
जीवन परिवर्तनशील छ । परिवर्तन संसारको नियम हो । तर, कतिपय कुरा जिन्दगीमा नसोचेको नै हुँदो रहेछन् । कुनै बेला घृणाको आँखाबाट हेरेका चिजहरूलाई पछि मायाको हृदयले अंगाल्नुपर्ने रहेछ । भनिन्छ नि, ‘बिहानीको समयले दिउँसो कस्तो हुन्छ भन्ने कुराको संकेत गर्छ ।’
तर, मेरो हकमा बिहानीले दिउँसोको संकेत गर्न सकेन, सायद । अचेल उमेरको उकालोबाट फर्किएर बितिगएको जीवन हेर्दा लाग्छ- म त चौबाटोमा अलमलिएको बटुवा पो रहेछु । जानुपर्ने कतै थियो, पुगियो कतै । पुग्नु पर्ने कतै थियो, आइयो कतै ।
छुटिगएको बाल्यकाल सम्झिँदा मेरो मष्तिष्कमा एउटा धमिलो चित्र आउँछ । पुरानो फोटो एल्बम पल्टाउँदा टुप्लुक्क आफ्नो फोटो आए जस्तो । करिब सात वर्षकी हुँदो हुँ,मैले आमालाई भनें– ‘बाख्रा ल्याइदिनू । म पनि बाख्रा चराउन जान्छु ।’
आज मैले सम्झिल्याएको, मैले आमालाई व्यक्त गर्न सकेको, मेरो पहिलो ईच्छा यही थियो ।
मलाई याद छ । हाम्रो घरमा बाख्रा थिएनन् । भख्खर आमा र म काठमाडौंबाट घर फर्केका थियौं । काठमाडौं जाँदा आमाले बाख्रा फुपूकोमा पुर्याउनु भएको थियो रे ।
बाँकी गाउँमा सबैका बाख्रा थिए । हाम्रा थिएनन् । त्यसैले पनि होला बाख्राको रहर लागेको । भनिन्छ नि- जुन चिज आफूसँग हुँदैन । सबभन्दा बढी रहर त्यही चिजको लाग्छ । पछि आमाले बाख्रा ल्याइदिनु भयो । र, मेरो पहिलो ईच्छा पूरा भयो । बालककालमा ईच्छा पूरा हुनु भनेको धेरै थोक हुनु हो ।
म सधैँको शनिबार अनि स्कूल बिदा परेको दिन बाख्रा चराउन जान्थें। बिदा नपरेको दिन, बिहान र बेलुकाको खाली समय बाख्रालाई दिन्थें । मेरा लागि त्यो समयमा सबभन्दा बढी प्रिय र सबभन्दा बढी आत्मीय तीनै बाख्रा थिए । तीनै बाख्राहरूको समूह थियो- मेरो पाठशाला भन्नू पनि । मेरो घर भन्नू पनि ।
तारे र सिँगारीबाट भएको थियो, मेरो गोठाले जीवनको शुरूआत । विस्तारै बाख्रा मेरो दिल–दिमागमा छाइसकेका थिए । म तिनीहरूलाई खुब माया गर्थें । त्यतिखेर म कक्षा २ मा पढ्थें । मैले १ कक्षा आधी मात्रै पढेर २ मा भर्ना गरिदिन खुब जिद्धी गरेकी थिएँ, आमासँग । अरू केही कारण थिएन यसमा । मात्रै आफूसँग मिल्ने साथीसंगीनी, दिदीबहिनी २ कक्षामा पढ्थे । म मात्रै १ मा । त्यतिखेर दिदी सल्मा र सरिता मेरा आदर्श थिए । मेरा धरोहर थिए । जे थिए , बहुत मीठा थिए । जे थिए , सबभन्दा माथि थिए । उनीहरूले जे गर्यो, मलाई त्यही गर्न मन लाग्थ्यो । मलाई सधैं उनीहरू हिँडेको बाटो हिँडिरहन मन लाग्थ्यो । खेल्न मन पर्थ्यो । त्यतिखेर सल्मा दिदी २ मा र सरिता दिदी ३ मा पढ्थे । अरु बहिनीहरू १ मा पढिरहेका थिए ।
मैले जिद्दी गरेर २ कक्षामा भर्ना गरिदिन आमालाई आग्रह गरें । पछि आमाले सरसँग कुरा राख्नुभयो । आमाको आग्रह अनुसार सरले मेरो छुट्टै परीक्षा लग्नुभयो । सोधिएका प्रश्नको उत्तर फटाफट दिएपछि २ कक्षामा भर्ना गरिदिनुभयो ।
म पढ्ने सरकारी स्कूल हो । सरकारी स्कूलको पढाइको बारेमा मैले तपाईंहरूलाई खासै सुनाउन नपर्ला । सानो कक्षामा त अलिअलि पढाइ हुन्थ्यो । माथिल्ला कक्षामा ठूला दाइहरूको गुण्डागर्दी बढी नै हुने गर्थ्यो । मेरा लागि भने पढाइभन्दा पनि प्यारा थिए- मेरा बाख्राहरू । किताबका पानाहरू भन्दा बढी मैले बाख्राका अनुहार पढे हुँला । किताब कापी झोलामा राखे भन्दाबढी मैले , बाख्राका मुखमा घाँस राखे हुँला । बाख्रा चराउँदा चराउँदा , मेरा बाख्रालाई सबसे बढी मन पर्ने घाँसदेखि सबभन्दा बढी मन पर्ने चरन क्षेत्र सबैको ज्ञान थियो । साँच्ची भन्दा म स्कूले विद्यार्थी कम, बाख्राकी गोठाली बढी थिएँ ।
बाख्राले पाठापाठी जन्माउँदा मलाई दशैँ आए जस्तो हुन्थ्यो । कुनै उत्सवभन्दा कम महत्त्वको हुँदैनथियो, त्यो क्षण । बाख्रा ब्यायो भने म बाख्रासँगै गोठमै सुत्न खोज्थें । पाठापाठीसँग खेल्न खोज्थें । तर, आमा कराउनुहुन्थ्यो । जन्मिसकेपछि तिनीहरूको पण्डित म नै हुन्थें । अनेकथरि नाम राखिदिन्थे । आफूलाई मन परेका, आफूले सुनेका मान्छेका राम्रा राम्रा नाम म मेरा बाख्राका नाम राखिदिन्थे । मेरो एउटा पाठोको नाम एक जना फुपुको नाम थियो । उहाँले आफ्नो नाम राखेको भन्दै मेरो पाठालाई रिसले कुटिदिनुहुन्थ्यो । यस्ता तितामीठा सम्झनाहरू त कति छन् कति ।
मेरो घरको काम भनेकै पाठाहरूलाई हेर्ने, उनीहरूलाई चिसोबाट बचाउन तेल लगाइदिने, तिनीहरूको स्याहार–सुसार गर्ने हुन्थ्यो । तारे र सिँगारी ब्याएर पाठा जन्मिसकेका थिए । तिनीहरूका पाठामध्ये एक पाठो, आमाले मेरो नाममा गरिदिनु भयो र भन्नुभयो- ल यो पाठो तेरो भयो । पाठाको नाम ‘बाजरी’ थियो । जब ‘बाजरी’ मेरो भयो भन्ने कुरा आमाले घोषणा गर्नुभयो, त्यसपछि मलाई खुसी हुन अर्को कारण चाहिएन । मलाई लाग्यो- मेरो नाममा करोडौंको सम्पत्ति छ ।
केही समयपछि केही काम मिलाउन आमाले ‘बाजरी’ एक जना ठूलोआमालाई दिनुभयो । म यति रोएँ कि भनीसाध्य छैन । लाग्यो- मेरो संसार यत्ति रहेछ । यहीँ समाप्त भयो ।
पछि आमाले ‘बाजरी’को प्रिय बहिनी ‘गाजरी’ तेरो नाममा गरिदिन्छु भन्दा मैले मानेकै थिइनँ । त्यसको केही समयपछि आमाले अर्की दुई बहिनी ‘विन्दु र सिन्दु’मध्ये ‘सिन्दु’ मेरो नाममा गरिदिनुभयो । अनि त खडेरीमा बिरूवाले मल पाए जस्तो भयो । उकाली हिँडेको यात्रीले पानी पाए जस्तै भयो।
‘सिन्दु’ विकासी आलको थियो । अरू भन्दा ठूलो थियो । मालिकाका पहाड जस्तो बाङ्गो उसको नाक थियो । बैँसको बिरूवा भूँइमा लत्रिएजस्तै लत्रिने उसका लामा कान थिए । हर्लक्क बढेको, खाइलाग्दो थियो ।
विस्तारै हाम्रो गोठमा बाख्राको भीड बढ्यो । एकचोटी त बाख्राको संख्या २१ पुगेको थियो । गोठमा बाख्रा मात्रै बढेका थिएनन् । मेरो उमेरका हाँगाहरू पनि बढेका थिए । कक्षा पनि तदनुसार बढेकै थिए ।
म सानैदेखि जिद्दी, छुच्ची मात्र होइन हक्की स्वभावकी ‘बालिका’ थिएँ । गाउँभरिका मान्छेहरूको बीचमा ‘हरामी’ उपनामले परिचित थिएँ । हाम्रो गाउँमा ठूलाबडाले भनेको नमान्ने , मुख–मुखै लाग्ने , नेटेर्नेलाई ‘हरामी’ भन्छन् । मेरा लागि त मान्छेभन्दा बाख्रा बढी प्रिय थिए । त्यसैले म बाख्रासँगै बढी घुलमिल गर्थें । उनीहरूसँगै बस्थें । उनीहरूसँगै खेल्थें । बाख्रा ब्याउँदा दूध आयो कि आएन ? आएन भने कुन अन्न वा घाँस दिँदा आउँछ? पाठापाठीले खान पायो कि पाएन ? पाएन भने के गर्दा खान पाउँछ ? आदि सबैको ज्ञान मलाई थियो । यसरी म बाख्राको ‘डाक्टर’ पनि त रहेछु है !
अरु बेला कहीँ बाटोमा किरा मरेको देख्यो भने पनि घिन लागेर खाना नरूच्ने मलाई , आफ्ना बाख्राका जुम्रा त्यही हातले मारेर त्यही हातले खाना खाँदा पनि मज्जाले रुच्थ्यो । अहिले सम्झिँदा अनौठो लागेर आउँछ । सायद मेरो बाल मष्तिष्कले तिनीहरूको पीर व्यथा राम्ररी बुझेको हुँदो हो । मलाई मेरा बाख्रा मात्र होइन, गाउँका सबैका बाख्राको राम्रो जानकारी हुने गर्थ्यो । आफ्ना मात्रै हैन, अरूका पाठापाठीको ‘जन्मदिन’ कण्ठै हुन्थ्यो, मलाई । ताकी अरूको भन्दा आफ्नो पाठोपाठी कति जेठो वा कान्छो हो थाहा हुन्थ्यो ।
त्यही अनुसार हुर्काइ बढाई कस्तो भयो– सबैको गणना हुन्थ्यो । आफ्नो पाठा बढेर अरुको भन्दा ठूलो देखियो भने गोठालोको शान मान नै बेग्लै हुन्थ्यो । अझ अरु कसैले हर्लक्क बढेको खाइलाग्दो बाख्रा वा पाठो कसको हो भनि सोधिदिए त ओहो ! ‘सुनमा सुगन्ध थपे’जस्तो लाग्थ्यो । पढाइमा अब्बल हुने कुराको कुनै पर्वाह नै थिएन मलाई । तर, ‘गोठालो’मा अब्बल हुनुको आनन्द नै बेग्लै । त्यतिखेर बाख्रा राम्रा बनाउने प्रतिस्पर्धा नगरी पढाइ राम्रो बनाउने प्रतिस्पर्धा गरेको भइदिए, मेरो जीवनका ध्येय , उदेश्य र लक्ष्य फरक हुन्थे होला ।
यसको मतलब यो होइन कि अगाडिकाले बाटो देखाएनन् , आमाबुबाले पढ्नमा जोड दिएनन्, स्कूल नै पठाएनन् । यो पटक्कै होइन । बस् माहोल यस्तै बन्यो । जसको रुचि जता छ, ऊ त्यतै ढल्किनु सामान्य नै हो । स्कूल समयपछि घरमा आएर पढ्ने भनेकै आमाको गालीबाट जोगिनलाई मात्रै पढेजस्तो गरिन्थ्यो । पछि त जसको संगत गर्नलाई मैले बाख्रा किनिदिन भनेकी थिएँ, उनीहरू कसैले बाख्रा नै पाल्न छोडे , कसैले बाख्रा बेचे, कसैले चराउन लान नै छोडे । समयसँगै मेरा गोठाला साथीहरू फेरिए । ऋतुसँग बाख्राहरू फेरिए ।
जब दिनभरि बाख्रा चराएर साँझ गोठ फर्किँदा, बाख्रा अघाएर पिठ्यूसम्म डमडम पेट भरिएको देख्थें आफू नै अघाए जस्तो महसुस हुन्थ्यो । मन भित्रैबाट प्रफुलित भएर आउँथ्यो । मेरा लागि मेरा बाख्रा जनावर थिएनन्, मेरो परिवारका सदस्य थिए । जोसँग मेरो ‘आन्द्रा’ जोडिएको थियो । मलाई बाख्रा बढिरहेको मन पर्थ्यो । जब घरमा बढ्दै गइरहेका थिए , तब ‘आहा’गर्नेहरू भन्दा ‘डाहा’ गर्नेहरू बढी थिए । बाख्रा बढी भए ‘अबिरलो’ गर्छन् भनेर कतिले त बाटो पनि बन्द गरिदिन्छु भने । कतिले बाख्रा मारिदिन्छु भने, कतिले मलाई कुट्छु पनि भने । यस्तै थिए ती दिनहरू ।
मेरा त ‘बाख्राको जनसंख्या’ धेरै थियो । यही कारण दिनभरि सबैका बाख्रा टाढा गएका फर्काएर ल्याइदे नत्र छुट्याइदिन्छौं, नत्र एक्लै बाख्रा चराउन जा भन्दै हेप्थे ठूलाहरू । त्यो घना जंगलमा एक्लै बाख्रा चराउन जाने आँट आउँदैनथ्यो । कतिसम्म तिनीहरूको कुरा मानेर बसियो पनि । विस्तारै मैले ती कुरा आमालाई सुनाएँ । अनि, आमाले दाना लगेर जा, बाटोमा खुवाउँदै जानू, खुवाउँदै आउनू , जंगलमा बाख्रा टाढा गए आफ्ना बाख्रालाई दाना देखाउँदै बोलाउनू भनेर आईडिया दिनुभयो । मैले आमाले भनेजस्तै गर्न थालें । आमाको आईडियाले काम गर्यो । पछि त मेरा बाख्राहरू टाढा गए कि दाना देखाउँदै नाम लग्दै बोलाउन थाले । त्यसपछि धेरै बाख्रा मुखनेर आउँथे ।
गोठाला साथीहरूसँग मिलिन्थ्यो पनि । झगडा पनि पर्थ्यो । जे होस्, हाम्रो सम्बन्ध प्रगाढ बनिसकेको थियो । गाह्रो साह्रो पर्दा एक–अर्काका बाख्रा चराउन लगिदिन्थ्यौं । पढेर ठूलो मान्छे बन्छु भन्ने कुरा मेरो कल्पना बाहिरको कुरा थियो । बाख्रा पाल्छु, बेच्न पनि दिन्नँ , मारकाट गर्न पनि दिन्नँ जस्तै लाग्थ्यो ।
आमाले बाख्रा बेचिदिएपछि म हप्ता दिनसम्म बोल्दिनथें। यदि किन्ने मान्छेले ‘म बाख्रो पाल्छु , मार्दिनँ’ भन्यो भने चाहिँ बेच्ने कुरामा मेरो पनि सहमति हुन्थ्यो । बाख्रा किन्ने मान्छे नजिकको छिमेकी हो , वल्लो पल्लो गाउँको हो भने भने उसलाई बेला बेला भेटिराख्थे । दशैँ आयो भने खसी बोका काट्न लिन्छन् भन्ने डरले दशैँ नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । ती दशैँहरू मेरा लागि दशैँ कम, दसा बढी थिए । दशैँको रौनक त मेरो दाइहरू घर फर्कीआउँछन् भन्ने कुरामा मात्रै लाग्थ्यो । गाउँका परदेशीहरू दशैँ तिहारमा घर फर्किन्थे । हामीहरू कति टाढासम्म लिन जान्थ्यौं । आफ्नो घरको बोका काटेपछि म दशैँमा मासु खाँदैनथिएँ । बोका काट्दा एकै साटमा मार्यो कि धेरै साट हानेको हो सब जानकारी लिन्थें । चिच्याएर मर्यो भन्ने सुनें भने मलाई धेरै आत्माग्लानी हुन्थ्यो । मार्ने मान्छेलाई मनमनै गाली गर्थें ।
मैले मेरो जीवनकालमा अहिलेसम्म काटमार हेरेको छैन र हेर्न पनि नपरोस् । सानोमा मेरो आमा मलाई कति दुख्खको कुरा सुनाउन खोज्नु हुन्थ्यो । आफूले पाएको दुख्ख छोरीले नपाओस् भनी मेरो उज्ज्वल भविष्यको कामना गर्दै पढ्नमा जोड गर्नुहुन्थ्यो । म स्कूलबाट आइसकेपछि बेलुका आमा बाख्रा लिएर जंगलबाट फर्किनुहुन्थ्यो । मन लागेको दिन आमा गोठालोबाट फर्किनु पहिल्यै खाना बनाइराख्थें । मन लागेन भने यसै आगो पनि नबाली बसिराख्थें । आमा थाकेर आउनु भयो होला, भोकाउनु भयो होला , तिर्खाएर आउनुभयो होला– पानी दिनुपर्छ, खाना खान भन्नुपर्छ जस्ता कुरा अँह मेरो मष्तिष्कमा कहिल्यै आउँदैनथ्यो ।
आमाले बाख्रा गोठमा हुल् भनेर अह्राउनु हुन्थ्यो । म गोठभित्रै हराइदिन्थें । पाठाहरू बीचमा राखेर मस्त रमाइलो गर्थें । यसो गरेपछि आमा गाली गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- ‘यो त दुख्ख दिनलाई जन्मेकी हो । न भनेकी मान्दी, न कसैलाई टेर्दी ।’
म भने आमाको ‘हात पोल्दाको हम्मेडो’ हुनुको साटो झन् उल्टो फर्किन्थें । अझ चित्त दुखाउँथें । यो भन्दा त मर्न पाए हुन्थ्यो जस्तो पनि लाग्थ्यो। म आमालाई यतिसम्म सताउँथे कि कहिलेकाहीँ आमा मेरो हर्कत देखेर रूनुहुन्थ्यो। म मरे भने बाख्राहरू एक्लै होलान् झैं लाग्थ्यो । आमाको कुराले चित्त दुखे गोठमा गएर बाख्रलाई अंगालो हालेर खुब रुन्थें । त्यो बेला त मलाई मान्छेको अंगालो भन्दा जनवारको अंगालो (बाख्रा) प्यारो लाग्थ्यो । यसको मतलब आमा मेरो लागि प्रिय नभएको हैन । आमाको भावनालाई मात्र मेरो बाल मष्तिष्कले बुझ्न नसकेको हो । मेरी आमाको जीवनमा दुख्खको पहाड थुप्रिएको हुँदो हो । अनिकालमा बिउ सकिएको हुँदो हो । सुनाउँ भने सुन्दिने मान्छे शुद्ध थिएनन् होला। आँसुका भेल आँखाबाट झर्दा पुछिदिने हात थिएनन् होला । कसरी यत्रो जीवनयापन गर्नुभयो होला ? दिन त जसोतसो कट्दा हुन् , रात कति लामो हुँदा हुन् आमाका ?
भन्नलाई त छोरी आमाको सुख–दु:खको साथी हो भन्छन् तर, मेरो त्यो बाल मानसिकताले बुझ्न सकेन । कहिलेकाहीँ सुनाउँदा सुन्थें- दुख्खका ती घतलाग्दा कहानीहरू । म त्यसमा पनि फिल्मका कहानीमा झैं राम्रो भागको प्रतीक्षामा हुन्थें । सुनेपनि त्यहाँभित्रका भाव मैले बुझ्न सकिनँ, सायद । मेरी आमाको पनि मप्रति धेरै अपेक्षा थिए होलान् , आशाका किरण पलाएका हुँदाहुन्, भरोसाका कोपिला फुलेका हुँदाहुन् । त्यसैले होला, ‘फलानाका छोरीहरू घरमा कति सघाउँछन्, बाआमाको भनेको मान्छन्, तँ सक्केकी केही गर्दिनस् !’ भन्दै आमा भर्कोपर्को गर्नुहुन्थ्यो ।
अहिले त लाग्छ- भूतकालमा फर्किएर केही सुधार गरेर आउन मिल्थ्यो भने म मेरी आमाको घाउको मल्हम बनेर आउँथें। यो सम्भव छैन । आमाले दु:ख र संघर्षको पाठ सिकाइरहँदा मेरो दिमागमा केही छिर्दैनथ्यो । मलाई ‘दु:खको विकल्प मृत्यु हो’ भन्ने लाग्थ्यो । दु:ख पाएको मान्छे किन बाँचेको होला मरे भइहाल्थ्यो नि भन्ने लाग्थ्यो । दु:ख पाएर पनि किन बाँच्नुपर्यो र दु:ख पाए त मरिहाल्छु भन्ने मानसिकताका कारण मैले धेरै कुरा सिक्न नै पाइनँ । अहिले आएर थाहा पाउँदैछु , मभित्र कति ठूलो भ्रम रहेछ । मृत्यु मात्रै एक शाश्वत अन्तिम सत्य र प्राकृतिक प्रक्रिया भए पनि, कति भयंकर र पीडादायी हुन्छ भन्ने कुराको अभाव रहेछ, मलाई त्यो बेला । मलाई थाहा रहेछ त केवल जंगलको ज्ञान, बाघको ओडार, भालुको ओडार, बाख्राको लागि उपयुक्त चरन क्षेत्र, उनीहरूको मनपर्ने घाँस, बाख्रा हराए प्रयोग गर्ने मन्त्रहरू; आदि ।
बाख्रा हराउँदा भगवानलाई प्रयोग गर्ने भाकलहरू वा मन्त्रहरू सम्झिँदा, अहिले मलाई लाग्छ- गीता र माहाभारतको भन्दा बढी ज्ञान थियो । गीता र रावायण पढेझैं गरी , बाख्रा हराउँदा भगवानलाई बोलबिन्ति टक्रयाउँन्थ्यौं । बाख्रा हराएर नभेटिएको दिन घर जान मान्दैनथ्यौं, खुब रुन्थ्यौं । कराउँथ्यौं । घरका मान्छे लिन आइसकेपछि मात्र घर जान्थ्यौं । प्राय: बाख्रा राम्ररी नहेरेको दिन बाख्रा हराउँथे । कहिले आफैं भेट्टाएर लग्थ्यौं, कहिले घरका मान्छे खोज्न आउनुपर्थ्यो ।
त्यो दिन त्यस्तो नगरेको भए..
प्राय: बाख्रा जंगलमै बास बस्थे । भोलि सकुशल भेटाउथ्यौँ । तर, एकचोटी त्यस्तो भएन । बाख्रा चराउन म गएको थिएँ । दिनभरि बाख्रा चराउँदै दाउरा काट्यौं । बेलुका बाख्रा घर जानलाई घरको बाटो लागिरहेका थिए । अनि अब दाउराका भारी बान्न थाल्यौं । त्यो दिन मैले खुब राम्रा राम्रा दाउरा काटेकी थिएँ । मनमनै लागिराथ्यो- मेरो दाउराको भारी देखेर मेरी आमा आज कति खुशी हुनुहोला । गाउँमा पनि देखाउँदै लिन्छु । म बाख्रा चराउन जाँदा प्राय: रित्तै घर फर्किन्थें । त्यही भएर मलाई गाउँमा पनि अल्छिनी, काम चोर भन्थे । तिनीहरूलाई देखाउन भए पनि कहिलेकाहीँ दाउरा लिन्थें । त्यो दिन पनि सब जना दाउराको भारी बान्नमै भुल्यौं । हामीलाई लाग्यो- घर जान ठिक्क बाटोतिर लागेका बाख्रा दायाँबायाँ जाँदैनन् होला । भारी बान्दाबान्दै ढिलो भैहाल्यो । पछि त आधा बाख्रा घरतिर लागेछन् । आधा जंगलको माथि डाँडातिर । बाटोमा आएर हेर्दा त आधा बाख्रा छैनन् । साँझ छिप्पिदै गइसकेको थियो । आधा बाख्राहरू मात्रै लगेर घर गयौं । बाख्रा हराए भनेर घरमा थाहा भयो । हराए जतिको, पछिल्लो दिन खोज्न जाने भनी सधै जसरी सुत्यौं ।
पछिल्लो दिन बिहानै आमा उठेर बाख्रा खोज्न जानुभयो । अरु जजसको हराएका छन् सबै गए । हाम्रा १० बाख्रा हराएका थिए । मलाई आमाले खाना बनाएस् भनेर जानु भएको थियो । आमा खोज्न गएको केही समयपछि एक जना हाम्रा ३ वटा बाख्रा ल्याएर आयो । मैले ‘कहाँ भेटेको ?’ भनेर सोध्दा घरभन्दा अलि माथिको डाँडामा भेटाएको कुरा उसले बतायो । त्यसको केही छिनपछि ३ वटा बाख्रा ल्याएर अर्को मान्छे आयो, उसलाई सोध्दा त्यसको अलि माथि रहेको बतायो । म खुशीले गद्गद् थिएँ । किनकी मेरा ६ बाख्रा भेट्टिसकेका थिए । बिहान भेटाएकोमा मेरा बाख्रा मात्र थिए । अब अरु भेट्टिनेमा म विश्वस्त थिएँ । तर, मेरो खुशी धेरैबेर टिकेन । करिब साढे १०/११ बजेको हुँदो हो, मेरो घरको उतातिरबाट आवाज आयो-‘हिजो हराएका बाख्रा खोज्नेहरूका, बाख्रामा त बाघ पर्यो रे, मारेका बाख्रा ल्यायो कि के हो, बाँचेका बाख्रा धल्पुराका डाँडा छन् रे, आधा उता गएका छन् रे ।’
अझै पनि म मेरा बाख्रालाई केही नहोस् भनी कामना गरिरहेकी थिएँ । एकछिनपछि सब मारेका बाख्रा लिएर मेरै घरतिर आए । आमा रुँदै आउनुभयो । मेरा ३ बाख्रालाई बाघले मारेर फालिदिएको थियो रे । सबैका बाख्रा सकुशल घर आए तर मेरा तीन बाख्राको लास । तीन बाख्रामा एउटाका आमा छोरा थिए , एउटाको सानो बोका ‘मुल्यायो’ (टुहुरो) बनेको थियो । मसँग रुनु सिवाय अरु विकल्प थिएन । म त्यो घटनाले त्यो दिन मात्रै रोइनँ , वर्षौंसम्म नमेटिने घाउ बनिरहिरह्यो । मनमा एउटै कुराले हान्थ्यो- मैले बाख्रा नछोडेको भए त्यस्तो हुँदैनथ्यो । जबजब त्यो मुल्यायो भएको बोकालाई देख्थें, त्यसको अपराधि मै हुँ झैं लाग्थ्यो । एकदिन त्यो पनि हरायो, एक्लै । त्यो बाँचेको होला भन्ने आशा नै मरिसकेको थियो । आमाले कति खोज्दा पनि भेटिएन । पछि मैले बाख्रा चराउन जाँदा बाहुनबाडामा जिउँदै भेटें, मेरो प्राणमा सास आए झैं भयो । यी घटनाबाट म सधैँ ग्रसित नै भइराखें । मेरो मष्तिष्कमा यति ठूलो छाप परेछ कि म अहिले पनि ‘म बाख्रा चराउन गएको, बाघ आएको, मेरो बाख्रालाई खान आएको बाघ मैले मारेको’ जस्ता सपना देखिराख्छु ।
समय बित्दै गयो । मेरो भाइ ‘आकाश’ हाम्रो जीवनमा आयो । वर्षौंको मेरो सपना पूरा भयो । मेरो पनि दाजुभाइ भए बाख्रा चराउन जाँदा पालो लगाउँछु सोच्थें । पछि विस्तारै मेरो भाइ ‘आकाश’ले मेरो पगडी समात्यो । भाइ बाख्रा चराउन जाने भइसकेपछि, म घरको काममा हात बढाउन थालें । जे जे पहिले मैले गर्थें, भाइले त्यस्तै गर्न थाल्यो । मेरो १२ कक्षासम्मको पढाइ सकिएपछि गाउँ छोड्नु पर्यो ।
अब मलाई घर, परिवार, बाख्रा, गाउँ सबैको माया लाग्थ्यो । फोनबाट भए पनि बाख्राहरूको एक/एक जानकारी मलाई चाहिन्थ्यो । घर गएपछि खुब माया गर्थें । पछि सिँगारी बाख्रो बूढो भएर मर्यो । सिन्दुलाई पनि कटाउनु भएछ । आमाले अरुलाई बेचिदिनुभयो । बाख्रा घरमा जीवित नरहे पनि , तिनीहरू मेरो सम्झनामा जीवित छन् । बाख्रा, बाख्री गोठालोबाट टाढा बसेपछि अचेल आखिरमा ‘जिन्दगीको परिभाषा’ बुझ्दैछु । आमाको महत्त्वको महिमागान बल्ल थाहा पाउँदैछु । पढाइको महत्त्व नभएको मलाई पढ्नुपर्छ भन्ने भाव बल्ल पैदा हुँदै गएको छ । जसोतसो पढाइ सक्कियो । कलेज पढ्ने सपनासम्म नदेखेकी मैले विपनामै ‘मास्टर डिग्री’ सक्काएँ । शिक्षक बन्न घृणा गर्ने म शिक्षक पेसा उपयुक्त हो कि भन्ने निष्कर्षमा पुगेकी छु । ‘बुझ्दै जानू , आफूलाई अझ परिष्कृत गर्दै जानू’ पनि त जीवन रहेछ हगि !