३२ असार २०८३, बिहीबार

निजी जग्गामा गरिएको लगानी लुकाउन कर्मचारीमाथि कारबाहीको डण्डा !

अख्तियारमा उजुरी गरेको भन्दै बेलबारीका मेयरले खोसे प्रशासन प्रमुखको जिम्मेवारी
माघ ३०, २०८१
विराटनगर
निजी जग्गामा गरिएको लगानी लुकाउन कर्मचारीमाथि कारबाहीको डण्डा !

मोरङको बेलबारी नगरपालिकाका अधिकृत महेन्द्र खड्काले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको भन्दै उनको जिम्मेवारी खोसिएको छ । 

नगर प्रमुख दिलप्रसाद राई (डीपी)ले प्रशासन प्रमुख खड्कालाई कारबाही गरेका हुन् । उजुरीबारे छानबिन नै नगरी कारबाही गरेपछि उपप्रमुख नितु थापा कोइराला भने अधिकृत खड्काको पक्षमा देखिएकी छन् । 

तीन वटा योजनामा उनी आफैंले अख्तियारमा उजुरी गरेको र एउटा निर्माणाधीन अवस्थामा रहेको आयोजनाका लागि ड्राफ्ट गरेको भेटिएपछि कार्यपालिका बैठकले जिम्मेवारी खोसेको नगर प्रवक्ता विक्रम राईले बताए । 

नगरपालिकाका सूचना अधिकारी समेत रहेका खड्काले बेलबारीको प्रस्तावित रंगशालको डीपीआर, कोल्ड स्टोर निर्माणमा अनियमितता भएको र एउटा आयोजनाको भने भुक्तानीको विषयमा अख्तियारमा उजुरी हालेको पुष्टि भएपछि कारबाही गरिएको नगर प्रवक्ता राईले बताए । 

‘जनताको करबाट सेवा सुविधा लिने अनि  बेलबारी नगरपालिकालाई विपक्षी बनाएर उजुरी हाल्न सुहाउँछ ?’ राईले भने 

बेलबारी-७ मा निर्माणाधीन शव दाह गृहमा अनियमितता भएको भनेर खड्काले अख्तियारलाई ड्राफ्ट गरेको पत्र उनको ल्यापटपमा भेटिएको बताइन्छ । १ करोड ११ लाख रूपैयाँमा भास्कर कन्स्ट्रक्सनले  शव दाह गृह निर्माण गरिरहेको छ । प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा उक्त शव दाह गृह निर्माण भइरहेको हो ।

यो आयोजनामा हालसम्म ७२ लाख ७३ हजार खर्च भएको लेखा प्रमुख धना राईले बताइन् । 

अधिकृत खड्कालाई जिम्मेवारीबाट हटाउनुको कारण यही शव दाह गृह रहेको नगरपालिकाका कर्मचारीहरू बताउँछन् । किनकी लोहान्द्रा किनारमा बनिरहेको शव दाह गृह भने निजी जग्गामा छ । यही विषयमा अधिकृत खड्काको असहमति थियो । उनले यही विषयमा अख्तियारलाई पत्राचार गर्न खोजेको आरोप लगाएको छ । 

हालसम्म उक्त जग्गा व्यक्तिको नाममै रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा कार्कीले बताए ।  ठेक्का लगाए पनि स्थानीयलाई खुसी बनाउनका लागि नगरपालिकाले उपभोक्ता समिति समेत बनाएको थियो । ‘म निर्माण समितिको अध्यक्ष भए पनि अहिलेसम्म मलाई केही थाहा छैन’, कार्कीले भने, ‘नगरपालिकाले ठेक्का लगाएको हो ।’ लक्ष्मी कार्कीको नाममा रहेको जग्गामा शव दाह गृह बनिरहेको छ । कार्की भने अमेरिकामा बस्छिन् । 

नगरलाई हानि हुने गरी अधिकृत खड्काले काम गरेकाले उनलाई सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले बताए । अख्तियारमा उजुरी दिएको पत्र भने आफूसँग नरहेको प्रमुख प्रशासकीय अधिकृत ढकाल बताउँछन् । 

यता, नगर प्रवक्ता राईले नगर प्रमुखले पत्र देखेको भनेपछि कार्यपालिकाले जिम्मेवारी खोस्ने निर्णय गरेको जानकारी दिए । अर्का एक जना वडा अध्यक्षले पनि पत्र आफूले नदेखेको बताए ।

सोमबार बसेको कार्यपालिकाको १२७औं बैठकले खड्कालाई कार्यपालिकाको गोपनीयता भङ्ग गरेको तथा कार्यालयको हित विपरीत काम कारबाही गरेको आरोपमा प्रशासन शाखा प्रमुख पदबाट हटाएको हो । उनलाई अन्यत्र सरुवा लैजान समेत मेयरसहितका जनप्रतिनिधिले दबाब दिएका छन् ।

बैठकले उनलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिपठाउने निर्णय समेत गरेको छ । 

खड्कालाई मंगलबार प्रमुख प्रशासकीय अधिकृत किरण ढकालले जिम्मेवारीबाट मुक्त गरेको पत्र थमाएका छन् । 

‘प्रस्तुत विषयमा तपाईंलाई यस नगरपालिकाको कर्मचारी प्रशासन शाखाको शाखा प्रमुखको रूपमा जिम्मेवारी तोकी पालिकाले विभिन्न कामकाज लगाउँदै आएकोमा नगर कार्यपालिकाको मिति २०८१।१०।२८ गते बसेको १२७औं बैठकको निर्णयअनुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि तोकिएका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । 

तथापि, खड्काले आफूलाई लगाएको आरोप पुष्टि नहुने बताएका छन् । बैठकमा बेलबारी नगरपालिका उपप्रमुख थापा, कार्यपालिका सदस्य सञ्चमाया लिम्बू, बेलबारी-८ का वडाध्यक्ष धनपति गौतम भने अनुपस्थित थिए ।

अधिकृत महेन्द्र खड्कालाई जिम्मेवारीमुक्त गरिएको पत्र ।

उपप्रमुख थापाले बुधबार कार्यकक्षमै पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको साटो झन् झन् दूरी बढाउने काम गर्न नहुने बताइन् ।

यसले  कुनै पनि सफलता हासिल गर्न सकिन्न भन्ने कुरा महसुस गरी कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई नजरअन्दाज नगर्न प्रमुख राईलाई  आग्रह गरिन् । 

खड्कालाई आफ्नो जिम्मेवारीबाट हटाउँदा स्पष्टीकरण दिने समय समेत नदिई उनलाई हटाइइको भन्दै उनले विरोध गरेकी छन् । नगर प्रमुख राईले कसैलाई काखा र कसैलाई पाखा गरेको उनको आरोप छन् । निजी जग्गामा शव दाह गृह बनाएकाले अहिले समस्या देखिएको उनले बताइन् । 

‘यो जग्गाको विषयमा मेयरसाबले नै जग्गा धनीसँग गर्नु भएको हो’, उनले भनिन्, ‘कार्यपालिकामा छलफल भएको हो । मैले मेयरसाब र हाकिमसाबसँग पनि कुरा गरेको हो । मैले अनुगमन गरेर प्रतिवेदन नदिँदा मलाई दोषी देखाइयो ।’ 

उनले नगर प्रमुखले सबै कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने बताइन् । 

नगर प्रमुख राई एमालेका हुन् भने खड्का पनि एमाले निकटकै कर्मचारी हुन् । खड्का स्थानीय तह कर्मचारी संघ कोशी प्रदेशका अध्यक्ष समेत हुन् । 

‘नगरपालिकामा देखिएको समस्या कर्मचारीबीचको लफडा हो’, एक कर्मचारीले भने, ‘पूर्वमेयर हालका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीनिकट देखिएका कर्मचारी र अहिलेका मेयरनिकट देखिने कर्मचारीको लफडा हो।’ 

पूर्वमेयर सुवेदी र वर्तमान मेयर राईबीच पहिलादेखि नै सम्बन्ध राम्रो नभएको बेलबारीवासी बताउँछन् । दुवै जना एमालेकै भए पनि सुवेदी १० बुँदे पक्षधरका हुन् भने राई संस्थापन पक्षका हुन् । बेलबारीमा १० बुँदे पक्ष नै बलियो रहेको नेताहरूले बताएका छन् । उपप्रमुख थापा भने कांग्रेसकी हुन् । 

मेयर राई नगरपालिकाकै कार्यकक्षमा भेटिए पनि यो विषयमा भने बोल्न चाहेनन् । उनले घाटमा जान ढिलो भएको भन्दै यस प्रकरणबारे प्रतिक्रिया नदिई हिँडे ।  

यसैबीच, खड्कामाथि गरिएको कारबाही नसच्याए स्थानीय तह कर्मचारी संघले आन्दोलन गर्ने चेतावनी  दिएको छ । स्थानीय तह कर्मचारी संघ कोशी प्रदेशका उपाध्यक्ष अनिता न्यौपाने कोइराला र सचिव किशोर कार्कीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा आन्दोलनको चेतावनी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्