०२ साउन २०८३, शनिबार
उद्यममा युवा

तरबुजा खेतीमा रमाइरहेका रोशन

बैशाख १३, २०८२
पाेखरा
तरबुजा खेतीमा रमाइरहेका रोशन

कोरोना महामारी शुरू भएपछि पोखरा महानगरपालिका-१३ का रोशन बराल घर फर्किए । उनी त्यसबेलामा भरतपुरमा स्नातक तह कृषि अध्ययनरत गरिरहेका थिए । रोशनको परिवारको जीविकोपार्जनको माध्यम कृषि नै थियो । 

तर, व्यावसायिक कृषिमा थिएनन् । भान्छा धान्ने र मेसो मिल्दा कहिलेकसो बेच्नका लागि तरकारी बजार झर्थ्यो उनको घरबाट । कृषि पढ्दै गरेका रोशन, घरआँगनमा दुईचार टनेल मात्र देखेर केही गर्ने सोचमा कस्सिए । ‘एक्सप्लोर’ गरौं न त भन्ने भावमा उनले घरमा तरकारीको टनेल थपे । 

उनले पढ्दै थिए, कृषिमा सम्भावना छ । तर, उनको आँखाले अधिकांश जमिन बाँझै देख्थ्यो । त्यसपछि उनी आफैं कृषिमै केही गर्ने सोंचले अघि बढे ।

‘कृषिको बारेमा जानकारी भयो । पढ्दाखेरि नेपालमा कृषिको सम्भावना बढी देखियो तर, रियालिटीमा कृषिबाट जीवन उन्नती भएको देखिएन समाजमा । अनि त्यो सँगसँगै खेतीयोग्य जमिन बाँझो बढ्दै गयो’, उनले भने, ‘हिजोको दिनमा त बाँझो थिएन, यो उर्वरभूमि हो । पैसाको फयाक्ट्री जस्तो हो । त्यही भएर आफ्नै जमिनमा प्रयोग गर्नुपर्छ भनेर लागेको हुँ ।’

उनले परम्परागत खेतीबाट बाहिर निस्किएर सम्भावना खोज्नुपर्छ भन्ने सोच राखे । के गर्दा फाइदा हुन्छ त ? धेरै सोचविचार गरेर एउटा निष्कर्षमा पुगे- अफ सिजन उत्पादन गर्न सके बजार पाइन्छ । 

‘परम्परागत शैली तोडेर, सकेसम्म अफ सिजन उत्पादन गर्ने भन्नेमा लागेँ । कुनै चिज बजारमा उपलब्ध छैन भने त्यो उत्पादन गर्दा व्यापार सहज हुन्छ । प्रतिस्पर्धा कम हुन्छ । सिजनभन्दा अगाडि निकाल्यो भने वा पछाडि निकाल्यो भने फाइदा हुन्छ’, उनले भने ।

null

चार वर्षदेखि उनी कृषि पेशामा छन् । गाउँमा खेतीकिसानी गर्छन् । पृथ्वीनारायण क्याम्पसमा सोसियोलोजीमा मास्टर्स गर्दैछन् । घरमा भएको सानो टनेलबाट उनले पार्टनरसिपमा मणिदीप कृषि फर्म चलाइरहेका छन् । गतवर्षदेखि उनको फर्ममा तरबुजा उत्पादन हुन थालेको छ । 

शुरूमा परिवारसँग सल्लाह गरेका थिए उनले । पछि पोखरा महानगरपालिकासँग समन्वय भयो । तरबुजा लगाउनुपूर्व तोरी फलाउन खोजेका थिए । तर, उम्रिएन । त्यसपछि, महानगरको टोली अनुगमनमा पुग्यो । 

‘हामीले पोखरा महानगरको कृषि महाशाखाको समन्वयमा त्यहाँ तोरी लगाएका थियौं । त्यो तोरी उम्रिएन । अनि महाशाखाबाट अनुगमनका लागि प्रमुख नै जानुभयो । हेरेपछि यो माटो त बलौटे छ, यसमा तरबुजा नै गरौं भन्नुभयो’, रोशनले सुनाए । 

परीक्षणका गर्नका लागि मात्र भनेर लगाएको तरबुजाले फाइदा दियो । सवा दुई लाख फाइदा दिएपछि उनले व्यावसायिक रूपमा तरबुजा खेतीलाई अगाडि बढाए । 

‘सपोर्ट गर्न पालिका तयार छ भनेपछि हामीपनि तयार भयौं । पोहोर साल अलिकति ट्रायल गर्यौं, थोरै क्षेत्रफलमा । यसपालि चाहिँ कर्मसियल्ली जान खोज्यौं’, उनले भने । 

यो बाहेक अकबरे खुर्सानी, कांक्रा र अलैची खेतीमा पनि रमाएका छन् उनी । कालो सुन मानिने अलैची खेती उनले पाँच रोपनी क्षेत्रफलमा गरेका छन् । उनीसँगै साथमा छन्, शिधरलाल बराल पनि । उनीहरूले पोखरा-१३ मा मणिदीप कृषि फर्म चलाइरहेका छन् । 

खेती लहीलहीमा गर्न नहुने सुझाउँछन् उनी । कुन सिजनमा बजारमा के आउँछ ? माग कताबाट धानिएको छ ? त्यसरी बुझेर उत्पादन गर्न सक्यो भने फाइदा हुने उनको भनाइ छ । 

उनको फर्म मौमसी उत्पादनमा कम जोड दिन्छ । पोहोर मात्र पुस महिनामा कांक्रो व्यापारबाट राम्रो आम्दानी गरेको बराल सुनाउँछन् । 

उनी महानगरसँगको समन्वय र प्राविधिक सहकार्यमा व्यावसियक कृषिखेतीमा अगाडि बढिरहेका छन् । तर, कतिपय किसानलाई सरकारको अनुदान कार्यक्रामबारे थाहा नभएको उनको भनाइ छ । 

‘सरकारी निकायसँग समन्वय गर्ने किसानले फाइदा पनि लिनुभएको छ । थाहै नभएको किसानले अनुदानका कार्यक्रम प्रयोग गर्न पनि सक्नुभएको छैन’, उनले भने, ‘किसानले वास्ता नगरेर हो वा उसले त्यो बारेमा ज्ञान लिन नचाहेर हो, उसले खेती प्रणालीलाई व्यवसायमा ढाल्न नचाहेर हो । तर, गरिरहेको किसानले केही न केही रूपमा अनुदानतर्फ आर्कषित भइरहेका छन् ।’ 

अर्को कृषि गरिरहँदा प्राविधिकको कमी भएको उनको गुनासो छ । नेपालमा अझैपनि किसानको समस्या पहिचान गर्न सक्ने विज्ञको कमी भएको उनी बताउँछन् । 

null

‘प्राविधिक कुरा भनेको अलिकति जटिल कुरा पनि हो । किसानलाई सबैभन्दा चुनौती पनि प्राविधिक कुरा छ । प्राविधिक अभाव छ । एक वडा, एक प्राविधिक अनिवार्य हुनुपर्ने हो । किसानको खेती गर्दा आउन सक्ने समस्याको पहिचान गर्न सक्ने विज्ञ चाहियो, त्यो पहिचान गर्न सकियो भने बल्ल किसानहरू पनि अपडेट हुनसक्छन्’, बरालले भने । 

यद्यपि, आजभोलि अधिकांश किसान सामाजिक सञ्जालमार्फत अपडेट लिइरहेको बताउँछन्, उनी । साथै, साना किसानलाई थोरै जानकारी पालिकाले दिइरहेको उनको अनुभव छ । कृषि समूह सहकारीका अनुभवहरूबाट पनि कृषकमा एकआपसमा ज्ञान बाँडिने उनको भनाइ छ । 

‘खेती बाँझोपन बढेको छ । समाजमा अहिले रोग छ, त्यही बाँझो जग्गालाई धितो राखेर विदेश जाने प्यार्टन स्थापित भइसकेको छ । त्यो रोग आफूलाई नलागोस् भनेर खेतीमा रमाइरहेको छु’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्