३१ जेठ २०८३, आइतबार
ठगीको डरलाग्दो चित्र

सजिलै पैसा कमाउने लोभमा आमाछोरीलाई फसाद, 'अनलाइन जागिर'को भर पर्दा अनिलको ६३ लाख स्वाहा !

चैत २८, २०८१
काठमाडौं
सजिलै पैसा कमाउने लोभमा आमाछोरीलाई फसाद, 'अनलाइन जागिर'को भर पर्दा अनिलको ६३ लाख स्वाहा !

काठमाडौंकी आकृति सापकोटालाई ह्वाट्स एपमा एउटा म्यासेज आयो– ‘अनलाइन जागिर खाने हो ? राम्रो कमाइ हुन्छ ।’ आकृतिले खुसी हुँदै उक्त म्यासेजमा उल्लेख भएको निर्देशन पालना गर्न थालिन् । 

टेलिग्राम च्याटमार्फत ‘अर्याल सूर्य’ नामको एजेन्टले आकृतिलाई विभिन्न युट्युब च्यानल सब्स्क्राइब गरी ‘टाक्स’ पूरा गर्न लगायो ।

एउटा टाक्स पूरा गर्नेबित्तिकै ३ देखि ५ मिनेटभित्र खातामा २ सय रुपैयाँका दरले जम्मा हुने भनेपछि आकृतिले धमाधम टाक्स पूरा गर्न थालिन् ।

उनको नबिल बैंकको खातामा ५ सय, १ हजार ६ सय, २ हजार ८ सय, १६ हजार ३००, अन्य केही किस्ता समेत कुल २३ हजार ३०० गिरोहले जम्मा गरिदियो ।

उक्त पैसा जम्मा हुनेबित्तिकै गिरोहले आकृतिलाई अर्को टाक्स दियो । कुमारी बैंकमा रहेको मोहित कडायतको खातामा २ हजार, कामना सेवा विकास बैंकमा रहेको हिमाल दर्लामीको खातामा क्रमशः ५ हजार, ८ हजार र फेरि ८ हजारका दरले ट्रान्सफर गर्न लगाइयो ।

अनलाइन स्क्यामरले जे–जे भन्दै गयो आकृतिले त्यही टाक्स पूरा गर्दै गइन् । शुरूशुरूमा स्क्यामरले टाक्स पूरा गर्नेबित्तिकै आकृतिको खातामा पैसा जम्मा गरिदिन थाल्यो । 

कुनै परिश्रम नगरी धमाधम पैसा आउने रहेछ भन्दै आकृतिले आफ्नी आमा तुलसी ढकालले खोलेको प्रभु बैंकको खाताबाट मुक्तिनाथ विकास बैंकमा खोलिएको समय विष्टको खातामा ६८ हजार, सिद्धार्थ बैंकमा खोलिएको सनिस श्रेष्ठको खातामा १ लाख ६४ हजार र २२ हजार, सिद्धार्थमै खोलिएको पिताम्बर डगौरा थारूको खातामा २ लाख ९० हजार गरी ५ लाख ट्रान्सफर गरिन् ।

स्क्यामरले पटक–पटक गरेर २३ हजार ३ सय रुपैयाँ त फिर्ता गरिदियो, तर पाँच लाख ४३ हजार रुपैयाँ आमाछोरीले अझै फिर्ता पाएका छैनन् । 

आकृतिले बुवा ख्यामनारायण सापकोटालाई थाहा नदिई खुसुखुसु पैसा ट्रान्सफर गरेकी थिइन् । ख्यामनारायणले प्रहरीमा उजुरी दिएपछि अहिले सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । 

आकृतिकै शैलीमा काठमाडौंकै अनिल श्रेष्ठलाई पनि स्क्यामरले ठगेका छन् । 

उनलाई पनि शुरूशुरूमा टाक्स पूरा गर्न भनियो । खातामा पैसा पनि पठाइयो । दुईपटक गरेर स्क्यामरले ग्लोबल आईएमई बैंकमा खोलिएको अनिलको खातामा ३ हजार २ सय रुपैयाँ पठाइदिए । स्क्यामरले शुरूशुरूमा अनिललाई विश्वासमा लिन पैसा पठाइदिए पनि पछि ठग्ने नियतले अरू थुप्रै टाक्स पूरा गर्न लगाए । 

२५ जना व्यक्तिका नाममा खोलिएका विभिन्न बैंक खातामा अनिलले ६३ लाख ५९ हजार ७७६ रुपैयाँ ट्रान्सफर गरिदिए । त्यो रकम फिर्ता आएन । स्क्यामरले थप ५८ लाख ८८ हजार ८८८ रुपैयाँ ट्रान्सफर गरिदिएमा एकैपटक ९१ लाख ५४ हजार २९७ रुपैयाँ पठाउने आश्वासन अनिललाई दिए ।

त्यसपछि मात्रै अनिल झसंग भए । अनि उनी प्रहरी गुहार्न बाध्य भए । उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । 

अनिलले उजुरी दिएकामध्ये सनिस श्रेष्ठलाई यसअघि नै सीआईबीले ठगी मुद्दामा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनिलले सनिसको नाममा खोलिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा ७ लाख ५० हजार जम्मा गरिदिएका थिए । 

ख्यामप्रसाद र अनिलले सनिससँगै २९ जनाविरुद्ध उजुरी दिएका छन् । स्क्यामरको नाइके भारतीय नागरिक पंकज जाट हुन् । उनी फरार छन् । 

पंकजले नेपालमा बसेर सबै काम गर्न जिम्मा लगाएका व्यक्ति हुन्, सर्लाही बरहथवा घर भएर ललितपुर गोदामचौर बस्ने शैलैन्द्रकुमार सिंह । शैलेन्द्र भने पक्राउ परेका छन् । शैलेन्द्रले सरकारी वकिल कार्यालयमा बयान दिएअनुसार उनले नै प्रतिवादीहरू सनिस, निकेस श्रेष्ठ र राहुल श्रेष्ठलाई खाता खोल्न भनेका थिए । शैलेन्द्र र पंकजबीच टेलिग्राममा कुराकानी हुन्थ्यो । 

पंकजले आफूलाई यूएसटीडी खरिद/बिक्रीका लागि नेपाली बैंक खाताहरू आवश्यक परेको भन्दै शैलैन्द्रसँग सहयोग मागेका थिए । खाता उपलब्ध गराएबापत शैलेन्द्रलाई मासिक ३५ हजार कमिसन आउने आश्वासन दिइएको थियो । 

पंकजले शैलैन्द्रलाई रुपन्देहीको लुम्बीनीमा बोलाएका थिए । उनले सनिसलाई पनि सँगै लगे । त्यही बेलामा पंकजले सनिससँग कनेक्ट आईपीएस सेवा र मोबाइल बैंकिङ सेवा उपलब्ध भएका तीनवटा बैंक खाता, चेक र मोबाइल बैंकिङ खोल्दा प्रयोग भएको मोबाइलको सिमकार्ड मागेका थिए । नौ दिन लुम्बिनीमा बसेर फर्किएका शैलेन्द्रलाई पंकजले भारतमै बसेर निर्देशन दिँदै आएका थिए । 

अनलाइन ठगीको सिकार सविन श्रेष्ठ, सम्झना मानन्धर र लक्ष्मीप्रसाद शाही पनि भएका छन् । सविन अनिलको विश्वासमा परेर १८ लाख रुपैयाँ ठगिए । सम्झना पनि अनिलकै विश्वासमा पर्दा उनको खाता प्रयोग भयो । 

सम्झनाको खाताबाट ३५ लाख ४० हजार रुपैयाँ विभिन्न व्यक्तिका खातामा ट्रान्सफर भएको देखिन्छ । अनिलले नै सम्झनाको खाता चलाउँथे ।

लक्ष्मीप्रसादले अनिलको विश्वासमा पर्दा १० लाख १० हजार गुमाए । अर्जेन्ट परेको भन्दै अनिलले लक्ष्मीप्रसादसँग सापटी मागे । तर, पछि अनिल आफैं ठगीमा परेको बताएपछि उनले पैसा फिर्ता पाएका छैनन् । 

सनिसलाई कमिसनको लोभ
प्रहरी र सरकारी वकिलसँगको बयानमा सनिसले पनि आफूलाई कमिसनको लोभ देखाएर अरूको खाता प्रयोग गरी रकम ट्रान्सफर गर्न लगाएको बताएका छन् । 

उनले आफ्ना साथी निकेस बिकमार्फत शैलेन्द्रलाई चिनेका थिए । 

‘तिम्रो र साथीको केही खाता चलाउन देऊ, दुरुपयोग हुँदैन, त्यसबापत कमिसन आउँछ,’ भन्दै सनिसलाई शैलैन्द्रले प्रलोभनमा पारेका थिए ।

उनले आफ्नो बैंक खातामा आएको रकम चेक काटेर शैलेन्द्रलाई दिएको बयानमा खुलाएका छन् । उनले पहिलोपटक ५ लाख ५० हजार, दोस्रोपटक ७ लाख ३२ हजार चेकमार्फत झिकेर शैलेन्द्रलाई दिएका थिए । 

सनिसले बयान दिएअनुसार शैलेन्द्रले अर्का प्रतिवादी राहुल श्रेष्ठको बैंक खातामा जम्मा भएको ६ लाख १७ हजार र ९ लाख ५० हजार समेत आफैं झिकेका थिए ।

‘बाहिरबाट तिम्रो खातामा मेरो पैसा आउने हो, खाता प्रयोग भएबापत केही रकम दिन्छु,’ शैलेन्द्रको भनाई उद्धृत गर्दै सनिसले बयानमा भनेका छन्, ‘मैले प्रलोभनमा काम गरें, तर कुनै रकम पाएको छैन, खाता दुरुपयोगको सम्बन्धमा शैलेन्द्रलाई नै सबै थाहा छ ।’

नचिनेको कम्पनीको एचआर बस्दा फसे डगौरा !
कैलालीको जोशीपुर गाउँपालिकाका पिताम्बर डगौरा थारूलाई पनि ह्वाट्सएपमा म्यासेज आएको थियो । टेमु भन्ने अनलाइन शपिङ कम्पनीमा जागिर खान अफर आएपछि उनले सहजै स्वीकारे । एचआरको जिम्मेवारी पाएका डगौरालाई स्क्यामरले ‘स्टार पे नेपाल’ नामको टेलिग्राममा जोडिन भने ।

त्यसपछि बैंक खाता, मोबाइल बैंकको क्यूआर कोड र राहदानीको फोटोकपी मागियो । उनले पठाइदिए । 

‘तपाईंको बैंक खातामा रकमहरू आउँछन्, हामीले पठाएको खातामा ट्रान्सफर गर्नुपर्छ है’ भनेर स्क्यामरले टाक्स दिए । डगौराले सहजै स्वीकारे । कमिसनबापत दैनिक ७ सयदेखि हजार रुपैयाँसम्म पठाउने आश्वासन उनले पाए । 

माथि उल्लेखित पीडित आकृति सापकोटाकी आमा तुलसीको बैंक खाताबाट डगौराको खातामा आएको २ लाख ९० हजार रुपैयाँ त्यहाँबाट स्क्यामरकोमा ट्रान्सफर भयो ।

डगौराको बयानअनुसार उनको खातामा दैनिक १ देखि ३ लाख रुपैयाँ आउँथ्यो । उक्त रकम आफूलाई प्राप्त टाक्स अनुसार नै ट्रान्सफर गरिदिन्थे । उनले बोनसबापत ३५ हजार पाएको स्वीकारेका छन् । उक्त रकम आउनेबित्तिकै उनले श्रीमतीको खातामा ट्रान्सफर गर्ने गरेको बयानमा खुलाएका छन् । 

डगौरालाई शंका लागेपछि उनले कम्पनीको कागजात मागे । कम्पनीले नदिएपछि उनी आफ्नो खातामा जम्मा भएको रकम झिक्न बैंक पुगे । त्यतिबेला उनको खाता प्रहरीको आग्रहमा बैंकले रोक्का गरिदिएको थियो । अनि उनले कम्पनीले पठाएको र आफूले पठाएको म्यासेजहरू डिलिट गरे । 

उताबाट आएको म्यासेजको रिप्लाइ पनि गर्न छाडे र ग्रुप नै ब्लक गरे । उनले एभरेस्ट बैंक, सानिमा बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र नबिल बैंकका खातामा रकम ट्रान्सफर गरेको स्वीकार गर्दै ठगी कारोबारबाट आर्जित रकमको जिम्मेवारी आफ्नो पनि रहेको बयानमा स्वीकारेका छन् ।

यी हुन्, खाता प्रयोग भएका व्यक्ति
अमित कुमार चौधरी, अञ्जना लिम्बू, अरुण डगौरा, अशोक केसी, बाबुकाजी लामिछाने, विकास थारू, काजल जोशी, महेशकुमार शाह, महिन्द्र राउत, मकेश चाँसी, निश्चल बस्नेत, पिताम्बर डगौर थारु, प्रजित लामिछाने, रवि श्रेष्ठ, रत्नबहादुर खत्री, रवि श्रेष्ठ, रेस्मा तामाङ, सनिस श्रेष्ठ, सन्तोष तामाङ, सोमबहादुर थापा, सुमन विसुन्के, सुरज चौधरी र तीर्थ बुढा मगरको खाता दुरूपयोग भएको अनुसन्धानमा खुलेको छ ।

भारतीय स्क्यामर पंकजले नेपालीबाट १ वर्षमै २ करोड १० लाख ३१ हजार ७२९ रुपैयाँ ठगी गरेका छन् । उनलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार मात्रै दर्ता गरेको अभियोग पत्रमा दोषीमाथि मुलुकी अपराधसंहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको उल्लेख छ । त्यस्तै, सोही ऐनको दफा २५४ मा उल्लेख भएको क्षतिपूर्तिको माग समेत गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्