२८ असार २०८३, आइतबार

फ्लू र हर्पीजबाट बचाउने चुइँगम तयार, संक्रमणको जोखिम ९५ प्रतिशतसम्म घट्ने !

चैत २४, २०८१
काठमाडौं
फ्लू र हर्पीजबाट बचाउने चुइँगम तयार, संक्रमणको जोखिम ९५ प्रतिशतसम्म घट्ने !

इन्फ्लुएन्जा (फ्लू) र हर्पीज भाइरसका कारण हरेक वर्ष लाखौं मानिसहरू संक्रमणमा पर्छन्। तथ्यांक अनुसार, विश्वभर मौसमी इन्फ्लुएन्जा हरेक वर्ष लगभग एक अर्ब मानिसमा फैलिन्छ, जसका कारण करिब ६.५ लाख जनाको श्वासप्रश्वाससम्बन्धी जटिलताका कारण मृत्यु हुन्छ।

६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिमा फ्लूले गम्भीर रूप लिने सम्भावना बढी देखिन्छ र यसका कारण मृत्युको जोखिम पनि उच्च हुन्छ। त्यस्तै, हर्पीज भाइरसको संक्रमणले पनि हरेक वर्ष लाखौं मानिसलाई प्रभाव पार्ने गरेको देखिन्छ।

अब यस्ता संक्रमणप्रति धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। अमेरिकाको पेनसिल्भेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एक टोलीले यस्तो विशेष प्रकारको चुइँगम विकास गरेका छन्, जसले हर्पीज र फ्लू भाइरसको प्रसार घटाउन सक्नेछ। परीक्षणमा देखिए अनुसार चुइँगमले यी भाइरसजन्य संक्रमणको भार ९५ प्रतिशतसम्म घटाउन सक्ने दाबी गरिएको छ ।

इन्फ्लुएन्जा र हर्पीज भाइरसबाट सुरक्षा
वैज्ञानिकहरू यो खोजलाई एक ठूलो सफलता मानिरहेका छन्, जसले भाइरल संक्रमण रोक्ने उपायलाई नयाँ दिशा दिन सक्छ। सामान्य चुइँगमझैं यसलाई चबाएर संक्रमणको जोखिम निकै घटाउन सकिन्छ।

अध्ययनले देखाएको छ कि यो चुइँगम हर्पीज सिम्प्लेक्स भाइरस (HSV-1 र HSV-2) र इन्फ्लुएन्जा ए स्ट्रेन (H1N1 र H3N2)को भाइरल लोड घटाउन प्रभावकारी देखिएको छ। हरेक वर्ष मौसम परिवर्तनसँगै फ्लूका केसहरू तीव्र रूपमा बढ्न थाल्छन्।

स्वास्थ्य विशेषज्ञहरूले इन्फ्लुएन्जाको जोखिम कम गर्न हरेक वर्ष सबैले खोप लगाउन सल्लाह दिने गर्छन् । तर, सीमित खोप पहुँचका कारण धेरै मानिस खोपबाट छुटिरहेका छन्। हर्पीजविरुद्ध अहिलेसम्म कुनै खोप उपलब्ध छैन।

योचुइँगमकसरी बनाइयो?
इन्फ्लुएन्जा मुख्य रूपमा श्वासप्रश्वासमार्फत् फैलिने संक्रमण हो भने हर्पीज संक्रमित व्यक्तिको मुख वा छालाको सम्पर्कबाट फैलिन्छ।

वैज्ञानिक टोलीले यस्तो उपायमा ध्यान केन्द्रित गर्‍यो जहाँबाट यी दुई भाइरस सबैभन्दा बढी फैलिन्छन्। त्यसका लागि वैज्ञानिकहरूले ल्याबल्याब बिन्स (LabLab purpureus)को प्रयोग गरेर चुइँगम तयार गरे, जसमा स्वाभाविक रूपमा फ्रिल (FRIL) नामक विशेष प्रोटिन हुन्छ। यस प्रोटिनले भाइरसको वृद्धिलाई रोक्न र निष्क्रिय गर्न सहयोग पुर्‍याउँछ।

यसले कसरी असर गर्छ?
जब तपाईं यस गमलाई चबाउनुहुन्छ, यसबाट निरन्तर रूपमा एन्टिभाइरल प्रोटिन निस्किरहन्छ, जसले शरीरमा भाइरस फैलिनुअघि नै निष्क्रिय पारिदिन्छ। 

प्रयोगशालामा गरिएको परीक्षणमा दुई ग्राम तौल भएको चुइँगमले संक्रमणको जोखिम ९५ प्रतिशतसम्म घटाउन सक्ने देखिएको छ। अनुसन्धानकर्ताहरूको दाबी अनुसार, यो गम मानवीय प्रयोगका लागि पूर्ण रूपमा सुरक्षित छ।

पेनस्कूल अफ डेन्टल मेडिसिनका प्राध्यापक हेनरी ड्यानियलले भने, ‘यसका नतिजा उत्साहजनक छन्। मानवमा यसको प्रभावकारिता मापन गर्न अझ विस्तृत परीक्षण आवश्यक छ।’

बर्ड फ्लूविरुद्ध पनि प्रयोगको प्रयास
वैज्ञानिक टोली अब यस चुइँगमले बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)सँग कसरी लड्न सक्ला भनेर बुझ्न खोज्दैछ।

प्रोफेसर ड्यानियल भन्छन्, ‘विभिन्न प्रकारका भाइरसहरूको फैलावट नियन्त्रण गर्नु अझै पनि विश्वका लागि ठूलो चुनौती हो। यस्ता स्मार्ट उपायहरू- जसमा प्राकृतिक खाद्यपदार्थजस्तै बिन पाउडरको प्रयोग गर्नु प्रभावकारी समाधान बन्न सक्छ।’

तर, यो चुइँगम सर्वसाधारणका लागि कहिलेदेखि उपलब्ध हुनेछ भन्ने जानकारी हाल दिइएको छैन।

salt training

कमेन्ट गर्नुहोस्