०४ साउन २०८३, सोमबार

देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने काम गरौं- अर्थसचिव उपाध्याय

चैत ४, २०८१
काठमाडौं
देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने काम गरौं- अर्थसचिव उपाध्याय

अर्थसचिव घनश्याम उपाध्यायले देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने काम गर्नुपर्ने बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र  उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउनु पर्नेमा उनको जोड छ । 

आमनागरिकलाई कसरी कोषमा आबद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उनले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने बताए । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै जानेछ भन्ने अर्थसचिव उपाध्यायको अपेक्षा छ । 

कोष सञ्चालक समितिका अध्यक्ष प्राडा.सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत् मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिए ।

null

आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाह सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनले बताए । 

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले २ करोड ४४ लाख रूपैयाँको चुक्ता पूँजीबाट शुरू भएको कोषको अहिले चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको बताए । कोषमा आवद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झटरहित सेवा र कोषको हिसाब किताब चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उनले बताए । 

कोषले लगानी विविधिकरणमा सघाउ पुग्नेगरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको र आवश्यकता अनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पूँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले बताए । 

चालु आवको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रूपैयाँ रहेकोमा मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्रेजरी बिल एवं संगठित संस्थाको सेयर/धितोपत्र लगायतमा २ खर्ब ६४ अर्ब रूपैयाँ लगानी रहेको उनले जानकारी दिए ।

कार्यकारी निर्देशक कार्कीले कोषको वार्षिक साधारणसभा निर्दिष्ट समयमा सम्पन्न गरिएको, कर्मचारी विनियमावली नेपाल सरकारबाट स्वीकृत भई आइसकेको हुँदा कर्मचारीहरूको वृत्ति विकासको कार्य प्राथमिकताका साथ अघि बढाइने हुँदा उत्प्रेरित भई काम गर्न आग्रह गरे । 

null

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । ढकालले त्यस्ता कोषहरूको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नुपर्नेमा जोड दिए ।

उनले लगानी कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए । 

कोषको पूर्वअध्यक्ष डा.भोजराज घिमिरेले कम जनशक्तिले २७३ अर्ब रूपैयाँको फन्ड सञ्चालन गर्नु भनेको ठूलो उपलब्धि भएको बताउँदै कोषले अझ आफूलाई अगाडि लानुपर्ने धारणा राखे । 

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले कोषसँग सम्बन्धित विषयलाई सम्बोधन गर्न कोष व्यवस्थापन र नेपाल सरकारसँग आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्