
कलंकीकी १९ वर्षीया काजल (नाम परिवर्तन) र गोरखा घर भएर थानकोट बस्दै आएका २१ वर्षीय श्रीजल बाग्दास ११ कक्षामा पढ्दै गर्दा प्रेम सम्बन्धमा गाँसिए । २ वर्ष अघिसम्म उनीहरूको सम्बन्ध राम्रै थियो । मोबाइलमा अश्लील अंग देखाएर कुराकानी गर्थे ।
त्यहीबीचमा श्रीजलले काजलमाथि शंकाको दृष्टिले हेर्न थाले । सामान्य विवादमा झगडा हुन थाल्यो । श्रीजलले काजलमाथि कुटपिट समेत गरे । काजलले साथीभाइसँग फोनमा कुरा गर्दा पनि शंका गर्थे ।
आफूमाथि कुटपिट हुन थालेपछि काजल प्रेम सम्बन्धबाट टाढिइन् ।
आफ्नो फोन रिसिभ नगर्ने र भेट्न बोलाउँदा नजाने गरेपछि श्रीजलले बाहिर नल्याउने सहमतिमै खिचिएका अश्लील फोटो र भिडियो बाहिर ल्याउने धम्की दिन शुरू गरे ।
फोनमा अश्लील अंग देखाएर कुरा गरिएका फोटो र भिडियो पठाएर श्रीजलले काजललाई म्यासेज गरे, ‘भोलि बेलुकाबाट सबैलाई पठाउँछु, चिन्ता नगर, तिम्रो बाबालाई पनि पठाउँछु ।’
श्रीजलले पटक–पटक धम्क्याउन थालेपछि कागल प्रहरी गुहार्न बाध्य भइन् । उनले नेपाल प्रहरीको साइबार ब्यूरोमा श्रीजलविरुद्ध उजुरी दिइन् ।
उजुरीमा सहमतिमै खिचिएका तस्वीर र भिडियो बाहिर ल्याँउछु भन्दै श्रीजलले आफूलाई धम्की दिएको उल्लेख थियो । उक्त उजुरीपछि प्रहरीले श्रीजललाई पक्राउ गर्यो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र ब्यूरोसँगको बयानमा श्रीजलले आफू र काजलबीच सामाजिक सञ्जालमा चिनजान भएको खुलाएका छन् ।
सहमतिमै फेसबूकको म्यासेन्जरमा भिडियो कल गरेर दुवैको अश्लील अंग देखाउने गरेको पनि उनले स्वीकारेका छन् । ‘मैले काजललाई थाहा नदिई अश्लील भिडियोहरू गुगल ड्राइभमा सुरक्षित राख्दै आएको साँचो हो,’ बयानमा उनको स्वीकारोक्ति छ ।
प्रेमी पनि भन्ने र फोन तथा म्यासेज पनि रिप्लाइ नगर्ने भएपछि आफूले रिस थाम्न नसकेर फोटो/भिडियो सुरक्षित राख्न थालेको उनले बताएका छन् । काजलले आफू लामो समय प्रेम सम्बन्धमा नरहने बताएको र फोन समेत अर्कै केटाले उठाएर धम्क्याएको श्रीजलको बयान छ ।
‘कसरी हुन्छ, काजल मेरो जीवनमा फेरि फर्किए हुन्थ्यो भन्ने लाग्थ्यो,’ श्रीजलले बयानमा भनेका छन्, ‘मैले धेरै फोन र म्यासेज गर्थें, अचानक एक दिन केटा मान्छेले फोन उठाएर किन फोन गरेको, ऊ मेरो गल्डफ्रेन्ड हो, अबदेखि यो नम्बरमा कल नगर भन्यो ।’
काजलको अश्लील फोटो र भिडियो रिसको आवेगमा आएर उसको मोबाइलमा पठाएको श्रीजलको बयान छ । ‘धम्कीपूर्ण म्यासेज मैले काजललाई पठाएको हो, आफन्तलाई समेत पठाएर भाइरल बनाइदिन्छु भनेको पनि हो,’ श्रीजलले बयानमा भने, ‘कानूनबमोजिम सजाय भोग्न तयार छु ।’
ब्यूरोले सबै अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मिसिल बुझायो । पीडितलाई निरन्तर दुःख र हैरानी दिनेलगायतको कार्य गरेकोमा विद्युतीय कारोबार सजाय ऐन, २०६३ को कसुरअन्तर्गत कारबाही गर्ने मागदाबीसहित मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको थियो ।
सरकारी वकिल कार्यालयले साक्षीको रूपमा तीन जनाको बयान कागज समेत गराएको छ । गत फागुन ५ गते कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोजन दर्ता गर्दै श्रीजलविरुद्ध विद्युतीय कारोबार ऐन दफा ४७ को उपदफा १ र २ बमोजिम सजायको मागदाबी गरेको छ ।
श्रीजलविरुद्ध लगाइएको अभियोग र प्रमाणका आधारमा १ लाख रुपैयाँ वा ५ वर्ष कैद सजायको मागदाबी लिइएको छ । ब्यूरोले श्रीजलबाट बरामद गरेको मोबाइल र ल्यापटप प्रहरीकै डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । रिपोर्ट आउन बाँकी छ । सरकारी वकिल कार्यालयका प्रवक्ता सूर्यप्रसाद दाहालका अनुसार प्रहरीले बुझाएको मिसिल अध्ययनपश्चात मुद्दा दर्ता गरिएको हो ।