![एक्लो छोराको हालत देखेर भक्कानिन्छिन् निर्मला [भिडियो रिपोर्ट]](https://lktcdn2.prixacdn.net/media/Fullscreen_capture_342025_103629_PM_xjF2F9Wmwh.jpg)
कीर्तिपुर अस्पतालस्थित साइमन वाडको क्याबिन नम्बर १२ । सोमबार मोरङको बेलबारीकी निर्मला पोखरेल भित्रबाहिर गर्दै थिइन् । उनको मलिन अनुहारले अनेक वेदना बोलिरहेको थियो । झण्डै एक महिना भयो, निर्मलाको एक मात्र सहारा मनिषले अत्यासलाग्दो नियति भोगेको ।
गत माघ २४ गते, काठमाडौंको कमलपोखरीस्थित शानदार मःममा ग्यास लिक भएर लागेको आगोको लप्कामा छोरा परेदेखि उनको मन शान्त हुन सकेको छैन । उनका आँखा ओभाएका छैनन् । छोराको जलेको शरीर देखेर बेलाबेलामा भक्कानिन्छिन् ।
निर्मलाले भोगेको दुःखको फेहरिस्त निकै लामो छ । आर्थिक अवस्था कमजोर भएका कारण उनका श्रीमान् मलेसिया गएका थिए । त्यतिबेला मनिष १० महिनाका थिए । १६ वर्षअघि गएका श्रीमान् कहिल्यै फर्किएनन् । छोराछोरीको भविष्य उज्ज्वल बनाउन भनेर बिदेसिएका श्रीमान् कोरोनाको सिकारमा परे ।
मुगलानपारिबाट श्रीमान्को मृत्युको खबर मात्रै आयो, शवसमेत देख्न पाइनन् । छोरालाई माइतीको भरोसामा छाडेर निर्मलाले पनि खाडी मुलुकमा निकै संघर्ष गरिन् । आर्थिक अवस्था बलियो नभएकाले छोरालाई उच्च शिक्षा दिन नसकेकोमा पीडा त थियो नै, अहिले छोराको अवस्था देखेर निर्मलाले मन थाम्न सकेकी छैनन् ।
१८ वर्षका भए मनिष । पढ्ने पैसा नभएपछि ११ कक्षामै पढाइ छाडे । विगत १५ महिनादेखि सानदार मःममा वेटरको काम गर्थे, त्यहीँ सुत्थे । थोरै भएपनि आफ्नो कमाइमा खुशी नै थिए, मनिष । त्यहाँबाट काम सिकेर आफू पनि होटेल लाइनमा लगानी गर्ने सपना बोकेर काठमाडौँ छिरेका थिए । तर, मनिषको दृढ सङ्कल्पमा ब्रेक लाग्यो । अचार लिन भान्सामा गएका बेला ग्यास विस्फोट भयो । मनिष कसरी र कतिबेला बाहिर निस्किए, उनलाई राम्रोसँग याद पनि छैन । आगोको लप्काले उनको अनुहार, पेट, खुट्टा जताततै जलेको छ । हाल क्रमिक सुधार भइरहेको छ । आमा र आफ्नो सपनाको झोला बोकेर काठमाडौँ आएको दिन सम्झँदै मनिष भन्छन्, समय र परिस्थितिका कारण कति रहरहरू मार्नुपर्दो रहेछ ।
निर्मलालाई फोक्सोसम्बन्धी रोगले च्यापेको ३ वर्ष भयो । उनको फोक्सोमा सङ्क्रमण भएर एकापट्टिको भाग सुकिसकेको चिकित्सकले बताएका थिए । त्यसयता नियमित खाँदै आएको औषधि पनि आर्थिक अभावका कारण छाड्नुपरेको उनको भनाइ छ । उनलाई अहिले खोकी लागिरहन्छ ।
छोरीको बिहे भइसकेको छ । एउटै सहारा छोराले पनि यस्तो नियति खेप्नुपरेपछि निर्मलाले केही सोच्न सकेकी छैनन् । हालसम्मको उपचार खर्च त होटेल सञ्चालकहरूले हेरिदिएका छन् । डिस्चार्जको तयारी गरिरहेका चिकित्सकले आगामी एक वर्षसम्म फलोअपमा आइरहनुपर्ने बताएका छन् ।
मनिषसँगैको बेडमा लडिरहेका थिए, उदयपुरगढी– १ रातमाटेका २० वर्षीय यसकुमार घले । १२ कक्षा पढेर जागिरको खोजीमा काठमाडौँ आएका घलेले यस्तो दिन बेहोर्नुपर्ला भनेर कल्पनासमेत गरेका थिएनन् । कोही मैदा मुछ्दै, कोही अचार बनाउँदै, त कोही खाजा बनाउँदै दिए । सबै जना आ–आफ्नो काममा तल्लीन भएका बेला एकाएक विस्फोटको आवाज सुने । यसकुमारले चारैतिर अन्धकार देखे । माघ २४ गते उनका लागि पनि कालो दिन हुन पुग्यो ।
उनको पनि शरीरको अधिकांश बाहिरी भाग आगोले जलेको छ । हाललाई शरीरमा केही सुधार त देखिएको छ, तर भोलि सङ्क्रमण झनै बढ्ने हो कि भन्ने पिरलो छ । अस्पताल र होटेल सञ्चालकले डिस्चार्जको तयारी गरेता पनि यसकुमारलाई भने अस्पतालमै बसेर घाउ निको बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ । चिकित्सकले घरमा बसेर पनि आराम गर्न सकिने बताएका छन् ।
गरिबीका कारण कामको खोजीमा राजधानी छिरेका उनीहरूले अबका दिनमा के गर्ने, कसो गर्ने, केही सोच्न सकेका छैनन् । उनीहरूले आफू पहिलेकै जस्तो अवस्थामा नपुगुन्जेल होटेल सञ्चालकले सहयोग गर्नुपर्ने माग राखेका छन् । कमाउने शरीर अशक्त बनेका कारण उनीहरूले सरकारको सहयोगको पनि अपेक्षा राखेका छन् ।
कमलपोखरीस्थित सानदार मःममा १५ जना कार्यरत रहेकोमा १ जना घर गएको र ३ जना बाहिर भएकाले उनीहरू भाग्यले जोगिए । तर, ११ जना ग्यास विस्फोटमा परे ।
शरीरको धेरै भाग जलेका कारण ४ जनाले उपचारको क्रममा ज्यान गुमाउनुपर्यो । एक जनाको आईसीयूमा उपचार भइरहेको छ । पाँचजना वार्डमा उपचाररत रहेकोमा पाँचैजनाको सोमबार साँझ डिस्चार्ज भएको छ ।