०२ साउन २०८३, शनिबार
सिद्धिलक्ष्मी स्टील्सको ज्यादती : भाग–३

स्थानीयको स्वास्थ्यसँगै आस्थामाथि पनि प्रहार– छठको बिहानै तालमा भरिदिएको थियो ढल र रसायन [भिडियोसहित]

बैशाख ११, २०८२
काठमाडौं
स्थानीयको स्वास्थ्यसँगै आस्थामाथि पनि प्रहार– छठको बिहानै तालमा भरिदिएको थियो ढल र रसायन [भिडियोसहित]

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ र १० मा रहेको सिद्धिलक्ष्मी स्टील्सको ज्यादतीले स्थानीय बासिन्दा वर्षौंदेखि आजित छन् ।

यो कारखानाले वातावरणीय सुरक्षाको मापदण्ड उल्लङ्घन त गरेको छ नै, एकपटक त छठजस्तो पवित्र पर्वमा समेत स्थानीयले पूजा गर्ने नन्दन तालमा ढल र रसायन मिसाएर स्थानीयको आस्थामाथि ठाडो प्रहार गरेको थियो ।

लोकान्तर डटकममा प्रकाशित यस शृङ्खलाको पहिलो र दोस्रो भागमा सिद्धिलक्ष्मीले गरेको प्रदूषणले स्थानीय र उनीहरूले पालेका पशु चौपायाको स्वास्थ्यमा असर परेको, फ्याक्ट्रीले जबरजस्ती जग्गा कब्जा गरेको तथा त्यहाँ मजदुरी गर्ने अंगदप्रसाद हजाममाथि गरिएको अमानवीय व्यवहारललाई उजागर गरेको थियो ।​

छठ पूजामा आस्थामाथि प्रहार

रामग्राम १० मा अवस्थित सिद्धिलक्ष्मी स्टील्स र आसपासका उद्योगहरूले स्थानीय कुलो र खोलामा नियमितरूपमा फोहोर फाल्ने गरेका छन् । उक्त कुलो नजिकैको नन्दन तालसँग जोडिएको छ ।

यो ताल छठ पूजाको समयमा सूर्यलाई अर्घ्य दिने पवित्र जलाशय हो । तर, गत सालको छठ पूजामा सिद्धिलक्ष्मीले अमानवीय र सांस्कृतिक आस्थामाथि नै प्रहार गरिदियो । जबकि स्थानीयले सूर्यलाई अर्घ्य दिनुअघि त्यहीँ डुबुल्कीसमेत मार्छन् ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका नवलपरासी जिल्ला सभापति धरेन्द्र यादवले त्यस दिन सिद्धिलक्ष्मीले अरू उद्योगसँग मिलेर गरेको अमानवीय ज्यादती स्मरण गर्दै भने, 'छठ पर्वको अवसरमा हामी पूजा गर्न नन्दन तालमा गएका थियौं, तर त्यो ताल फोहोर र दुर्गन्धले भरिएको थियो ।'

null

त्यसदिन बिहानै उद्योगहरूमा जम्मा भएको लाखौं लिटर रसायनयुक्त फोहोर र ढल एकैपटक छाडिएको थियो । 'छठजस्तो लोक आस्थाको पर्वमा हामीमाथि गरिएको यस्तो हर्कतले हाम्रो संस्कृतिमाथि आघात पुगेको छ,' उनले दोहोर्‍याए ।

त्यसदिनको घटनाले स्थानीयमा ठूलो आक्रोश पैदा गर्‍यो । 'हङ्गामा भएपछि हामीले प्रशासनलाई गुहार्नुपरेको थियो । सीडीओले हप्काएपछि १५/२० वटा मोटरले तालको फोहोर पानी तानियो र बोरिङबाट नयाँ पानी हालियो,' यादवले भने ।

तर, उनले यो समाधान अस्थायी भएको र उद्योगहरूले अहिले पनि जतिबेला मन लाग्छ, उतिबेला फोहोर खोलामा हाल्ने गरेको बताए ।

'यिनीहरूले प्रदूषण मात्र गरेनन्, हाम्रो आस्थामाथि पनि अपमान गरे,' उनले आक्रोशित हुँदै भने ।

स्वास्थ्य र जीविकामा संकट

सिद्धिलक्ष्मीको प्रदूषणले रामग्राम ६ र १० का बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पारेको छ ।

लोकान्तरकर्मी फिल्ड रिपोर्टिङका क्रममा जाँदा देखेको दृश्यले उद्योगले फैलाएको प्रदूषणका कारण स्वास्थ्यमा परेको असर त छँदैछ, जीवनयापनका लागि पालिएका पशुचौपाया समेत बिरामी रहेको वर्णन गर्छन् ।

‘यति धेरै प्रदूषण भइरहेको छ कि हामी यहाँबाट भाग्नुपर्ने अवस्था आइसक्यो । रातदिन फ्याक्ट्रीले टेन्सन दिएको छ । धुवाँ उस्तै फालेको छ । फ्याक्ट्री चलाउँदा यहाँ धुँवाको बादल लाग्छ । धूलोले सास फेर्न गाह्रो हुन्छ । बालबालिकालाई खोकी र आँखा पोल्ने समस्या छ अनि छालाको रोग देखिएको छ,’ केवटले लोकान्तरसँग भने । 

उनले यहाँ बस्न निकै गाह्रो भएको गुनासो गरे ।

‘यहाँ मान्छेलाई बस्न निकै गाह्रो भएको छ । न नालाको पानी व्यवस्थित गरेको छ, न त फोहोर पानी खोलामा हाल्न बन्द गरेको छ । हामी निकै धेरै दुर्गन्ध सहेर बसेका छौं । जानाजान बदमासी भएको छ ।’

null

फ्याक्ट्रीबाट पीडित अर्का स्थानीय वसन्तकुमार केवटले उद्योगबाट निस्किने फोहोर पानी खेत र नहरमा मिसिँदा बालीमा असर परेको र जमिनको उर्वराशक्ति घटेको गुनासो गरे ।

‘उद्योग चलाएको छु भन्दैमा मनोमानी गर्न पाइन्छ ? हाम्रा बाख्रा, कुखुरा र हाँस छन् । फोहोर पानीले सबै बिरामी छन् । हाम्रो क्षति हुँदैन ? यत्तिको दुर्गन्ध आएको छ, तपाईंहरू आफैंले थाहा पाउनु भएको छ नि ! हामीले यो दुर्गन्धमा भात कसरी खाने ?’ आक्रोशित हुँदै उनले प्रश्न गरे ।

उनले आफ्नो घरसँग जोडिएको खेतमा फ्याक्ट्रीले सिधै ट्वाइलेटको फोहोर पानीको पाइप लगाएको बताए । ‘हेर्नुहोस्, त्यो ट्वाइलेटको पानी बाहिर फ्याँकेको छ । सेफ्टीट्यांकी छैन । यस्तो अवस्थामा हामी कसरी बाँच्ने ? मैले भैँसीको उपचार धेरैपटक गराइसकें ।’

जसपा नेता यादवले यस्तो स्वास्थ्य सङ्कट दिनप्रतिदिन बढिरहेको बताए ।

'यिनीहरूलाई मान्छेको स्वास्थ्यसँग कुनै लेनदेन छैन, सिर्फ पैसा कमाउन पाए हुन्छ,' उनले भने, 'स्थानीय दिनप्रतिदिन रोगी भइरहेका छन् । बिरामी परेका धेरै छन्, तर उद्योगहरूले कुनै जिम्मेवारी लिएको छैन ।'

उनले उद्योगले ट्वाइलेटको ट्याङ्कीसमेत नबनाएर फोहोर सिधै छाड्ने गरेको आरोप लगाए । 'यस्तो अवस्थामा कसरी स्वस्थ जीवन जिउने?' यादवको प्रश्न छ ।

जग्गा कब्जा र कुलो मिच्ने ज्यादती

सिद्धिलक्ष्मीले प्रदूषण मात्र होइन, स्थानीयको जग्गा र सार्वजनिक सम्पत्तिमाथि पनि हस्तक्षेप गरेको छ । स्थानीय रञ्जना अधिकारीले उद्योगले आफ्नो दुई कठ्ठा जग्गा अनधिकृत रूपमा हडपेको भन्दै २ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् ।

'मेरो जग्गा यिनीहरूले कब्जा गरे । मैले न्याय माग्दा कसैले सुनेन,' उनले भनिन् । नापी कार्यालयको प्रतिवेदनले सिद्धिलक्ष्मीले सार्वजनिक कुलो मिचेर संरचना बनाएको पुष्टि गरेको छ, तर कारबाही भएको छैन ।

null

रोजगारीमा शोषण र गैरकानूनी कामदार

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको स्वामित्वमा रहेको सिद्धिलक्ष्मी स्टील्समा काम गर्ने एक गरिब मजदुर परिवारको उठीबास लगाएको छ ।

आफ्नो पुर्ख्यौली पेशा (हजाम) छाडेर २/४ पैसा बढी कमाउने आशामा नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को रामग्राम नगरपालिका वडा नम्बर ६ स्थित स्टील फ्याक्ट्रीमा काम गर्ने अंगदप्रसाद हजाम र उनको परिवारमाथि सिद्धिलक्ष्मी स्टील्सले गरेको अमानवीय ज्यादतीबारे हामीले यस शृंखलाको दोस्रो भागमा उल्लेख गरेका थियौं ।

करिब ४० वर्षको हाराहारीमा पुगेका अंगदले फ्याक्ट्रीमा काम गर्ने क्रममा तीनवटा औंला काटिएपछि बाँकी जिन्दगी अपाङ्ग बनेर काट्नुपर्नेछ ।

मजदुरी गरेर आफू, श्रीमती र २ बच्चाबच्चीको पेट पाल्ने गरेका उनलाई उक्त दुर्घटनापछि अमानवीय ढंगले जागिरबाट समेत निकालिएको छ । यतिमात्र होइन, फ्याक्ट्रीभित्र म्यानेजरलगायत अन्य ५/६ जनालाई खाना पकाएर खुवाउने उनकी श्रीमती अनितादेवी हजाम पनि केही दिनअघि जागिरबाट निकालिइन् ।

दुर्घटनामा परेका आफ्ना श्रीमानको उपचार राम्रोसँग नगरिएको, उपचारका क्रममा आफूले गरेको खर्च नदिएको र श्रीमान अंगदलाई जागिरबाट निकालिएको विषयमा अनितादेवीले उठाएको आवाज म्यानेजमेन्ट तहसम्म पुगेपछि 'न रहे बाँस, न बजे बाँसुरी' शैलीमा उनलाई पनि जागिरबाट निकालिएको हो ।

'अब बच्चाबच्चीको भर्नाको समय पनि आयो, कसरी भर्ना गर्ने होला, कसरी किताब किन्दिने होला ?' अनितादेवीले भक्कानिँदै लोकान्तरसँग भनिन् ।​

यससँगै त्यहाँ काम गर्ने अन्य धेरै मजदुरहरू पनि शोषणमा परेका छन् । सिद्धिलक्ष्मीले उद्योग स्थापना गर्दा स्थानीयलाई रोजगारी दिने वाचा गरेको थियो, तर वास्तविकता फरक छ ।

धरेन्द्र यादवले भने, 'यिनीहरूले पूरै भारतबाट गैरकानूनी रूपमा कामदार ल्याएर काम गराउँछन् । स्थानीयलाई यदाकदा रोजगारी दिए पनि श्रम कानूनअनुसार हुँदैन । नियुक्तिपत्र हुँदैन, दैनिक हाजिरी गराउँछन्, मन लागे तलब दिन्छन्, नलागे दिँदैनन् । कतिपयलाई उद्योगको गोपनीयता बाहिर ल्याएको भन्दै तत्काल निकाल्छन् ।'

यादवले यो शोषणले स्थानीयको आर्थिक अवस्था कमजोर बनाएको बताए । 'उद्योगले स्थानीयलाई रोजगारी दिन्छौं भनेर झूट बोल्यो । यहाँ त हाम्रा मान्छे बेरोजगार छन्, र यिनीहरूले गैरकानूनी कामदार राखेर कानूनको धज्जी उडाएका छन्,' उनले भने ।

निरीह जिल्ला प्रशासन !

नवलपरासीका सहायक सीडीओ पोषणराज भण्डारीले रामग्राम हुँदै भैरहवा जाने औद्योगिक कोरिडोरमा उद्योगहरूको नकारात्मक प्रभाव रहेको स्वीकार गरे ।

'५ करोडभन्दा बढी लगानीका उद्योग राष्ट्रिय स्तरका हुन्छन्, जसको नियमन उद्योग विभागले गर्छ । हामीले घरेलु उद्योगको अनुगमन गर्छौं,' उनले भने ।

तर, उद्योग वाणिज्य विभागको समन्वयमा बजार अनुगमन गर्दा प्रदूषण र रोजगारीसम्बन्धी गुनासो बारम्बार आउने गरेको उनले बताए ।

भण्डारीले सिद्धिलक्ष्मी स्टील्स रहेको स्थान र त्यहाँका स्थानीय प्रदुषणका कारण विस्थापित हुनुपरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

null

'सिद्धिलक्ष्मी बस्तीको बीचमा छ । यसले न्यूनतम मापदण्ड पूरा गरेको देखिँदैन,' उनले भने, 'कागजमा सबै ठीक देखिन्छ, तर वास्तविकता फरक छ । यिनीहरूले प्रत्येक ६ महिनामा वातावरणीय प्रभाव मूल्याङ्कनको अडिट गर्नुपर्छ, तर त्यो भएको छैन ।'

उनले मुख्य समस्या छुट्टै औद्योगिक क्षेत्रको अभाव भएको बताए । 'उद्योग र बस्ती सँगसँगै छन् । कतिपय ठाउँमा बस्तीका बीचमा उद्योग छिरेका छन्, जसले समस्या सिर्जना गरेको छ,' उनले थपे ।

भण्डारीले श्रमसम्बन्धी मुद्दालाई श्रम विभागमार्फत समाधान गर्न सुझाए, तर स्थानीय स्तरमा पनि समाधानको प्रयास भइरहेको बताए ।

'हामीले उद्योगहरूको अनुगमन गर्छौं, तर नियमनका लागि सम्बन्धित निकायहरूले थप कदम चाल्नुपर्छ,' उनले भने ।

सामाजिक उत्तरदायित्वको अभाव

सिद्धिलक्ष्मीले सामाजिक उत्तरदायित्वअन्तर्गत कुनै काम नगरेको भन्दै जसपा जिल्ला सभापति धरेन्द्र यादव आक्रोशित छन् ।

'हामीले कमजोर सरकारी स्कूललाई सहयोग गर्न र स्वास्थ्य शिविर सञ्चालन गर्न धेरैपटक अनुरोध गर्‍यौं, तर यिनीहरूले मानेनन्,' उनले भने, 'यहाँ कमजोर आर्थिक अवस्थाका मान्छे छन्, तर उद्योगले कुनै सहयोग गर्दैन ।'

उनले उद्योगले ट्वाइलेटको ट्याङ्की नबनाएर फोहोर सिधै स्थानीयको आँगनमा छाड्ने गरेको आरोप लगाए । 'यस्तो व्यवहारले हामीलाई अपमानित महसुस हुन्छ,' उनले थपे ।

सिद्धिलक्ष्मीले उद्योग स्थापनाकालमा गराएको वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) अहिले गोप्य राखिएको छ ।

लोकान्तरकर्मीले वातावरण विभाग र उद्योग मन्त्रालयसँग उक्त ईआईए मागेको थियो । तर, दुवै निकायका कर्मचारीले आफूसँग त्यो नभएको जवाफ दिएका छन् । त्यसबाहेक, सिद्धिलक्ष्मीको प्रत्येक ६ महिनामा ईआईए अडिट पनि भएको छैन ।

यता सिद्धिलक्ष्मी स्टील्सका मानव संसाधन हेर्ने नरेश रानाभाटले स्थानीयले गरेको गुनासोजस्तो केही नभएको दाबी गरेका छन् ।

उनले भने, 'हामीले सम्पूर्ण प्रक्रिया पूरा गरेका छौं । प्रदूषण र रोजगारीको विषयमा कुनै समस्या छैन,' उनले भने ।

हेर्नुहोस्, भिडियो :

 

पढ्नुहोस्, यो पनि :

सिद्धिलक्ष्मी स्टील्सको लापरवाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]

एफएनसीसीआईका भावी अध्यक्षको उद्योगले बिचल्ली पारेको एक मजदुर परिवारको दर्दनाक कथा [भिडियो स्टोरी]

salt training

कमेन्ट गर्नुहोस्