पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजतन्त्र समर्थकले गरेको प्रदर्शनका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र दिनभर प्रभावित बन्यो । विमानस्थल क्षेत्रमा भएको प्रदर्शनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन नै प्रभावित बन्यो ।
अपराह्न झण्डै ४ बजे काठमाडौं आइपुगेका पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थक मध्याह्न १२ बजेअगावै विमानस्थल पुगेका थिए । तीनकुनेदेखि गौशालासम्मको क्षेत्रबाट राजावादीहरू विमानस्थलको गेटमा आएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा विभिन्न राजावादी संगठनले त्रिभुवन विमानस्थल बाहिर प्रदर्शन गरेका थिए । पूर्वराजाको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयं विमानस्थल पुगेका थिए ।
राजतन्त्र फर्काउने आन्दोलन गरिरहेका व्यवसायी दुर्गा प्रसाईं समर्थक पनि विमानस्थल पुगेका थिए । राजावादीको प्रदर्शनका कारण विमानस्थल प्रवेशमा कडाइ गरिएको थियो ।
विमानस्थलबाहिर विभिन्न समूहले पूर्वराजा ज्ञानेन्द्रलाई बाजागाजासहित स्वागत गरेका थिए । विमानबाट ओर्लेर निजी गाडीमा आएका पूर्वराजा शाहले गाडीको रूफटपबाट समर्थकलाई अभिवादन फर्काएका थिए ।

त्यसपछि पूर्वराजालाई र्यालीसहित निर्मल निवासतर्फ लगिएको थियो । ज्ञानेन्द्रको स्वागतमा उपस्थितहरूले राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका थिए ।
विमानस्थलबाहिर राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले समर्थकलाई सम्बोधन गर्दै राजतन्त्रको पक्षमा अभुतपूर्व जनसमर्थन सडकमा देखिएको बताए ।
राष्ट्रिय झण्डासहित उपस्थित प्रदर्शनकारीले गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । पूर्वराजाका समर्थकलाई विमानस्थल प्रवेश गर्ने गेटमा रोकिएको थियो ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको वक्तव्यबाट हौसिएका राजतन्त्र पक्षधरले पूर्वराजा काठमाडौं फर्किंदा स्वागत गर्ने निर्णय गरेका थिए ।
निजी भ्रमणको शिलशिलामा पोखरा र पश्चिम नेपालका जिल्लामा रहेका ज्ञानेन्द्र शाह आइतबार काठमाडौं फर्केका हुन् । पूर्वराजावादीको आन्दोलनलाई लिएर प्रमुख दलहरूले चिन्ता व्यक्त गरेका छन् ।

हेर्नुहोस्, भिडियो :