२५ जेठ २०८३, सोमबार

नेपालीहरूको महान चाड चुनाव !

फागुन १७, २०८१
काठमाडौं
नेपालीहरूको महान चाड चुनाव !

मान्नइ र घरकी सौराई हड्छइ तर्की तर्की !
आइगयो हणौनै चुनाव काजी घर फर्की !

करिब पाँच किलो जति पर्चा पम्प्लेटहरू बोकेर हामी सुर्खेतबाट दैलेखको गाडीमा बस्यौं  । ५/६ जनाको जमात थियो  । खासमा हामी परदेशबाट दशैं मनाउन जन्मभूमिको यात्रामा थियौं । तर, माहोल यस्तो भयो जसले दशैं बिर्साइदियो  ।

सडक छेउछाउका पेटीहरूमा र वृक्षहरूमा पनि पार्टीका पर्चा पम्प्लेट, ब्यानर र झण्डा यसरी सजिएका थिए, जसरी बिहे व्रतबन्ध हुने घरमा तोरण सजिएका हुन्छन् । 

चिनेजानेका आफन्त र केही बुद्धिजीवी सर्कलका मान्छेले गफ यसरी छाटिरहेका थिए, मानौ चुनावपछि देशमा ठूलै कायपलट हुनेछ । र, मैले पनि त्यसैबीचमा गफ हाँके- म समर्थक पार्टीको गुणगान अनि फलानो मान्छेलाई जिताउनुपर्छ भनेर! 

नौ महिना भारतमा बसेर हिँडेको म परिवारहरूसँग भेट्दै नभेटी चुनावी माहोलमा होमिएको थिएँ ।

फलानालाई जिताउनुपर्छ, फलानाका यी गुणहरू छन्, फलानालाई हराउनुपर्छ, फलानाले यसो गर्छ, फलानाले उसो गर्छ भन्ने एउटा भाष्य निर्माण हुँदो रहेछ चुनावमा  । जुन भाष्यले मान्छे जतिसुकै अब्बल र निष्ठावान भएपनि फरक पार्टीकै भएका कारण उसले निकै गाली खानु पर्दोरहेछ । हामी छौं नै यस्तै  ।

यो चुनाव पनि बडो अजिबको छ । छिमेकी घरहरूबीच पानी बाराबार गराउँछ । बोलचाल बन्द गराउँछ !

जीवनमा कहिल्यै मन नमिलेकाहरूसँग पनि चुनावमा पार्टी मिल्यो, चिन्ह मिल्यो भने एकदम घनिष्टता हुने रहेछ । जिन्दगीभर नबोल्ने  कैयौं मान्छेहरू पनि चुनावताका अंगालो मारेर हिँडेका पनि देखियो !केही हदसम्म चुनाव मेलमिलाप पनि रहेछ भने केही हदसम्म चुनाव भयंकर दुश्मनी बढाउने समय पनि रहेछ । 

त्यसले हामीले भनेको मानेको छैन त्यसलाई सामाजिक कार्यमा देखाउँला भन्नेहरू पनि तपाईं हामीहरूकै वरपर छरपष्ट रहेछन् । कति सानो सोंच रहेछ मान्छेहरूको । कति संकीर्ण सोचमा बाँचेका छौँ हामी, अहिलेका मान्छेहरु पनि ! 

कतिपय मान्छेहरू हामीले जिते यसो गर्ने, हामीले जिते फलानोलाई कुट्ने, हामीले जिते फलानालाई पेल्ने भन्ने योजना बनाउँदै थिए । ‘सन्तान पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले’ जस्तो गरिरहेका थिए ! 

मुख्य दुई दलबीच प्रतिस्पर्धा थियो हाम्रो चुनावमा । र, ती दुई दलमा जति घटिया मान्छेहरू अरु कुनै पनि दलमा थिएनन् जस्तो लाग्न थाल्यो मलाई । चुनाव निष्पक्ष हुन्छ, चुनाव मताधिकारको प्रयोग गर्ने, चुनाव आफूले मन लागेको व्यक्ति छान्ने चाड हो भन्छन् तर, रहेनछ ।

यहाँ त आफ्नाहरूको खुट्टो लडाउने जालझेल गर्ने, कुटनीति गर्ने, छलकपट गर्ने मान्छेहरूको जमघट पो हुने रहेछ ।  नजिकको भाइ नचाहिने समय, टाढाको वर्गीय मित्र चाहिने ! क्या मजाको फाटो ल्यायो जीवनमा चुनावले । नजिकका कुम जोडिएका भाइबन्धुहरूले गर्ने व्यवहार, फरक विचार बोकेकै कारण सहनुपर्ने अपमान, क्या मज्जाको फाटो ल्याएर जान्छन् चुनावले जिन्दगीमा ।

निरन्तर मान्छेहरू दौडिरहेका थिए । मान्छेहरूलाई सम्झाउँदै थिए । हामीले यसो गर्छौं, फलानाले यसो गर्‍यो, हामी सत्तामा पुगेपछि तपाईंहरूका दुःखका दिन जान्छन् । अहो ! चुनावमा भोट माग्नलाई प्राय: सबैले बोल्ने भाषा नै यही हो ।

छोरी माग्न गएको बेला ‘चार दिन माइत, चार दिन पोहिल गर्ले’ भन्ने कथनझैं हामीलाई जिताउनुभयो भने हामी तपाईंहरूका लागि यो यो गर्छौं भनेर हरेक उम्मेदवारले जनतालाई झुक्याउने खेल नै चुनाव रहेछ हजुर ! 

शिक्षक, विद्यार्थी, कर्मचारी सर्वसाधारण, हरेकलाई चुनाव लागिरहेको थियो । चुनाव मदिराको लतभन्दा पनि भयंकर हिसाबले लाग्दोरहेछ । हात हालाहालदेखि लिएर खुट्टो कुल्चिनेसम्मका गतिविधि पनि आँखै अगाडि देखिन्थे । पर बामनका डाँडा राति बस्तीमा कोही छिर्छन् कि भनि कुर्न गएको बेला यस्तो गीत आयो मनमा :

जन्मदेई मरन्जीसम्म नछोडेई ए अभाव!
मकन परदेशै निको किन आइथी चुनाव?

बरु परदेशमै कमाएर खान सजिलो । यो दुनियासँग न तिताबिरी । दुनियाँलाई यो गर यसो गर, फलानो गर, ढिस्कानो गर भनेर भन्नु भन्दा स्वाभिमानको कमाइ, काम गरेर खानु भारतका गल्लीहरूमा निकै सजिलो लाग्यो मलाई । 

जिन्दगी अनुभव हो, सबै कुराको अनुभव पनि लिनुपर्दो रहेछ । चुनावी अनुभव निकै गम्भीर तरिकाले मनमा बस्यो । मजस्ता निष्कलंक व्यक्तिहरूलाई चुनावले मौन बनाइदिँदो रहेछ । 

कति नयाँ साथीहरू, वर्गीय मित्रहरू जोडिए भने कति बचपनदेखि सँगै बसेका साथी भाइभान्जाहरू टाढा भए पनि । चुनावमा सहयोग गरेको/नगरेको असर व्यक्तिगत जिन्दगीमा समेत आउँदोरहेछ । एक/दुई जना नजिकका घनिष्ठ साथीहरूले चुनावको बेला फलानो पार्टीमा लागेको थियो त्यसको बर्थडे समेत विस गर्नु हुँदैन भनेको पनि सुनियो । निकै दया लाग्यो कि साथीहरूप्रति, जो सधैँ मेरा वरिपरि थिए । जाबो चुनावमै उनीहरू फरक पार्टीमा र म फरक पार्टीमा लागेकै कारण जन्मदिनको समेत शुभकामना दिनु हुँदैन भनेर भन्नसम्म भ्याए ।

निकै गर्मागर्मीको माहोलबीच चुनाव पनि सकियो । जित्नेहरूले जिते । शपथ लिए । हार्नेहरू झोंकमा थिए । र, आफू समर्थित व्यक्तिले हारेकोमा मतदाताहरूमा पनि चुनावको गर्मी निकै बढेको थियो । कतिपय मदिराको नशामा लठ्ठ थिए त कतिपय निराश देखिन्थे । चुनाव हारेको झोकमा एक दाइले गीत भन्यो-
बाठा रैछन् भोट हाल्न्या हराउन्या भन्नाइछन्!
यसोई भन्न सकिनैन भित्त भोट गन्नाइछन् !

वडा जितेकाहरूले फरक पार्टीका मान्छेका घर नजिकै लगभग लगभग आधा घण्टा, एक घण्टासम्म आफ्नो विजयी जुलुस मनाए । भन्न नहुने शब्दहरू भने । गाउँपालिका जित्नेहरूको त झन् भूइँमा खुट्टै थिएन । उनीहरूले पनि न्वारनदेखिको बल लगाएर देखाइदिए, ‘हामी पनि कम छैनौं भनेर !’

चुनावी समय सकियो । मैले निस्कनुपर्ने थियो । फेरि भारतका गल्लीहरूमा मजस्ता धेरै परदेशीहरू पसिना चुहाउनुथियो । रगत बगाउनुथियो । चुनावी माहोललाई थाँती राखेर आ-आफ्ना रूपसाइट झोलाहरू तयार गरेर हामी पुन: भारत प्रस्थान गर्‍यौं । फेरि परदेशतीर हानियौं । 

अहिले कोहीकोही गाउँपालिकातिर ‘जुम्रा हेरेर बसिरहेको’ खबर सुनिन्छ । ‘वडामा वडाका राजाहरू’ घोडा चढिरहेको सुनिन्छ । थाहा छैन यी कानहरूले अझ कहिलेसम्म के-के सुन्नुपर्ने हो !

salt training

कमेन्ट गर्नुहोस्