
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अनिवार्य अवकाशमा जाँदैछन् । २०७९ चैत १० गते मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी नेतृत्व सम्हालेका कुँवर झण्डै २ वर्ष कार्यकाल पूरा गरी ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका हुन् ।
७९ हजार ५ सय ४१ जना फौजको कमान्ड गर्ने आगामी नेतृत्व (३१ औं आईजीपी) कसको हातमा जाला ? यो चासो प्रहरी संगठनमा मात्रै नभएर आम सर्वसाधारणमा पनि छ ।
प्रहरी निरीक्षकमा भर्ना भएपछि प्रत्येक अधिकृतको चाहना प्रहरी नेतृत्वमा पुग्ने नै रहन्छ । तर, प्रहरी नेतृत्वको नियुक्ति उसको कार्यसम्पादन, मूल्यांकन, कार्यदक्षतासँग मात्रै जोडिँदैन । राजनीतिक इच्छा पनि व्यक्त हुँदै आएको यसअघिका विभिन्न नियुक्तिले देखाउँदै आएको छ ।
तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले अन्तिममा आएर कुँवरलाई आईजीपी नियुक्त गरेको थियो । माओवादी अध्यक्ष (पुष्पकमल दाहाल)ले नेतृत्व गरिरहेको सरकारले एआईजी श्याम ज्ञवाली (हाल अवकाश) लाई नियुक्त गर्ने चाहना राखेकोमा कांग्रेसले ‘ब्रेक’ लगाउँदै कुँवरलाई आईजीपीमा नियुक्त गर्न दबाब दिएको थियो ।
आईजीपी कुँवर राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवरका सहोदर भाइ समेत हुन् । कुँवरको नियुक्तिका लागि यो ‘फ्याक्टर’ ले पनि काम गरेको जानकारहरू बताउँछन् ।
आईजीपी कुँवरको अवकाशसँगै भावी नेतृत्वका लागि ३ जना एआईजीहरू प्रतिस्पर्धामा देखिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ प्रहरी नेतृत्वका लागि आफूलाई दाबेदार ठान्छन् ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा, गिरी र तामाङमध्ये थापा २०७९ चैत ६ मा वसन्त कुँवर (वर्तमान आईजीपी) सँगै एआईजीमा बढुवा भएका थिए ।
गिरी र तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । सिनियारिटीको हिसाबले थापा गिरी र तामाङभन्दा १८ दिनअघि एआईजीमा बढुवा भएका थिए ।
तर, सरकारले चाहेको अवस्थामा सिनियारीटीले बाधा नपुग्ने यसअघिको नियुक्तिले पनि देखाउँछ । तत्कालीन एआईजी विश्वराज पोखरेलभन्दा १६ महिना जुनियर रहेका अर्का एआईजी धिरजप्रताप सिंहलाई २०७९ वैशाखमा सरकारले आईजीपीमा नियुक्त गरेको थियो । सिंह आईजीपी भएपछि पोखरेल हेडक्वार्टर नै नटेकी बिदामा बसेरै अवकाशमा पुगे ।
प्रशासन र ‘फिल्ड कमान्ड’ मा बलिया थापा
‘मेरिट’ मा पहिलो नम्बरमा रहेका एआईजी थापासँग प्रशासनिक सँगै फिल्ड कमान्डको समेत अनुभव छ । प्रहरी निरीक्षक हुँदा काभ्रेको इलाका प्रहरी कार्यालय बनेपा र रौतहटको गरुडाको कमान्ड गरेका थिए ।
सशस्त्र द्वन्द्वमा भने उनी रुकुमस्थित इलाका प्रहरी कार्यालय मैकोटमा बसेर काम गरेका थिए । डीएसपी हुँदा २ वर्ष खोटाङ बसेका थापाले चुनौतीपूर्ण मानिएको प्रहरी वृत्त महाराजगञ्जको पनि कमान्ड गरेका थिए ।
एसपी हुँदा थापाले चितवन जिल्लाको कमान्ड गरे । सबै प्रहरी कर्मचारीको ‘कुण्डली’ हेर्ने कर्मचारी प्रशासन शाखामा समेत काम गरेका थापाले एसएसपी हुँदा आर्थिक प्रशासन महाशाखा प्रमुख भएर काम गरेको अनुभव छ ।
२०७७ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (पहिला अपराध महाशाखा) मा काम गरेका थापा डीआईजी भएपछि प्रधान कार्यालयकै प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख भएर काम गरे ।
एआईजीमा बढुवा भएपछि उनी प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयको इञ्चार्ज भए । अहिले उनी केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत छन् ।
‘खरो’ स्वभावबाट पहिचान बनाएका गिरी
मेरिटमा दोस्रो नम्बरमा रहेका एआईजी सुदीप गिरीसँग प्रहरीको विशेष ब्यूरोमा काम गरेको लामो अनुभव छ ।
उनी प्रहरीभित्र हक्की र खरो स्वभावका मानिन्छन् । उनी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । इन्स्पेक्टर बेसिकमा रहँदा उनी अलराउन्ड फस्ट हुन् । इन्सपेक्टरदेखि नै विशेष ब्यूरोमा काम गरेका उनले डीएसपी भएपछि पहिलो पोस्टिङ कालिमाटी वृत्तमा पाएका थिए ।
एसपी भएपछि उनले जिल्ला प्रहरी कार्यालय पर्सा र कैलालीको कमान्ड गरे । पर्सापछि पुनः विशेष ब्यूरोमै फर्किए । एसएसपीमा बढुवा भएपछि गिरी केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भए । ब्यूरोमा रहँदा उनलाई आकर्षक मानिने जिल्ला प्रहरी परिसर काठमाडौंको इञ्चार्ज बनाइएको थियो ।
डीआईजी भएपछि उनले विशेष ब्यूरो र कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएर काम गरे । एआईजी भएपछि उनी प्रदेश समन्वय विभागमा लामो समय काम गरे । हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् ।
सरल स्वभावका तामाङ
एआईजी टेकबहादुर तामाङ प्रहरी संगठनमा सरल स्वभावका मानिन्छन् । प्रहरी निरीक्षक भएर तामाङले आकर्षक पोस्टिङ पाएका थिए । इलाका प्रहरी कार्यालय फापरवारी, गजुरी, लैनचौर वृत्त र वडा प्रहरी कार्यालय सानेपामा काम गरेका तामाङसँग डीएसपी भएपछि अर्घाखाँची, खोटाङ, इलाका प्रहरी कार्यालय धरान र कालीमाटी वृत्तको इन्चार्ज भएर काम गरेको अनुभव छ ।
एसपीमा बढुवा भएपछि तामाङले जिल्ला प्रहरी कार्यालय बाँकेको कमान्ड सम्हालेका थिए । बाँकेबाट फर्किएर उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय काम गरे । एसएसपी हुँदा तालिमकेन्द्र विराटनगरमा र डीआईजीमा बढुवा भएपछि उनी पुनः अख्तियारमै प्रहरीको इन्चार्जको रूपमा काम गरेको अनुभव छ ।
एआईजी भएपछि तामाङ लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरे । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यरत छन् ।
दौडधूप जारी छ
एआईजीहरू थापा, गिरी र तामाङ तीनैजना आईजीपीमा नियुक्त हुन दौडधूपमा लागेका छन् । भक्तपुरका स्थानीय बासिन्दा थापाको हालका प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका नेतृत्वसँग राम्रो सम्बन्ध छ । वर्तमान आईजीपी कुँवरसँग पनि थापाको सम्बन्ध राम्रो छ । कुँवरले सम्बन्धकै आधारमा थापालाई राम्रो पोस्टिङ दिँदै आएका हुन् ।
वरीयतामा पहिलो नम्बरमा रहेको र राजनीतिक नेतृत्वसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेकाले थापालाई संगठनभित्रै र बाहिरकाले भावी आईजीपीको रूपमा हेरेका छन् ।
एआईजी गिरीको पारिवारिक विरासत बलियो छ । उनी पूर्वप्रधानन्यायाधीशका छोरा हुन् । नेपाली कांग्रेसनिकट भनेर चिनिएका गिरीलाई आईजीपी बनाउनुपर्ने भन्दै कांग्रेसका केही नेताले सभापति शेरबहादुर देउवासामु लबिङ गरिरहेका छन् ।
विशेष ब्यूरोमा लामो समय काम गरेका गिरीलाई नेतृत्वमा ल्याउन छिमेकका इन्टेलिजेन्स ब्यूरोले पनि लबिङ गर्न सक्ने आकलन गरिएको छ ।
अर्का प्रतिस्पर्धी तामाङले झापाका राजनीति दलका नेतामार्फत दबाब दिइरहेको सूचना छ ।
पूर्वडीआईजी देवीलाल तामाङका ज्वाइँसमेत रहेका एआईजी तामाङले एमाले नेतालाई मनाउन दबाब दिइरहेको बुझिन्छ ।
लामो समय अख्तियारमा बसेका एआईजी तामाङ अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईनिकट मानिन्छन् ।
उनै प्रमुख आयुक्त राईमार्फत आईजीपीका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिइरहेका छन् । तामाङलाई प्रहरीभित्र स्वच्छ छवि भएका अधिकृतको रूपमा लिइन्छ ।
विद्यमान प्रहरी नियमावलीले के भन्छ ?
प्रहरी नियमावली, २०७१ को नियम ४१ ले प्रहरी महानिरीक्षकको बढुवाको अधिकार नेपाल सरकारलाई दिएको छ ।
नियमावलीमा भनिएको छ, ‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ ।’