
मोरङको सुनवर्षी नगरपालिका–५ का किसान शंकरप्रसाद सिंह सोमबार दिउँसो मकैमा रासायनिक मल छर्दै थिए । मकैमा मल छर्न ढिला भएको भन्दै उनी आक्रोश पोखिरहेका थिए । उनको आक्रोश सरकारसँग थियो र कारण समयमै मल नपाउनु नै हो । समयमा मल नपाउँदा मकैमा दाना कम लाग्ने चिन्ता उनलाई रहेछ ।
उनले बारीमा छरेको मल पनि सरकारले खरिद गरेको अनुदानवाला होइन । भारतबाट महँगोमा खरिद गरेर मकैमा मल छरेको उनले सुनाए । ५ सय रुपैयाँ बोरामा नेपालमै पाइने मल २३ देखि २५ सय रुपैयाँसम्म तिरेर बिचौलियामार्फत् ल्याउन लगाएको उनले बताए । ‘भारतबाट मल ल्याउन भारतीय प्रहरीले नै रोक्छ,’ उनले भने ‘नेपालको जस्तो राम्रो पनि छैन । त्यही पनि तीन गुणा महँगो हालेर किन्नु परेको छ ।’
मल हाल्न ढिला हुँदा दाना लाग्दैन भन्ने चिन्ता थपिएको उनले बताए । ‘किसानी जीवन सधैं कठिन नै देखिन्छ,’ सिंहले आक्रोशपूर्ण स्वरमा भने, ‘एक बोरा मल ८०० रुपैयाँमा पाइनु पर्ने हो, अहिले हामीले २ हजार ३०० रुपैयाँमा किन्नु पर्ने बाध्यता छ । यस्तो महँगाइमा कसरी खेती गर्ने ?’
मलको अभाव र असाध्यै महँगो मूल्यले लागत धेरै बढेको उनको गुनासो छ । समयमा मल नपाउने उनी एक्ला होइनन् । अघिल्ला एक/दुई वर्ष मलको चरम अभाव थिएन । तर, पछिल्लो समय फेरि मल अभाव हुन थालेको किसन बताउँछन् । जसका कारण चर्को मूल्यमा भारतीय बजारबाट मल किन्नु परेको उनीहरूको गुनासो छ ।
मोरङका दक्षिणी भागका अधिकांश किसानले जग्गा भाडामा लिएर मकै खेती गर्ने गरेका छन् । तर, उनीहरूमध्ये धेरै मल नपाएको गुनासो गरेका छन् । ‘खेत पनि छैन, अर्काको खेतमा उब्जाउ गर्छुभन्दा पनि समयमा मल पाइँदैन । किसानका लागि मल भनेको प्राणवायु जत्तिकै हो तर, यहाँ लगनपछिको पोतेजस्तो छ, चाहिने बेलामा पाइदैन,’ अर्का किसान बैजनाथ साहले भने ।
गतवर्षको तुलनामा भारतबाट अवैध रूपमा आउने मलको मूल्य पनि तेब्बरले बढेको उनको गुनासो छ । मल अभावले यसपटक मकै उत्पादन घट्ने उनको चिन्ता छ ।
समयमै मल नपाउँदा यसपटक उत्पादनमा ठूलो गिरावट आउने सुनवर्षीका किसान साहले बताए । ‘चाहिने बेलामा मल पाइँदैन,’ उनले भने, ‘जब समय बित्छ अनि मल पाइन्छ । कसरी खेती गर्ने हो ?’ उनले भने, ‘नेताहरूले कृषिप्रधान देश भन्न छाड्दैन तर, काम केही गर्दैनन् । हामी सबै किसानको एउटै माग छ समयमै मल देऊ, मलको अभावमा किसानलाई लुट्न बन्द गरिदेऊ ।’
धान, गहुँ मकै आलु चिया र तरकारीमा रासायनिक मल प्रयोग गर्ने गरिन्छ । कोशी प्रदेशमा १ लाख ३८ हजार ३३५ मेट्रिक टन युरिया आवश्यक पर्छ । ७७ हजार ३१५ मेट्रिक टन डीएपी चाहिन्छ भने ४८ हजार ८०० टन पोटास भए पुग्छ ।
तर, आवश्यकताअनुसार किसानले मल पाउँदैनन् । चालु आवमा सबै मिलाएर ६५ हजार टन वितरण भएको कोशी प्र्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीले जानकारी दिए । हालसम्म ३७ हजार ४६७ मेट्रिक टन युरिया, २५ हजार १७.७ मेट्रिक टन डीएपी र २८ सय २० मेट्रिक टन पोटास आएको छ ।
अहिले चैते धान र मकैका लागि किसानलाई युरिया मल चाहिएको छ । मल आर्थिक वर्ष २०८०/२०८१ मा ५८ हजार ७३.१५ मेट्रिक टन युरिया मल आएको थियो । आर्थिक वर्ष ०७९/०८० मा ५० हजार ५४३ सय मेट्रिक टन मल आएको थियो ।
कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा २६ हजार ९५१ टन मल आएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ४० हजार ४१२ टन मल आएको तथ्यांक मन्त्रालयसँग छ ।