
केही दिनअघि साँझ फोनमा भाइ पुन्यले भनेका थिए– ‘धनञ्जय सन्तति’ प्रकाशित भएको थियो, दाजुलाई कसरी उपलब्ध गराउने होला ?’ पुस्तक प्रकाशित हुँदैछ भन्ने त थाहा थियो तर, यति चाँडै आउलाजस्तो लागेको थिएन । सोचेभन्दा चाँडै नै प्रकाशित भएको थाहा पाउँदा खुशी लाग्यो र लोकेशन दिएर फोन राखेको थिएँ । भोलिपल्टै पुस्तक हात पर्यो ।
सरसर्ती हेर्दा लागेको थियो रिजालहरूबारे मात्र लेखिएको होला तर, पढ्दै जाँदा थाहा भयो किताब निकै माथिल्लो रहेछ । जति पढ्यो पढौँपढौँ लाग्ने, कतिपय प्रसङ्ग दोर्याएरै पढ्नुपर्ने । पढ्दै जाँदा जति खुशी लाग्यो त्योभन्दा बढी गौरवानुभूति । खुशी यस अर्थमा कि धनञ्जयकुलमा अर्को रत्न थपियो, गौरव यस अर्थमा कि आफ्नै कुलमा यति गहन अध्येता लेखक पनि रहेछन् ।
ऐतिहासिक खण्ड, वंशावली खण्ड र अनुसूची खण्डगरी तीन खण्ड रहेको पुस्तक कलेवरको हिसाबले खासै ठूलो छैन तर, विशेषताको हिसाबले निकै उच्चकोटीको छ ।
किनभने गागरमा सागर भनेजस्तो समग्र विश्वब्रह्माण्ड समेटिएको छ, जहाँ ब्रह्माण्डउत्पत्ति र आयुदेखि मानवपुर्खा हुँदै धानञ्जयेय परिवारको उत्पत्ति, विकास र हालको अवस्थितिलाई समेत शिलशिलाबद्ध सोदाहरण प्रस्तुत गरिएको छ । पुस्तकको एउटा विशेषता भनेको धनञ्जय गोत्रीय रिजालहरूको नेपालखण्डमा कहिले कहाँबाट प्रवेश गरे, सर्वप्रथम आउने व्यक्ति को थिए, कहाँ बसे र उनको सन्तति कहाँ कसरी रिजाल भए भन्ने हो ।
अर्को विशेषता भनेको धनञ्जय गोत्रीय अन्य बुन्धुहरूबारे समेत जानकारी पाइनु हो । तर, हालसम्म नृवंशका सम्बन्धमा स्थापित मान्यता (पूर्वपश्चिम) लाई गण्डनमण्डन गर्दै छुट्टै मान्यता प्रस्तुत गर्नु त्योभन्दा माथिल्लो विशेषता हो ।
पुृस्तकले प्राणीजीवनको उत्पत्तिबारे आधुनिक विकासवादी डार्बिनको सिद्धान्तलाई सोझै नकारेको मात्र छैन आफ्नो छुट्टै मत प्रस्तुत गदै त्यसलाई विभिन्न व्यावहारिक उदाहरणद्वारा पुष्टि गर्ने प्रयाससमेत गरेको छ । पौराणिक ग्रन्थहरूका अनुसार प्राणीजीवन उद्विकासको क्रम कश्यपऋषिबाट शुरू भएको देखिन्छ तर, यस पुस्तकले त्यसलाई समेत परिस्कृत तथा परिमार्जन गरेको छ । त्यस्तै कतिपय विद्वान्हरू खासगरी राजनीतिक पण्डितहरूद्वारा नेपालको ब्राह्ण तथा क्षत्रियसमुदायलाई जबरजस्ती खसआर्यको बिल्ला भिराइएको छ, जुन भ्रामक र कपोलकल्पितबाहेक केही होइन । पुस्तकले त्यसलाई समेत सप्रमाण चिर्ने काम गरेको छ ।
पुस्तकको ऐतिहासिक खण्डमा ब्रह्म के हो, ब्रह्माण्ड के हो, कहिले कसरी उत्पन्न भयो , पृथिवीलगायत सौर्र्र्र्यपरिवारको उत्पत्ति कहिले कसरी, पृथिवीको स्वरूप परिवर्तन, जीवोत्पत्तिको आधार, मानव उत्पत्ति तथा विकासक्रम, हिमाली सभ्यता तथा विश्वका महत्वपूर्ण मानवसभ्यता, खस र वैदिक आर्यका बीचको भिन्नतादेखि धर्म के हो, कहिले कसरी उत्पत्ति भयो, गोत्रोत्पत्ति र परिभाषा, धनञ्जय गोत्रको प्रदुर्भाव तथा आर्यमहाजातिको नेपाल आगमन आदि विषयवस्तुलाई सम्यकरूपमा प्रकाश पार्ने काम भएको छ ।
आधुनिक विकासवादी वैज्ञानिक डार्बिनका अनुसार पृथिवीमा सर्वप्रथम सरल जीवित कोषिकाहरू उत्पन्न भएका थिए, जो विभिन्न जटिल मोड पार गर्र्दंै आजको जीवको अवस्थामा पुगेको हो तर, पुस्तकका लेखक त्यसमा सहमत देखिँदैनन् । उनका अनुसार माछाको उत्पत्ति माछाबाटै हुन्छ र माछा नै भएर रहन्छ । बरू ऊ त्यसैमा मर्दछ तर, अर्को बन्न सक्दैन । स्थलचर, गगनचर र उभयचर सबै प्राणीको अवस्था त्यस्तै हो । बाँदर बाँदर नै हो, बाँदरबाटै जन्मन्छ र बाँदर नै भएर रहन्छ । मान्छे मान्छे नै हो । मान्छेबाटै जन्मन्छ र मान्छे नै भएर रहन्छ । न बाँदर मानिस बन्न सक्छ न मानिस बाँदर बन्न सक्छ । उसको अन्तिम सत्य भनेको मृत्यु हो, त्यसबाहेक अर्को हुनै सक्दैन ।
त्यस्तै, पौरणिक ग्रन्थहरूका अनसार कश्यपऋषिबाट आफ्ना पत्नीहरूमार्फत् सबै प्रजातिका प्राणी सृष्टि भएका हुन् तर, त्यो पनि विशुद्ध मिथकबाहेक केही होइन । बरू के चाहिँ हो भने त्यो विम्बसम्म हुन सक्छ । शायद कश्यपऋषि भनेका कश्यपसागर र कश्यपपर्वत आसपासको उर्वर भूमि हुनुपर्छ, जहाँबाट जीवन विकासको क्रम शुरू भएको थियो ।
कश्यप पर्वत भनेको त्यस्तो पर्वत हो, जो सुमेरुपर्वतको आसपास रहेको छ । त्यसैले यस क्षेत्रमा विकास भएको सभ्यतालाई सुमेरियन सभ्यता भनिन्छ । कश्यपको पत्नीहरूबाट विभिन्न प्रजातिका प्राणी सृष्टि भए भन्नुको अर्थ सोही पर्वत आसपासको भूमिहरूबाट उत्पन्न भएको भन्ने हुनुपर्छ ।
संसारमा देश, काल र निमित्तअनुसार विभिन्न प्रजातिका प्राणी सृष्टि भएका छन्, हुन्छन् तर, एउटै प्रजातिबाट अर्को प्रजातिको प्राणीसृष्टि कदापि सम्भव हुन्न । न्यायशास्त्र भन्छ– ‘समानप्रशवात्मिका जाति ।’ अर्थात् जहाँ स्त्रीपुरुषबीचको सम्पर्कबाट सन्तानोत्पादन सम्भव हुन्छ त्यो एउटा जाति हो । जस्तो घोडा र गधाको सम्पर्कबाट सन्तान उत्पादन त हुन्छ तर, उसले सन्तान उत्पादन गर्न सक्दैन । त्यसैले खच्चड अर्को जाति हो । अतः एउटै जातिका कश्यपऋषिबाट सबै प्रजातिका प्राणी सृष्टि हुने सम्भावना नै रहन्न ।
यस्तो अवस्थामा भन्नैपर्ने हुन्छ कश्यपऋषि भनेका कश्यपर्वत तथा उनका पत्नीहरू भनेका सोही पर्वतीय इलाका उर्वर भूमि हुन्, जुन स्थान सृष्टिको प्रथानविन्दु मानिएको छ । मानव सृष्टि पनि यहीँबाट भएको हो र संसारभरी फैलिने काम पनि त्यहीँबाट भएको हो । आफू बसेको स्थान साँघुरो भएपछि अनुकुल स्थानको खोजी गर्नु मानवीय स्वभाव हो । यहाँ भएको पनि यही हो । जब उनीहरूलाई आफ्नो पैतृकभूमि सुमेरियन क्षेत्रले धान्न सकेन तब उपयुक्त वासस्थानको खोजीमा एउटा हाँगो पश्चिमतिर लागेर मेसोपोटामिया पुग्यो । पछि त्यहीँबाट मिश्रतिर पुगेर नयाँ सभ्यता निर्माण गर्यो । त्यस्तै पूर्वतर्फ लागेको हाँगो सिन्घुघातिर आइपुग्यो र छुट्टै सम्यता निर्माण गर्यो ।
विस्तारै त्यहाँबाट पनि थप उर्वर भूमि खोज्ने क्रममा अघि बढ्दै जाँदा उनीहरूकै वंशज गङ्गा मैदानसम्म आइपुग्यो र त्यस्तै किसिमको सभ्यता निर्माण गर्यो । वेदपुराण तथा दर्शन र सिद्धान्त आदि हाल जेजति धार्मिक ग्रन्थहरू छन् सबै यसै क्षेत्र वा सभ्यताका देन हुन् ।
त्यस्तै पुस्तकको वंशावली खण्डमा सृष्टिकालीन वंशावलीलाई छुट्टै राखिएको छ, जसमा नारायणदेखि ब्रह्माजी तथा उनका मानसपुत्रहरू सनकादिका साथे ऋषिहरू र तिनका सन्तानलाई राखिएको छ । दोस्रोमा चन्द्रवंशी पौराणिक वंशावलीलाई राखिएको छ, जहाँ बुध र इलादेखि विश्वामित्रसम्मको वंशलाई राखिएको छ । यिनै विश्वामित्रको वंशमा ऋषि धनञ्जय भएका छन्, जहाँले धनञ्जय गोत्रीय वंश प्रतिपादन गरेका थिए । शुरूमा धनञ्जय गोत्रीय परिवारको वासस्थान गडवालको आसपास रहेको थियो । त्यताबाट अघि सर्दै आउने क्रममा कुमाउसम्म आइपुगे । त्यहीँबाट रामेश्वर उपाध्याय नामका एक धनञ्जयगोत्रीय सज्जन महाकाली नदी तरी विक्रमको तेह्रौँ शताब्दीतिर नेपाल प्रवेश गरेका हुन्, जो हालको अछाम जिल्लामा पर्ने तोसीधमाली भन्ने स्थानमा बसेका थिए ।
उनका छोराहरूमध्येका एक भाइ सादुपाध्ये दुल्लुको रिजुमा आई पुगे । उनले त्यहाँका तत्कालीन राजालाई रिझाएवापत सो क्षेत्रमा एउटा गाउँ बिर्ता पाएका थिए । पछि सोही गाउँ रिझा तथा रिजा हुँदै रिजु हुन पुग्यो भने रिजामा बस्ने भएकाले उनका सन्तानलाई रिजाल भन्न थालियो । हाल विश्वभरी छरिएर रहेका जति पनि रिजालहरू छन् उनीहरूको उद्गम स्थल सोही रिजु हो भन्ने यस खण्डको निष्कर्ष रहेको छ ।
अनुसूची खण्डमा यिनै कुराहरूसित सम्बन्धित लालमोहर, शिलापत्र, बिर्ता थमौती, अदालती फैसला, ताम्रपत्रका प्रतिलिपि तथा किवदन्तिहरू रहेका छन् ।
पुस्तकमा केही कमजोरी पनि छन् । पुस्तकको नाम ‘धनञ्जय सन्तति’ भनिए पनि धनञ्जयका सबै सन्ततिको नामावली समेटिएको छैन । दैलेख–दुल्लु–रनुखानुबाट छुट्टिएर आएको एउटा हाँगोको सन्ततिको नामनामेसीमात्र उल्लेख भएका छन् । यसबारे लेखक आफैँले कारण खुलाएकाले यसलाई सोहीरूपमा लिनुपर्ने हुन्छ । अर्को कुरा मनु र कल्प तथा योगमाया (विन्ध्यवासिनी) उत्पत्तिको सम्बन्धमा लेखक अलमलिएका छन् । यद्यपि यति ठूलो ग्रन्थको अगाडि त्यो सामान्य हो । तथापि प्रकाशनपूर्व अर्को व्यक्तिको आँखा पुग्न सकेको भए शायद त्यो पनि हुने थिएन । जेहोस् समग्रमा पुस्तक अब्बल छ । एकल प्रयासमा यति गहन पुस्तक प्रकाशन गर्ने भाइ पुन्य रिजाललाई मुरीमुरी बधाइ तथा कृतिगत सफलताको कामना गर्दै बिदा हुन चाहन्छु । अस्तु !