
पोखराको पर्यटकीयस्थल फेवाताल छेउमा मानव सेवा फाउन्डेसनले महिना दिन लामो समयसम्म कोटीहोम गर्ने भनेपछि उत्पन्न विवाद समाधानोन्मुख भएको छ ।
कोटीहोमसँग जोडिएको संवेदनशीलतालाई मध्यनजर गर्दै सोमबार त्रिपक्षीय बैठक भयो । जिल्ला प्रशासन, महानगर र फाउन्डेसनबीच भएको उक्त छलफलपछि विवाद समाधानोन्मुख भएको हो ।
वार्तामा महानगरले राखेको प्रस्ताव अनुसार कोटीहोम गर्नका लागि स्थान फेरबदल गर्ने विषयमा प्रारम्भिक सहमति जुटेको छ । महानगरभित्र कोटीहोम गर्ने दिने विषयमा सहमति जुटेपनि स्थानका विषयमा भने अन्तिम निर्णय भइसकेको छैन । जसका लागि मंगलबार समिति बनाइने भएको छ ।
कोटीहोमको विवाद चर्किनु अगाडिदेखि नै महानगर प्रमुख धनराज आचार्यले तालछेउ उपयुक्त स्थान होइन भन्दै आएका थिए । यता, विवादित धर्मगुरु विजय कृष्णमूर्ति भनिने विजय भण्डारीले निर्धारित मिति र स्थानमा जसरी पनि कोटीहोम गर्ने अभिव्यक्ति दिएका थिए । तोकिएको स्थानमा फाउन्डेसनले भूमि पूजा समेत गरिसकेको छ । सोही क्रममा शुक्रबार महानगर प्रहरीसँग झडप हुँदा ११ जना नगर प्रहरी घाइते भएका थिए ।
स्थिति झडपसम्म पुगेपछि सोमबार त्रिपक्षीय वार्ता गरेर समाधानका लागि पहल थालिएको हो ।
तालछेउ कोटीहोमका लागि उपयुक्त स्थान नभएको महानगर प्रवक्ता मोतिलाल तिम्सिता बताउँछन् । यद्यपि, आजको बैठक स्थानका लागि भोलि कार्यपालिकामा छलफल गर्नेगरी टुंगिएको उनले बताए । त्यसपश्चात् कोटीहोम कहाँ गर्ने भ्ने टुंगो लाग्ने प्रवक्ता तिम्सिनाले बताए ।
‘त्यो ठाउँ पर्यटकीय ठाउँ हो । त्यहाँ स्वीकृति हुँदैन भन्ने हाम्रो कुरा छ । अरु वैकल्पिक ठाउँमा कहीँकतै गर्न नपाउने भनेका छैनौं । वैकल्पिक विषयमा हामी बसेर छलफल गर्छौं । कार्यपालिका बैठक बसेपछि छलफल हुन्छ’, प्रवक्ता तिम्सिनाले भने ।
यसअघि कार्यपालिकाले बैठकले फेवातालछेउ कोटीहोम गर्नका लागि उपयुक्त स्थान नभएकाले कार्यक्रमको स्वीकृति नदिने निर्णय गरेको थियो । यस विषयमा भोलि थप छलफल हुने उनले बताए ।
फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्तिका अनुसार स्थानका विषयमा सहमति नभएकाले पाँच सदस्यीय समिति बनाउने सहमति भएको छ। कार्यपालिका बैठकपछि मंगलबार पाँच सदस्यीय समिति बनाएर स्थान तोक्ने वा समयावधि हेरफेर गर्ने उनले बताए ।
‘कोटीहोमको विषयमा भोलि पाँच सदस्यीय समिति बनाउने भन्ने भएको छ । त्यो स्थान उपयुक्त हो वा होइन ? अथवा, त्यहाँबाट वरपर गर्न सकिन्छ सकिन्न ? गर्नुपर्ने अवस्थामा त्यो जमिन वास्तुशास्त्रका हिसाबले ठीक हुन्छ कि हुँदैन’, कृष्णमूर्तिले भने, ‘यी सबै कुरा छन् । तर, तीनदेखि पाँच दिनभित्र कार्यक्रम हुने भयो भनेर निर्धक्क छौं । यो कार्यक्रम फाउडेन्डसनको मात्र नभएर सबैको हो ।’