
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस लिएको आरोपमा भुसाल र लक्ष्मी बस्याललाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
भुक्तानीको सिफारिसलगायतको सहजीकरण गरेबापत भुसालले बुद्ध भेट सेन्टरको बैंक खाताबाट ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/०८० को योजना बमोजिम पशुपक्षीलाई खोप भ्याक्सिन तथा औषधि वितरणका लागि गाउँपालिकाबाट रकम विनियोजन भएकोमा कार्यक्रमको भुक्तानीका लागि घुस लिएको पाइएको आयोगको दाबी छ ।
कार्यक्रमहरूमा सप्लायर्सको रूपमा कार्यादेश पाएको बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोप्राइटर लक्ष्मी बस्यालबाट पशु सेवासम्बन्धी कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेश गर्न, भुक्तानीको सिफारिसलगायतको सहजीकरण गरेबापत भुसालले बुद्ध भेट सेन्टरको बैंक खाताबाट ४ लाख रुपैयाँ घुस लिएका थिए ।