
अमेरिकाले उच्च ट्यारिफ लगाएपछि क्यानडा, मेक्सिको र चीनले कडा प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशानुसार आजदेखि क्यानडा, मेक्सिको र चीनविरुद्ध उच्च ट्यारिफ लागू भएको हो ।
यी देशबाट आयात हुने सामानमा उच्च कर लगाउने घोषणा ट्रम्पले यसअघि नै गरेका थिए । तर, कही समय स्थगित गरिएको निर्णय आजबाट लागू भएको हो ।
ट्यारिफ युद्धले विश्व अर्थतन्त्रमा असर पार्ने संकेत देखिएको छ भने वित्तीय बजार पनि अस्थिर भएका छन् ।
क्यानडाले ट्रम्प प्रशासनको निर्णयको कडा आलोचना गर्दै १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ ।
ओटावाले यो कदमलाई अमेरिका विरुद्धको ‘न्यायोचित प्रत्युत्तर’को रूपमा चित्रण गरेको छ । क्यानडाको यो कदमले अमेरिकी कृषि, स्टिल तथा आल्मुनियम उद्योगलाई असर गर्ने अनुमान गरिएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी कदमलाई अन्यायपूर्ण र अनावश्यक व्यापार नीतिको उदाहरण भन्दै यसको प्रभाव अमेरिकी उपभोक्तामा पनि पर्ने बताएका छन् ।
ट्रुडोले क्यानडाली उद्योगलाई सुरक्षा प्रदान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
चीनको प्रत्युत्तर
चीनले पनि अमेरिकाबाट आयात हुने विभिन्न कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्मको ट्यारिफ लगाउने घोषणा गरेको छ ।
यो निर्णयले अमेरिकी किसानलाई प्रत्यक्ष रूपमा असर गर्नेछ, जसले पहिल्यै चीनलाई प्रमुख निर्यात बजारको रूपमा लिएर उत्पादन गर्दै आएका छन् ।
साथै, चीनले अमेरिकाका विभिन्न कम्पनीमाथि पनि कडा कदम चाल्न सक्ने संकेत गरेको छ । चिनियाँ सरकारका प्रवक्ताले अमेरिकी व्यवसायलाई लक्षित गर्दै थप नियमनको दायरा बढाउने चेतावनी दिएका छन् ।
यसले अमेरिकी टेक्नोलोजी र अटोमोबाइल उद्योगमा ठूलो असर पार्ने विश्लेषकहरूले बताएका छन् ।
व्यापार तनावको बीचमा राष्ट्रपति ट्रम्पले चीनमाथि लगाइएको ट्यारिफ दर दोब्बर गर्दै थप २० प्रतिशत पुर्याएका छन् ।
उनले चीनमाथि अमेरिकी भूमिमा गैरकानुनी लागूऔषध, विशेषगरी फेन्टानाइलको तस्करी रोक्न नसकेको आरोप लगाएका छन् ।
'चीनले फेन्टानाइल रोक्न केही पनि गरेको छैन । हाम्रा नागरिकहरू लागूऔषधका कारण मरिरहेका छन् । अब हामी थप कदम चाल्नेछौं,' ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत बताए ।
ट्रम्प प्रशासनले ट्यारिफ निर्णयलाई क्यानडा र मेक्सिकोबाट हुने गैरकानुनी आप्रवासन रोक्न आवश्यक उपायको रूपमा प्रस्तुत गरेको छ ।
ट्रम्पले क्यानडा र मेक्सिकोले अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको संख्या घटाउन अझ बढी काम गर्नुपर्ने बताएका छन् ।
वैश्विक वित्तीय बजारमा असर
व्यापार युद्धले विश्वभरका वित्तीय बजारमा अस्थिरता निम्त्याएको छ । अमेरिकी शेयर बजारमा गिरावट देखिएको छ भने एसियाली बजार पनि अस्थिर बनेका छन् ।
विशेषज्ञहरूले अमेरिकी उपभोक्ताले व्यापार युद्धको असर महसुस गर्ने बताएका छन् । अमेरिकी बजारमा दैनिक उपभोग्य सामानहरू महँगो हुने सम्भावना रहेको र आयातमा निर्भर रहेका उद्योगमा उत्पादन लागत बढ्ने अनुमान गरिएको छ ।
'यदि यो व्यापार युद्ध चर्कियो भने अमेरिकी उपभोक्ताहरूले इलेक्ट्रोनिक्स, अटोमोबाइल, खाद्यान्न र लुगा-जुत्तासम्मको मूल्य वृद्धिको सामना गर्नुपर्नेछ,' एक अर्थशास्त्रीको भनाइ उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्प प्रशासनले अपनाएको व्यापार नीति अमेरिकाको परम्परागत खुला बजार अवधारणासँग बाझिने देखिएको छ । ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत ट्रम्पले अमेरिका केन्द्रित व्यापार सम्झौताको मात्र वकालत गरिरहेका छन् ।'
विश्लेषकहरूले यस्तो नीति दीर्घकालीन रूपमा अमेरिकाकै उद्योगका लागि हानिकारक हुन सक्ने चेतावनी दिएका छन् ।