३० असार २०८३, मंगलबार
वैदेशिक व्यापार असन्तुलन

शून्य भन्सार भएका बस्तु निर्यात पनि निराशाजनक

फागुन २९, २०८१
काठमाडौं
शून्य भन्सार भएका बस्तु निर्यात पनि निराशाजनक

चीनबाट आयात हुने मालसामान बर्सेनि बढ्दै गएको छ । तर, निर्यातको हिस्सा भने जस्ताको तस्तै छ । चीनबाट खर्बौं रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट दुई/अढाइ अर्बभन्दा बढीको मालसामान निर्यात हुन सकेको छैन । 

१० वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा चीनबाट ९९ अर्ब २८ करोड १४ लाख २९ हजार रुपैयाँको वस्तु आयात भएको थियो । जुन आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख ४४ हजार पुगिसकेको छ । १० वर्षमा चीनबाट आयात हुने वस्तु करिब तीन गुणाले बढेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

नेपाल र चीनबीच व्यापार हुने ६ वटा नाकाहरू छन् । तातोपानी, केरुङ, किमाथांका, कोरला, यारी र ओलाङचुङगोला । तर, हालसम्म तातोपानी र केरुङ (रसुवा)बाट मात्रै आयात–निर्यात हुँदै आएको छ । 

नेपाल र चीनबीच सीमा सन्धिदेखि, बीआरआई, पारवहन, जलविद्युत, केनेक्टीभिटी, यातायात, काल संस्कृति, खेलकुद, कृषिलगायत विभिन्न सम्झौता भएका छन् । नेपालबाट जाने ९ हजार ३० वटा वस्तुहरूमा चीनले शून्य भन्सारको सुविधा दिएको छ । यो सुविधा चीनले २०६३ सालदेखि नेपाललाई दिँदै आएको हो । तर, पनि सन्धि र सम्झौताअनुसार नेपालले व्यवसायिक लाभ लिन सकेको छैन ।

१० वर्षअघि आर्थिक वर्ष २०७१/७२ मा नेपालबाट २ अर्ब ६ करोड ७ लाख २२ हजारको वस्तु चीनतर्फ निर्यात भएको थियो । जुन आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा २ अर्ब ५८ करोड ८६ लाख १४ हजार पुगेको छ । तर, एक दशकको अवधिमा नेपालबाट चीन निर्यात निरन्तर घट्दो छ । कुनैकुनै वर्ष त चीनमा ८० करोड देखि १  अर्बको मात्रै वस्तु निर्यात भएको देखिन्छ । 

null
चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक हो । नेपालले खाद्यान्नदेखि घरेलु उत्पादन निर्यात गर्दै आएको छ । नेपालबाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैँचालगायत वस्तुहरू निर्यात हुँदै आएको छ । चीनसँग मात्रै होइन देशको कूल वैदेशिक व्यापारमै वर्षौंदेखि ठूलो खाडल छ । 

सरकारले हरेक वर्ष निर्यात वृद्धि गर्न रणनीतिहरू अगाडि सार्दै आएको छ । सरकारले निर्यातमा शून्य भन्सार, निर्यात अनुदान, उत्पादनमा सहुलियतलगायत विभिन्न नीतिहरू ल्याउँदै आएको छ । 

किन बढ्न सकेन निर्यात ?
निकासी गर्ने वस्तुको पहिचान र उत्पादनमा केन्द्रित नभएकाले निर्यात बढ्न नसेकेको अर्थविद्हरू बताउँछन् । कानुनी रूपमा पनि एक अर्कासँग बाझिने समस्याहरूले आन्तरिक उत्पादनले बाह्य बजारसँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूको भनाइ छ ।

सरकारले विश्व बजारमा प्रतिस्पर्धा गर्ने वस्तुहरू पहिचान गर्न नै नसकेको नेपाल हिमालयन सीमापार व्यापार सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँछन् । सरकारी पक्षबाट मात्रै व्यापारिक सम्झौता गर्ने तर, व्यापारिक दृष्टिकोणबाट रणनीतिहरू नबनाउने गरेको उनको भनाइ छ । 

‘सरकारले व्यापारिक सम्बन्धका लागि सम्बन्धित राष्ट्रमा सरकारी पक्षबाट मात्रै सम्झौता गर्ने गर्दछ तर, विश्व बजारमा के छ ? के को माग छ ? निर्यात गर्न कत्तिको सहज छ ? लागत कति छ ? सबै कुरा हेरेको हुँदैन’, उनले भने, ‘भन्सारमा सहुलियत दिएर मात्रै निर्यात बढ्दैन । नेपालबाट निर्यात नै नहुने वस्तुहरूमा शून्य भन्सार दिएर हुँदैन ।’ परम्परागत वस्तुभन्दा अत्याधुनिक र क्वालिटीको उत्पादन नेपालले दिन सक्नुपर्ने उनी बताउँछन् । 

नेपालबाट सबैभन्दा बढी निर्यात हुने मुलुक कुन–कुन हुन् ? 
नेपालबाट सबैभन्दा बढी निर्यात हुने राष्ट्र भारत हो । नेपालबाट निर्यात हुने वस्तुको झन्डै ६० प्रतिशत बढी हिस्सा भारतले ओगटेको छ । 

चालू आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क हेर्दा पनि भारत नै शीर्ष स्थानमा देखिन्छ । माघ महिनासम्म भारतमा सबैभन्दा बढी ३२ अर्ब ४१ करोड ५७ लाखको सोयाबिन आयल निर्यात भएको छ । त्यस्तै, ६ अर्ब ५७ करोड ६७ लाखको सनफ्लावर आयल, ५ अर्ब ३८ करोड ८० लाखको ठुलो अलैंची, ३ अर्ब १० करोड १० लाखको पोलिस्टर एकल धागो र ३ अर्ब ११ लाख बराबरको कालो चिया निर्यात भएको देखिन्छ ।

नेपालबाट सबैभन्दा बढी वस्तु निर्यात हुने राष्ट्रको दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा चालू आर्थिक वर्षको सात महिनामा ३ अर्ब ८९ करोड ५२ लाख बराबरको कार्पेट, १ अर्ब ८३ करोड ३९ लाखको डगच्यू, ९५ करोडको फेल्ट, ३६ करोड ३३ लाखको ट्राउजर र ३१ करोडको शल, स्कार्फ र मफलर निर्यात भएको देखिन्छ । 

बढी वस्तु निर्यात हुने राष्ट्रको तेस्रो स्थानमा जर्मनी छ । जर्मनीमा सबैभन्दा बढी ५८ करोड ६० लाखको सल, स्कार्फ र मफलर, ३८ करोड ९१ लाखको कार्पेट, ३२ करोड १६ लाखको फेल्ट, २७ करोड ५० लाखको जर्सी र १४ करोड १६ लाखको ट्राउजर निर्यात भएको तथ्याङ्कले देखाउँछ । 

सबैभन्दा बढी आयात हुने राष्ट्रको दोस्रो स्थानमा चीन निर्यातमा भने चौथो स्थानमा छ । चालू आर्थिक वर्षको सात महिनामा चीनमा ८० करोड ७५ लाखको कार्पेट निर्यात भएको छ । त्यस्तै, यस अवधिमा चीनमा ३३ करोड १८ लाखको किचेन टेबल सामग्री, १० करोड ४३ लाखको धातुको मुर्ति, १० करोड ४१ लाखको फेल्ट र ८ करोड ७१ लाख रुपैयाँको ट्रेसिङ कपडा निर्यात भएको छ ।

नेपालबाट सबैभन्दा बढी वस्तु निर्यात हुने राष्ट्रको पाँचौँ स्थानमा युके अर्थात् बेलायत रहेको छ । चालू आर्थिक वर्षको सात महिनामा यूकेमा सबैभन्दा बढी ३३ करोड ४२ लाखको फेल्ट, २९ करोड ९१ लाखको जर्सी, २९ करोड ८७ लाखको कार्पेट, १६ करोड ३५ लाखको ट्राउजर र १६ करोड ३३ लाखको शल, स्कार्फ र मफलर निर्यात गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्