२८ असार २०८३, आइतबार
बलियो बन्दै इतर समूह

एमाले विराटनगरमा पनि बढारियो संस्थापन, इतर समूहका बलराम गिरीको प्यानलै विजयी

बैशाख ५, २०८२
विराटनगर
एमाले विराटनगरमा पनि बढारियो संस्थापन, इतर समूहका बलराम गिरीको प्यानलै विजयी

नेकपा एमाले विराटनगर महानगर कमिटीको सम्पन्न दोस्रो अधिवेशनमा इतर समूहले जीत निकालेको छ ।

केही समयअघि भएको जिल्ला अधिवेशनको झल्को दिनेगरी महानगर कमिटीको पदाधिकारीमा पनि इतर  समूहले क्लिन स्वीप गरेको छ ।

महानगर कमिटीमा बलराम गिरी नेतृत्वको प्यानल नै विजयी भएको छ । सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल बनेपछि बिहीबार साँझ मतदान भएको मतदान । ३१४ प्रतिनिधि रहेकामा ३०८ मत खसेको थियो  । 

अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा बलराम गिरीले १७३ मत ल्याएर विजयी बन्दा  संस्थापन समूहका उम्मेदवार रोहित कोइरालाले १२१ मत पाए । 

उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राम पोख्रेलले १३६ मत प्राप्त गरे । पोख्रेल विराटनगर महानगरपालिका-८ का वडा अध्यक्ष समेत हुन् ।

सचिवमा विज्ञान चापागाईंले अत्यधिक मत ल्याएर निर्वाचित भएका छन् । चापागाईंले १८३ मत ल्याउँदा निकटतम नवराज काफ्लेले १०४ मत मात्रै पाएका छन् ।

उपसचिवमा पनि इतर समूहकै  हमिद आजाद निर्वाचित भएका छन् । उनले १७८ मत प्राप्त गरेका छन् भने चन्द्र शेखर विश्वासले ९८ मत मात्रै पाए । 

महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएकी छन् । कला डाँगीलाई पराजित गर्दै उनले जीत निकालेकी हुन् । पोख्रेलले १६९ मत प्राप्त गरेकी छन् भने डाँगीले १११ मत पाएकी निर्वाचन समितिले जनाएको छ । 

यो अधिवेशन संस्थापन पक्षका लागि गम्भीर झट्का बनेको छ । जिल्ला अधिवेशनदेखि  सक्रिय भूमिका खेलेका नेता  विनोद ढकालले संस्थापनलाई दोस्रो झट्का दिएका हुन् ।

उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकटका नेताका रूपमा पनि चिनिन्छन् । यसअघि जिल्ला अधिवेशनमा पनि ढकाल समूहकै अजम्बर राई नेतृत्वले पदाधिकारीमा क्लिन स्वीप गरेको थियो । 

मोरङका १७ पालिकामध्ये १३ पालिकामा अधिवेशन सकिएको छ । अधिकांश पालिकामा ढकालले नेतृत्व गरेको समूहले जीत निकालेको छ ।

महानगर अधिवेशनको उद्घाटन समारोहमै प्रदेश नेता पर्शुराम बस्नेतले ढकाललाई ‘अवैधानिक नेता’ भन्ने आरोप लगाएका थिए । अवैधानिक नेतालाई बोल्न नदिने भनेपछि ढकालले को अवैधानिक ? भनेर प्रश्न गरेका थिए ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका बस्नेतले अवैधानिक भनेपछि ढकाल मञ्च छाडेर हिँडेका थिए । तर, पछि कार्यकर्ताले उनलाई रोकेका थिए । उनी मञ्च छाडेर कार्यकर्ता बसेकै ठाउँमा बसेका थिए ।

अधिवेशनको उद्घाटनमा महानगर इन्चार्ज समेत रहेका बस्नेतले विराटनगरकै विग होटलका बाउन्सरलाई स्वयंसेवक बनाएपछि चौतर्फी आलोचना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्