३२ असार २०८३, बिहीबार
स्ववियु चुनाव

स्ववियु चुनावको नतिजा– निर्विरोधमा अनेरास्ववियु पहिलो, पछिपछि नेविसंघ र क्रान्तिकारी

फागुन २९, २०८१
काठमाडौं
स्ववियु चुनावको नतिजा– निर्विरोधमा अनेरास्ववियु पहिलो, पछिपछि नेविसंघ र क्रान्तिकारी

स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियु अगाडि देखिएको छ । 

उम्मेदवारी मनोनयनमा निर्विरोध भएका ८४ क्याम्पसमध्ये ३२ वटा क्याम्पसमा जीत हात पार्दै अनेरास्ववियु पहिलो स्थानमा छ । 

कांग्रेसनिकटको नेविसंघले २८ वटा कलेज जित्दा माओवादीनिकटको अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा निर्विरोध सभापति जितेको छ । नेकपा एकीकृत समाजवादीनिकटको अनेरास्ववियुले एउटा क्याम्पसमा जितेको छ । 

३२ क्याम्पस जित्ने क्रममा अनेरास्ववियुले बागमतीमा ८, लुम्बिनी र सुदूरपश्चिममा ७/७, कोशीमा ४ तथा गण्डकी र कर्णालीमा ३ क्याम्पस जितेको हो । 

नेविसंघले लुम्बिनीमा सबैभन्दा धेरै ९ वटा क्याम्पसमा जितेको छ । यसबाहेक नेविसंघले बागमतीमा ७, सुदूरपश्चिम र कर्णालीमा ४/४, कोशीमा ३ र गण्डकीमा एउटा क्याम्पस जितेको छ । 

क्रान्तिकारीले कर्णालीमा सबैभन्दा बढी ९ वटा क्याम्पसमा जितेको छ । बागमतीमा ७, सुदूरपश्चिममा २, कोशी, लुम्बिनी र मधेशमा १/१ क्याम्पस जितेको छ । 

आंगिक क्याम्पसमध्ये नेविसंघले दाङको महेन्द्र बहुमुखी क्याम्पस र अनेरास्ववियुले धनकुटा बहुमुखी क्याम्पस जितेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले अहिलेसम्म सर्वसम्मत भएका ठाउँमा आफूहरू हावी भएको बताए । 

‘निर्विरोध अध्यक्ष चयन भएकामा हाम्रो संगठन अगाडि छ । चुनाव हुँदा पनि हामी पहिलो हुन्छौं भन्ने हाम्रो विश्वास छ,’ बडालले लोकान्तरसँग भने, ‘अखिलले जित्ने भएपछि नेविसंघ तालाबन्दीमा उत्रिएको छ, जसले त्रिविलगायत अन्यत्र असर गरेको छ । तर, हामी सबैमाथि हावी हुन्छौं ।’

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पनि अहिले निर्विरोधमा पछि परे पनि आफ्नो संगठन पहिलो हुने दाबी गरे । ‘निर्विरोध भएकामा हामी एकदुई संख्याले पछाडि परेका छौं,’ शेर्पाले भने, ‘तर, निर्वाचन भएपछि नेविसंघ पहिलो हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले २५/२६ जिल्लामा सत्तारुढ दलका नेविसंघ र अनेरास्ववियु मिले पनि आफूहरू कमजोर नहुने बताए । 

‘घोषणा भएका ८१ वटा र बाँकीमा गरी २५ वटामा हामी निर्विरोध भएका छौं,’ सापकोटाले लोकान्तरसँग भने, ‘२५/२६ जिल्लामा सत्तारुढ दलका संगठन नेविसंघ र अनेरास्ववियु मिलेका छन् । एकाध ठाउँमा हामी पनि मिलेका छौं । तर, हामी आत्तिनुपर्ने अवस्था छैन । एक्लै चुनाव लड्दा पनि हाम्रो नतिजा राम्रो आउँछ भन्ने हाम्रो विश्वास छ ।’ 

नेविसंघविरुद्ध त्रिचन्द्र कलेजमा अनेरास्ववियुसहितका संगठनसँग क्रान्तिकारी मिलेको उनले बताए । 

सबै संगठनबीच तालमेल

सत्तारुढबीच मात्रै होइन, कुनै जिल्लामा प्रमुख सबै संगठनले तालमेल गरेका छन् । काभ्रेका १५ क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीले भागबण्डा गरेका छन् । 

बझाङको आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीबीच नै तालमेल भएको हो । 

सभापतिमा क्रान्तिकारीका वम धामी निर्विरोध हुँदा नेविसंघका वविन सिंह उपसभापति बनेका छन् । अनेरास्ववियुकी शान्ति बोहोरा सचिव बनेकी छिन् । 

तर, बझाङकै सेती बहुमुखीमा अनेरास्ववियु र नेविसंघसँग तालमेल भएको छ । 

अझै केही क्याम्पसमा तालाबन्दी

विभिन्न संगठनले गरेको तालाबन्दीले अझै पनि क्याम्पसको निर्वाचन प्रभावित हुने देखिएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस, शंकरदेव, पद्मकन्या, पब्लिक युथसहितमा अझै तालाबन्दी नखुलेको क्रान्तिकारीका अध्यक्ष सापकोटाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्