको भए केसीले राजीनामा दिने थिएनन्, उनले नेतृत्वबाटै त्यो कमिट्मेन्ट नपाएपछि बाध्य भएर राजीनामा गरेको हुनुपर्छ ।’ 

केसीले डीआईजी र एआईजी हुँदा कुनै कारबाही भोगेका थिएनन् । उनलाई मन्त्रिपरिषद्ले निर्णय गरेरै एआईजी बनाएको थियो । उनले अड्डी गरेर पदमै बस्दा पनि मौजुदा प्रहरी नियमावली अनुसार ३९ दिनपछि एआईजीको ५६ वर्षे उमेरहद अनुसार अनिवार्य अवकाश पाउँथे । तर, पदलाई नाजायज ‘सौदावाजी’ गर्ने शक्तिकेन्द्रको उपयोग रणनीतिलाई केसीले सदर गरिदिए । त्यसमा आईजीपी कुँवर र गृहमन्त्री रमेश लेखकको मौन समर्थन छिपेको छैन  । 

खासगरी प्रहरी निरीक्षकमा भर्ना भएपछि प्रत्येक अधिकृतले सकभर आईजीपी हुने र नसके डीआईजी वा एआईजीसम्म भएरै छाड्ने लक्ष्य राख्नु स्वाभाविक मानिन्छ । तर, यहाँसम्म आइपुग्न राजनीतिक शक्तिकेन्द्रलाई रिझाउने प्रवृत्तिलाई प्रहरीले कहिलेसम्म अंगाल्ने ? 

पूर्वएआईजी सुरेन्द्र बहादुर शाह भन्छन्,‘पहिलो कुरा व्यक्ति संगठनका लागि हो कि संगठनका लागि व्यक्ति हो भन्ने कुरा बुझ्नुपर्छ । दर्जा संगठनलाई आवश्यकता हो कि होइन त्यसको अध्ययन हनुपर्छ । कसैको उद्देश्य पूर्ति गर्न संगठनलाई भारी बोकाउनु हुँदैन ।’ 

सुरक्षा र न्याय अध्ययन केन्द्रका अध्यक्ष समेत रहेका शाहले प्रहरी संगठनमा खाली दरबन्दी पूर्ति गर्दै जानु राम्रो भएपनि जबर्जस्ती र अरुलाई पद छोड्न लगाएर पूर्ति गर्दा त्यसले राम्रो सन्देश नजाने बताए । ‘प्रहरी चेन अफ कमाण्डमा चल्ने संगठन हो, पाइलैपिच्छे राजनीतिक हस्तक्षेप हुनु राम्रो होइन’, शाहले भने,‘पहिला किन बढुवा गरियो, अहिले किन राजीनामा देऊ, अर्कोलाई बढुवा गर्नुछ भनेर दबाब दिइयो ? व्यक्तिको इच्छामा संगठन चल्न थाल्यो भने त्यसले समग्र शान्ति सुरक्षामा समेत प्रभाव पार्छ र अरु प्रहरीको मनोबल गिर्छ ।’ 

एआईजी विशिष्ठ श्रेणीको पद हो । सम्भावित संवैधानिक नियुक्तिका लागि ढोका खुल्छ । योसँगै एआईजीबाट अवकाश पाएपछि आजीवन एक जना सवारी चालक र एक जना सहयोगी राख्न पाइन्छ । यो सुविधा पाउन र भविष्यमा आफू अनुकूल सरकार आउँदा संवैधानिक नियुक्ति पाउने आशामा केही प्रहरी अधिकारीहरू मरिहत्ते गरेर लाग्ने गरेको विभिन्न घटनाक्रमले देखाएको छ । 

अख्तियारका आयुक्तमध्येका एक जयबहादुर चन्द पनि पूर्वएआईजी हुन् । उनलाई सरकारले आईजीपीमा नियुक्त गरेपनि सर्वोच्चको आदेशका कारण उनी एआईजीबाटै अवकाश हुनुपर्‍यो । बनाएको आईजीपीमा पदबहाली गर्न नसकेपछि नेपाली कांग्रेस निकट चन्दलाई सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा (हाल परराष्ट्रमन्त्री)को सिफारिसमा अख्तियारको आयुक्त बनाइएको चर्चा छ । यसलाई पनि सौदावाजीकै रूपमा बुझिएको थियो । ​

पूर्वगृहसचिव गोविन्द कुसुमले प्रहरी संगठनलाई त्यहाँभित्रको ‘चेन अफ कमाण्ड’ र अनुशासनले बलियो बनाउने बताए । उनले लोकान्तरसँग भने,‘एआईजी केसीको हकमा के भएको हो त्यो मैले बुझ्न पाएको छैन । तर, संगठनलाई व्यक्तिको इच्छा अनुसार सौदावाजी गर्नु राम्रो होइन, कर्मचारीको मनोबल गिर्नेगरी काम गर्दा त्यसले पार्ने दीर्घकालीन असर र प्रभावसँगै बाहिर जाने सन्देशका बारेमा नेतृत्वकर्ता र निर्णयकर्ताले सोच्नुपर्छ ।’ 

कुसुमले क्षणिक फाइदाका लागि निर्णय गर्दा संगठन बलियो हुन्छ वा झन् कमजोर हुन्छ भन्नेबारे नेतृत्वकर्ताले बुझ्नुपर्ने बताए ।

अवकाशको मुखमा एआईजीमा बढुवा गर्न लागिएको घटना भट्टराईमा मात्रै सीमित छैन । विगत ६ महिना यता पटक–पटक यस्ताखाले बढुवा गरिएका छन् ।

गत पुस ५ मा डीआईजी भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरिएको थियो । उनी बढुवा भएको नौ दिनमै अर्थात, पुस १४ मा अवकाशमा गए । गत मंसिर ७ मा एआईजी बनाइएका केदार ढकाल मंसिर २१ र कात्तिक १३ मा एआईजी बनाइएकी किरण राणा दुई दिनमै अर्थात् कात्तिक १५ मा अवकाशमा गएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्