२६ जेठ २०८३, मंगलबार
जीवनदर्शन

कृष्ण किन टेढो उभिन्छन् ?

फागुन ३, २०८१
काठमाडौं
कृष्ण किन टेढो उभिन्छन् ?

हामी कृष्णलाईं टेढो उभिने गरेको पाउँछौंअहिलेसम्म उनको तस्वीर सोझो उभिएको कतै पाएका छैनौं । यस्तो किन होला ? कुनै रहस्य पनि होला कि त्यत्तिकै ? प्रायः सबैको मनमा उठ्ने सवाल हुन् यी तर, उत्तर खोज्न भने उनकै लीलालाई केलाउनुपर्ने हुन्छ । किनकि उनी आफैंमा टेढा छन्, टेढो हेर्छन्, टेढो गर्छन् । न उनलाई बुझ्न सकिन्छ न उनले गरेको गर्न सकिन्छ । 

सर्पको टाउकोमा पनि नाचिदिन्छन्, दवाग्नि (आगो) नै  पान गरिदिन पनि पछि पर्दैनन् । दिनमा १३ पटक खाए पनि रोगी छैनन्, १६ हजार रानीको साथमा रहे पनि भोगी छैनन् । उल्टै योगेश्वर मानिन्छन् । 

त्यसैले उनले भनेको गर्ने हो, गरेको होइन । अन्यथा चौपट हुन्छ । होइन गर्ने नै मन भए त्यो पनि सकिन्छ तर, शुरू पुतनाबधबाट गर्नुपर्छ । किनकि उनले त्यस्तै गरेका थिए ।  

पुतना भनेको पाप हो । जो पूत अर्थात् पवित्र छैन त्यही नै पुतना हो । पवित्र छैन भन्नुको अर्थ पापी छ भन्ने हो । जसको भित्र कालो र बाहिर सुन्दर देखिन्छ त्यही नै पुतना हो । पुतनाले कृष्णकहाँ जाँदा यस्तैरूप लिएकी थिई । दिन चतुर्दशी थियो, रूप भित्र कपट र बाहिर आकर्षक । चतुर्दशी भनेको १४ हो । यसको अर्थ हो पाप १४ स्थानमा बसेको हुन्छ– १९ इन्द्रिय र अन्तष्करण चतुष्टय अर्थात् मन, बुद्धि, चित्त र अहङ्कार । पापको निवास यिनै १४ स्थानमा हुन्छ । त्यसैले ऊ कृष्णलाई मार्न चतुर्दशी तिथिमा गएकी थिई तर, कृष्णले उसैलाई सिध्याइदिए । त्यसैले कृष्णले गरेको गर्ने हो भने शुरूवात त्यसैबाट गर्नुपर्छ, होइन सकिन्न भने उनले भनेको गर्नुपर्छ, जसको सङ्केत गीतामा गरेका छन् ।  

हामीले पढ्ने, भन्ने, सुन्ने गरेका छौं कृष्णले गोकुलमा युवतीहरूको साथमा खेलेका थिए, रासक्रीडा गरेका थिए, १६१०८ रानीहरूको साथमा रमण गरेका थिए । हो, यसको अभिधा अर्थ यही हो, जुन भागवतमा उल्लेख गरिएको छ । तीमध्ये आठ वटीलाई अलगअलग विवाह गरेका थिए । १६१०० लाई एकै लगनमा तर, त्यो वास्तविकता होइन । कृष्णको रानी रुक्मिणी एउटै थिइन्, जो महालक्ष्मीको अंश मानिएकी छिन् । बाँकी सबै लक्षणा र व्यञ्जना हुन् । 

यिनमा आठ रानी भनेको अष्टधा प्रकृति हो । यिनमा पृथिवी, जल, तेज, वायु, आकाश, मन, बुद्धि र अहङ्कार पर्दछ, जसको उल्लेख गीतामा गरिएको छ । भूमिरापोऽनलोवायुः खं मनो बुद्धिरेव च । अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा (गीता ७.४) यसको अर्थ हो जो उल्लिखित अष्टधा प्रकृतिको मालिक हो, जसले अष्टधा प्रकृतिलाई वशमा राख्न सकेको छ उही नै कृष्ण हो । 

त्यस्तै १६१०० भनेको वेदको उपासनापरक मन्त्र हुन्, जसलाई भौमासुरले बन्दी बनाएको थियो । अर्थात् दुष्ट बुद्धि भएको प्रशासकले दुरुपयोग गरेको थियो । वेदको एक लाख मन्त्रमा ८० हजार मन्त्र कर्मयोगसित सम्बन्धित छ । 

बाँकी २० हजारमा चारहजार ज्ञानयोग र १६ हजार उपासना योगसित सम्बन्धित छ । कृष्णले एकै लगनमा तिनको साथमा विवाह गरेका थिए भनेको तिनै १६ हजार वेदमन्त्रको उद्धार गरेका थिए, सदुपयोग गरेका थिए, सही लाइनमा ल्याएका थिए भन्ने हो । 

यसको व्याञ्जना अर्थ खोज्ने हो भने झन् अर्कै देखिन्छ । १६१०८ भनेको १६ हो– १+६+१+८=१६ ।  यसमा शून्यले चमत्कार गर्ने भनेको अर्को अङ्कको साथ पाउँदा मात्र हो । अन्यथा शून्य आफैंमा केही होइन । त्यसैले सो शून्यलाई कटाउँदा बाँकी हुने भनेको १६ नै हो । यसको अर्थ हो उनी सोह्रकलाले युक्त थिए भन्ने हो, जसमा ११ इन्द्रिय र पञ्चमहाभूत पर्दछन् । यसको उल्लेख व्यासजीले भागवतको शुरूमै गरेका छन् । ‘जगृहे पौरुषं रूपं भगवान्महददिभिः । सम्भूतं षोडाशकमादौ लोकसृस्रिक्षया । (भागवत १।३।१) अर्थात् आदि कल्पमा लोकसृष्टिको कामनाले भगवान् ११ इन्द्रिय र पञ्चमहाभूतलाई साथमा लिएर प्रकट भएका थिए । 

अब आयो कृष्णले युवती गोपिनीहरूको साथमा श्रृङ्गारिक क्रीडा गरेका र रासमा रमाएका कुरा । यसका लागि पहिले गोपिनीहरूकै अर्थ बुझ्नुपर्ने हुन्छ । जसले गो अर्थात् इन्द्रियहरूद्वारा भक्तिरस पान गरेका छन् तिनै गोपिनी हुन् । उनीहरू पहिले दण्डकारण्यवासी ऋषिहरू थिए । उनीहरूले पूरा जीवन योग र तपस्यामा बिताउँदा पनि भगवान्लाई पाउन नसकेपछि गोकुलमा गोपिनी बनेर आएका थिए । त्यसैले उनीहरू कृष्णसँग अधरामृत माग्ने गर्थे । अधरामृत भनेको धरामा नभएको अलौकिक रस हो । न धरा अधरा, न धरामृत अधरामृत ।  

रासलीलाको अर्थ पनि त्यस्तै हो । कृष्णले गोपिनीहरूको साथमा रासलीला गरे भन्नुको अर्थ युवतीको साथमा श्रृङ्गारिक लीला गरे भन्ने नभई काम विजयको लीला गरे भन्ने हो । एक पटक कामदेव कृष्णसित तपाईँ र मेरो बीचमा मल्ल युद्ध हुँदा जसले जित्छ उसैले परमेश्वर बन्न पाउँछ भन्न आएका थिए । त्यतिबेला कृष्णले गोपिनीहरूको साथमा रासक्रीडा भएको बेला आउनु भनेको थिए । सोहीअनुसार यति बेला कामदेवले आएर वाँण चलाउँदा केही हारेर फर्केका थिए । 

यही नै कृष्ण टेढा छन्, टेढो गर्छन्, उनले गरेको गर्न सकिन्न भन्नुको अर्थ हो । यदि जीवनमा सुख चाहने हो भने कृष्णले गरेको होइन भनेको गर्नुपर्छ भन्ने हो । उनले भनेको गर्नुपर्छ भन्नुको अर्थ उनले गीतामा भनेका कुरा गर्नुपर्छ भन्ने हो । होइन गरेको काम गर्न थाल्ने हो भने ठाने हुन्छ पुनः ८४ को अध्याय शुरू हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्