२० असार २०८३, शनिबार

उपाध्यक्ष हुँदाहुँदै ग्रामथानका अध्यक्ष माझीले वडाध्यक्षलाई दिए कार्यवाहक

चैत २५, २०८१
विराटनगर
उपाध्यक्ष हुँदाहुँदै ग्रामथानका अध्यक्ष माझीले वडाध्यक्षलाई दिए कार्यवाहक

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफ्नो ९ दिने चीन भ्रमण अवधिका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षलाई नदिएर ३ नम्बर वडाका वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन् । 

अध्यक्ष अनुपस्थित हुँदा कानूनीरूपमा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने प्रावधान भए पनि माझीले उपाध्यक्ष गुणवती देवी थारू कार्यालयमै हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् । 

‘मलाई देख्नासाथ तर्किनेलाई के कार्यवाहक दिनु ?’, प्रतिप्रश्न गर्दै  माझीले भने, ‘उपाध्यक्षसँग सम्पर्क नभएकाले यस्तो निर्णय लिनुपरेको हो ।’

उनी सोमबार साँझ चीन भ्रमणमा निस्कँदैछन् । भ्रमणमा निस्कनुअघि कार्यालयका कर्मचारीहरूले अध्यक्ष माझीलाई खादा, माला तथा अवीर लगाएर बिदाइ गरेका थिए । त्यसबेला उपाध्यक्ष थारू आफ्नै कार्यकक्षमा थिइन् । एक कर्मचारीका अनुसार, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष वल्लोपल्लो भए पनि उपाध्यक्ष थारू अध्यक्षको कार्यकक्षमा प्रवेश नै गरिनन् । 

यसअघि पनि झापाको कमल गाउँपालिकामा यस्तै विवाद भएको थियो । 

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जापान भ्रमणमा जाँदा वडा नम्बर २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । कांग्रेसबाट निर्वाचित राईले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सुब्बालाई जिम्मेवारी दिएका थिए । गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने नेकपा एमालेबाट निर्वाचित हुन् । 

यो विषय उच्च अदालतसम्म पुगेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) खण्ड (क) मा ७ दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने भनी स्पष्ट उल्लेख गरिएको छ ।

उच्च अदालत विराटनगरको २०८० भदौ ५ गतेको फैसलाले स्थानीय सरकार सञ्चालन ऐनविपरीत कार्यवाहकको जिम्मेवारी दिएको भन्दै सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । 

उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीले दिएको आदेशले वडाध्यक्षलाई कार्यवाहक अध्यक्ष बनाउने प्रचलनमाथि प्रश्न उठाएको थियो।

ग्रामथान गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रबाट र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् । 

नमोनारायण माझी उपनिर्वाचनबाट निर्वाचित भएका हुन् र निर्वाचित भएदेखि नै अध्यक्ष र उपाध्यक्षबीच राम्रो सम्बन्ध नरहेको कर्मचारीहरू  बताउँछन् । कार्यवाहक दिएका रमेश माओवादीबाटै निर्वाचित वडाध्यक्ष हुन् ।  

यस अगाडि धरानका मेयर हर्क साम्पाङले पनि​ वडा अध्यक्षलाई कार्यवाहक दिएका थिए । पछि उच्च अदालतको फैसलाबाट उपमेयर आइन्द्र बेघा कार्यवाहक बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्