११ साउन २०८३, सोमबार

कोशीमा लोकसेवा आयोगका अध्यक्षदेखि सहकारी व्यवस्थापनका सदस्यले बुझ्छन् दोहोरो सुविधा

बैशाख ११, २०८२
विराटनगर
कोशीमा लोकसेवा आयोगका अध्यक्षदेखि सहकारी व्यवस्थापनका सदस्यले बुझ्छन् दोहोरो सुविधा

कोशी प्रदेशको लोकसेवा आयोगका अध्यक्षदेखि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसम्मले दोहोरो सुविधा लिने गरेको खुलेको छ ।

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं छन् भने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका दुई सदस्य पनि पूर्वकर्मचारी नै हुन् । 

गत पुस १८ गते कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको अध्यक्षतामा समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा धनप्रसाद सिवाकोटी, जीवन काफ्ले र डिल्ली पोख्रेल नियुक्त भएका थिए ।

समितिमा ४ जना कर्मचारी रहेका छन् । कार्यालय सहयोगी २ जना र एक जना हलुका सवारी चालक भने करारका रहेका छन् । तीन महिनाको तलब दुई जना सदस्य र कर्मचारीको खातामा गइसकेको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

समितिमा रहेका अवकाशप्राप्त कर्मचारीहरूले उपसचिव सरहको सेवा सुविधा लिने गरेका छन् । अध्यक्ष थापाले ६० हजार ४९० रूपैयाँ पारिश्रमिक बुझ्छन् । 

सदस्य रहेका काफ्ले र सिवाकोटीले ५२ हजार ४१७ रूपैयाँ बुझ्ने गरेका छन् । काफ्ले कोशी प्रदेश सरकारकै कर्मचारी हुन्  । सिवाकोटी भने नेपाल प्रहरीका अवकाशप्राप्त डीएसपी हुन् । 

दोहोरो सेवा सुविधा लिन नपाउने कानूनी व्यवस्था नरहेको भन्दै उनीहरूले सेवा सुविधा लिन थालेका कर्मचारीहरू बताउँछन् । 

‘उहाँहरू पेन्सनवाला कर्मचारी हो भन्ने हामीलाई कार्यालयमा खुल्दैन’,मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘उहाँहरूले कि हामी सेवा सुविधा लिदैनौं भनेर स्वघोषणा गर्नुपर्‍यो । कि सरकारले रोक्नु पर्‍यो ।’

महालेखाले समेत बेरुजू नलेखेर छुट दिने गरेको कर्मचारीहरू नै बताउँछन् । पछि आफू पनि नियुक्त हुनुपर्छ भनेर महालेखाका कर्मचारीहरूले बाटो राखिरहेको मन्त्रालयका कर्मचारीको गुनासो छ । 

सहकारी व्यवस्थापन समितिका सदस्यहरूले भने दोहोरो सुविधा नलिएको दाबी गरेका छन् ।  पूर्णकालीन काम गर्ने भनेर टीओआर दिएकाले त्यसको पारिश्रमिक मात्रै लिएको सदस्य जीवन काफ्लेले बताए । 

‘सरकारले निर्णय गरेको छ । अन्य समितिमा पनि प्रदेश सरकारले बनाएको छ’, उनले भने, ‘त्यहाँ पनि दिने नै देखियो । पार्टटाइम गरेर हामीले सुझाव मात्रै दिने भएको भए लिने थिएनौं होला । हामीलाई फूलटाइम काम गर्ने टीओआर छ ।’  

अर्का सदस्य डिल्ली पोख्रेलले भने सेवा सुविधा लिएका छैनन् । उनी महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत हुन् ।

सहकारी क्षेत्रमा कम्तीमा १० वर्ष अनुभवप्राप्त व्यक्तिमध्येबाट प्रदेश सहकारी संघले तोकेको एक जना व्यक्तिलाई राख्नेगरी प्रदेश सरकारले टीओआर बनाएको थियो । त्यही टीओआर अनुसार पोख्रेल सदस्य बनेका हुन् । उनी कोशी प्रदेश सहकारी संघका अध्यक्ष पनि हुन् । 

यस्तै, लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले पनि आयोगका अध्यक्षले दोहोरो सेवा सुविधा नलिने भन्ने नरहेको बताए । प्रदेशमा दोहोरो भनेर कतै उल्लेख नभएको गुरागाईंले बताए । 

‘संघीय निजामती सेवा ऐनमा लेख्ने भनेर अहिले बहसको विषय छ’, उनले भने । 

२०७२ माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारी तथा पदाधिकारीको पारिश्रमिक र निवृत्तिभरण व्यवस्थापन गर्ने सम्बन्धमा एउटा निर्णय गरेको थियो ।  सरकारी सेवाबाट सेवा अवधि पूरा गरी अवकाशप्राप्त गरेपनि पुनः सरकारी तथा राजनीतिक नियुक्ति पाएका सेवानिवृत्त कर्मचारीले लिने दोहोरो सुविधा व्यवस्थापन गर्ने निर्णय तत्कालीन मन्त्रिपरिषद्को बैठकले गरेको थियो । 

सेवानिवृत्त कर्मचारीले सरकारबाट पाउने पेन्सन र पारिश्रमिक समेत लिइरहेकाले पेन्सन र पारिश्रमिकमध्ये एउटा मात्रै सुविधा लिनुपर्ने निर्णय भए पनि त्यो निर्णय कार्यान्वयन हुन सकेको छैन । 

मन्त्रिपरिषद् बैठकले सार्वजनिक लाभको पद अथवा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नयाँ नियुक्ति पाएका पदाधिकारीले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको थियो । 

प्रदेश सरकार बनेपछि विभिन्न आयोगहरू समेत बनेका छन् । आयोगमा पूर्वउच्चस्थ कर्मचारीहरू नै रहने गरेका छन् । उनीहरूले दोहोरो सुविधा लिइरहेका छन् । 

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा रहेका पदाधिकारीलाई भने सरकारले गाडी खरिद गर्ने प्रकृया अगाडि बढाएको छ । सवारी खरिदका लागि ६३ लाख ५० हजार बजेट निकासा भएको एक कर्मचारीले बताए ।

‘चार पाङ्ग्रे गाडी भनिएको छ, स्पेसिफिकेसन अनुसार कुन आउँछ त्यही किन्ने हो’, एक कर्मचारीले भने, ‘अर्को दुई पाङ्ग्रे खरिद गर्ने कुरा छ । मोटरसाइकल तथा स्कुटरमध्ये एउटा खरिद गर्छौं ।’ 

ती कर्मचारीका अनुसार ६० लाख गाडी र ३ लाख ५० हजार दुई पाङ्ग्रे खरिद गर्ने गरी प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्