
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका- ११ अस्थायी ठेगाना भएका दीपेश यादवविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वीरेन्द्रप्रसाद साह कानू प्रतिवादी भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा यादवलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।
तर विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले उनीविरुद्ध ७८ हजार बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।