![मातातीर्थमा बिहानैदेखि श्रद्धालुको भिड [हेर्नुहोस् ड्रोन तस्वीर]](https://lktcdn2.prixacdn.net/media/drone_shot_mata_tirtha_1_npfGDJeRTu.jpeg)
माथातीर्थ औँसीका अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आइतबार मेला लागेको छ । मातातीर्थमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने परम्परा छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।










