
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको सर्यै भएको छ । गत मंसिरको पहिलो साता हुने भनिएको प्रतियोगिता त्यो बेला हुन नसक्ने भएपछि चैत २३ गतेका लागि सारियो । अघिल्लोपटक मिति सार्दा पूर्वाधार निर्माणलाई कारण देखाइएको थियो । अहिले पूर्वाधार निर्माणको काम लगभग सकिएको छ । तर, फेरि प्रतियोगिता सारेर जेठमा पुर्याइएको छ ।
पछिल्लोपटक युवा तथा खेलकुद मन्त्रालयले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आउँदो जेठ ३ देखि १० गतेलाई तय गरेको छ । तर, यो मितिमा पनि प्रतियोगिता हुने/नहुने ढुक्क छैन । यसका केही प्राविधिक कारण छन् ।
दशौं खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद्ले ६० करोड बजेट पाएको छ । तर, यो बजेट नवौं खेलकुद प्रतियोगिताको जति मात्रै हो । जेठ महिनामा अत्यधिक गर्मी हुने अवस्था त छँदैछ, त्यसमाथि अर्थ मन्त्रालयले पोखराकै खर्च गरेको नम्समा बजेट खर्च गर्न परिषद्लाई भनेका कारण यही अवस्थामा कर्णालीमा खेलकुद प्रतियोगिता हुने सम्भावना कम रहेको जानकारहरू बताउँछन् ।
अब प्रतियोगिता शुरू हुन आइतबार समेत गरेर ७७ दिन मात्रै बाँकी छ । हालसम्म मन्त्रालयले राखेपलाई बजेट टुक्रा पारेर दिएको छैन । एकातिर सार्वजनिक खरिद ऐनले समस्या पार्ने देखिएको छ भने अर्कोतिर अर्थ मन्त्रालयको पुरानै नम्स अनुसार रकम खर्च गर्न दिएको निर्देशनले कर्णालीमा जेठमा प्रतियोगिता हुने/नहुने अन्योल छ ।
राखेपका खेलकुद महाशाखा प्रमुख गणेश गुरुङ भने बजेट टुक्रा पार्ने काम वैशाखमा भएपनि अर्थ मन्त्रालयले ६० करोड बजेट खर्च गर्न स्वीकृति दिइसकेका कारण समस्या नहुने बताउँछन् । तर, मन्त्रालयले दिएको नम्स अनुसार पोखरा र कर्णालीलाई एकै खर्चमा व्यवस्थापन गर्न भने नसकिने उनको स्वीकारोक्ति छ ।
यो पनि पढ्नुहोस्- कर्णाली रंगशाला निर्माणको जस लिन हानथाप, छैन चैतमा पनि दशौं खेल हुने छाँट !
पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यात्रा खर्चतर्फ ४५ लाख बजेट थियो । तर, एक करोड २० लाख खर्च भएको छ । बाँकी रकमको हालसम्म पनि व्यवस्थापन गर्न सकिएको छैन । उनले भने, ‘अब वीरेन्द्रनगरमा मात्रै सबै खेल हुने छैनन् । अन्य जिल्ला पनि जानुपर्ने होला । खेलाडीदेखि प्रशिक्षक अनि भीआईपी भीभीआइपीहरूलाई प्लेनमा ल्याउँदा लैजाँदा पोखरा र सुर्खेतको भाडादर नै मिल्दैन । बस भाडा मिल्दैन । सुर्खेतबाट खेलाडीलाई हुम्ला, जुम्ला, कालीकोट, मुगु, सल्यान आदि जिल्लामा लैजानुपर्ला । नवौं खेलकुदको नम्स अनुसार वयवस्थापन गर्न सकिँदैन ।’
गर्मी सिजनमा खेलकुद प्रतियोगिता गर्न समस्या हुने, त्यसैमा पोखराकै जस्तो तरिकाले खर्च गर्नू भनेर अर्थ मन्त्रालयले भन्दा प्रतियोगिता हुँदैन कि भन्ने संशय आमखेलाडीमा हुनु स्वाभाविक रहेको उनी बताउँछन् ।
‘गर्मीयाममा खेलकुद खेलाउँदा कसैको ज्यान जान सक्ला, अंगभंग पनि हुनसक्ला । भाडादर कम हुँदा खेलाडीहरू बाटोमा नै अलपत्र पर्न सक्लान । त्यस्तो अवस्थामा खेलकुद प्रतियोगितामा विवादै विवाद आउने सम्भावना देखिन्छ’, उनी भन्छन्, ‘यो समस्या समाधानका लागि अर्थ मन्त्रालयले नै पुनः आवश्यक नीति बनाउनुपर्छ । अहिलेकै हालतमा नवौं खेलकुदको जस्तै व्यवस्थापन गर्न मैले समस्या देखिरहेको छु ।’
यता, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने जेठ ३ गते नै भव्य रूपमा खेलकुद प्रतियोगिताको आयोजना उद्घाटन हुने दाबी गर्छन् । उनका अनुसार आइतबारसम्म बजेटको सबै प्रक्रिया टुंगिन्छ ।
‘यदि परिषद्ले नचाहेको खण्डमा बाहेक खेलकुद प्रतियोगिता रोकिँदैन’, उनले भने, ‘बरु त्यहाँ अत्याधिक गर्मी भएको खण्डमा केही खेल काठमाडौंमा नै खेलाउन सकिन्छ । कम से कम खेलाडी प्रतियोगितामा सहभागी गराएरै भएपनि प्रतियोगिता सम्पन्न गराउँछौं ।’
मन्त्री चौधरीले आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा गर्मीयाममै भएको बताउँदै नेपालगञ्जको जस्तो सुर्खेतमा गर्मी नहुने बताए । त्यसकारण अब प्रतियोगिता सञ्चालनको विषय नधकेलिने उनी बताउँछन् ।
सुर्खेतका होटल व्यवसायी चिन्तामणि शर्मा पौडेल वीरेन्द्रनगरमा जेठमा प्रतियोगिता गर्ने कुरा वैज्ञानिक नभएको टिप्पणी गर्छन् । मध्य जेठमा सुर्खेत गर्मीले बेहाल हुने उनको भनाइ छ ।
‘बत्तीको ताल यही हो । बत्ती बल्छ, पंखा चल्दैन । धारामा पानी ७२ घण्टामा १ घण्टा पालो आउँछ । उस्तैपरे धाराको पानीले मुख धुन पनि पुग्दैन । २४ घण्टा जेनेरेटर चलाएर पोहोर साल होटल सञ्चालन गरेको मेरो अनुभव छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘यस्तो मेगा कार्यक्रम जेठको महिनामा सुर्खेतमा कसरी सम्भव हुन्छ ? कार्यक्रम गरेर सुर्खेतलाई बदनाम गराउने यो मेसो त होइन ? जेठमा कार्यक्रम गर्ने नै हो भने १ सय ३२ केभी प्रसारणलाइन वैशाखभित्र सम्पन्न गर्नुपर्छ । खानेपानीको लागि खानेपानीका ट्यांकी नजिक बोरिङ खनेर पानीको व्यवस्था गर्नुपर्छ । होटलको स्तरीकरणमा प्रदेश सरकारले सहजीकरण गर्नुपर्छ ।