२६ असार २०८३, शुक्रबार
कृषिप्रधान देशमा किसानको दुर्दशा

अनुदानको मल पाइएन, बिचौलियासँग तीन गुणा महँगोमा किन्न बाध्य किसान

चैत १३, २०८१
विराटनगर
अनुदानको मल पाइएन, बिचौलियासँग तीन गुणा महँगोमा किन्न बाध्य किसान
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका एक किसान गहुँ खेतीमा रासायनिक मल छर्दै । फाइल तस्वीर : रासस

मोरङको सुनवर्षी नगरपालिका–५ का किसान शंकरप्रसाद सिंह सोमबार दिउँसो मकैमा रासायनिक मल छर्दै थिए । मकैमा मल छर्न ढिला भएको भन्दै उनी आक्रोश पोखिरहेका थिए । उनको आक्रोश सरकारसँग थियो र कारण समयमै मल नपाउनु नै हो । समयमा मल नपाउँदा मकैमा दाना कम लाग्ने चिन्ता उनलाई रहेछ । 

उनले बारीमा छरेको मल पनि सरकारले खरिद गरेको अनुदानवाला होइन । भारतबाट महँगोमा खरिद गरेर मकैमा मल छरेको उनले सुनाए । ५ सय रुपैयाँ बोरामा नेपालमै पाइने मल २३ देखि २५ सय रुपैयाँसम्म तिरेर बिचौलियामार्फत् ल्याउन लगाएको उनले बताए । ‘भारतबाट मल ल्याउन भारतीय प्रहरीले नै रोक्छ,’ उनले भने ‘नेपालको जस्तो राम्रो पनि छैन । त्यही पनि तीन गुणा महँगो हालेर किन्नु परेको छ ।’ 

मल हाल्न ढिला हुँदा दाना लाग्दैन भन्ने चिन्ता थपिएको उनले बताए । ‘किसानी जीवन सधैं कठिन नै देखिन्छ,’ सिंहले  आक्रोशपूर्ण स्वरमा भने, ‘एक बोरा मल ८०० रुपैयाँमा पाइनु पर्ने हो, अहिले हामीले २ हजार ३०० रुपैयाँमा किन्नु पर्ने बाध्यता छ । यस्तो महँगाइमा कसरी खेती गर्ने ?’

मलको अभाव र असाध्यै महँगो मूल्यले लागत धेरै बढेको उनको गुनासो छ । समयमा मल नपाउने उनी एक्ला होइनन् । अघिल्ला एक/दुई वर्ष मलको चरम अभाव थिएन । तर, पछिल्लो समय फेरि मल अभाव हुन थालेको किसन बताउँछन् । जसका कारण चर्को मूल्यमा भारतीय बजारबाट मल किन्नु परेको उनीहरूको गुनासो छ ।  

मोरङका दक्षिणी भागका अधिकांश किसानले जग्गा भाडामा लिएर मकै खेती गर्ने गरेका छन् । तर, उनीहरूमध्ये धेरै मल नपाएको गुनासो गरेका छन् । ‘खेत पनि छैन, अर्काको खेतमा उब्जाउ गर्छुभन्दा पनि समयमा मल पाइँदैन । किसानका लागि मल भनेको प्राणवायु जत्तिकै हो तर, यहाँ लगनपछिको पोतेजस्तो छ, चाहिने बेलामा पाइदैन,’ अर्का किसान बैजनाथ साहले भने । 

गतवर्षको तुलनामा भारतबाट अवैध रूपमा आउने मलको मूल्य पनि तेब्बरले बढेको उनको गुनासो छ । मल अभावले यसपटक मकै उत्पादन घट्ने उनको चिन्ता छ । 

समयमै मल नपाउँदा यसपटक उत्पादनमा ठूलो गिरावट आउने सुनवर्षीका किसान साहले बताए । ‘चाहिने बेलामा मल पाइँदैन,’ उनले भने, ‘जब समय बित्छ अनि मल पाइन्छ । कसरी खेती गर्ने हो ?’ उनले भने, ‘नेताहरूले कृषिप्रधान देश भन्न छाड्दैन तर, काम केही गर्दैनन् । हामी सबै किसानको एउटै माग छ समयमै मल देऊ, मलको अभावमा किसानलाई लुट्न बन्द गरिदेऊ ।’

धान, गहुँ मकै आलु चिया र तरकारीमा रासायनिक मल प्रयोग गर्ने गरिन्छ । कोशी प्रदेशमा १ लाख ३८ हजार ३३५ मेट्रिक टन युरिया आवश्यक पर्छ । ७७ हजार ३१५ मेट्रिक टन डीएपी चाहिन्छ भने ४८ हजार ८०० टन पोटास भए पुग्छ । 

तर, आवश्यकताअनुसार किसानले मल पाउँदैनन् । चालु आवमा सबै मिलाएर ६५ हजार टन वितरण भएको कोशी प्र्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अभिमन्यु अधिकारीले जानकारी दिए । हालसम्म ३७ हजार ४६७ मेट्रिक टन युरिया, २५ हजार १७.७ मेट्रिक टन डीएपी र २८ सय २० मेट्रिक टन पोटास आएको छ ।  

अहिले चैते धान र मकैका लागि किसानलाई युरिया मल चाहिएको छ । मल आर्थिक वर्ष २०८०/२०८१ मा ५८ हजार ७३.१५ मेट्रिक टन युरिया मल आएको थियो । आर्थिक वर्ष ०७९/०८० मा ५० हजार ५४३ सय मेट्रिक टन मल आएको थियो । 

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा २६ हजार ९५१  टन मल आएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ४० हजार ४१२ टन मल आएको तथ्यांक मन्त्रालयसँग छ ।

salt training

कमेन्ट गर्नुहोस्