०३ असार २०८३, बुधबार

दुई महिना अगाडि बालसुधार गृहमा भएको त्यो झगडा...

बैशाख १५, २०८२
पाेखरा
दुई महिना अगाडि बालसुधार गृहमा भएको त्यो झगडा...
कास्की जिल्ला अदालत ।

बालसुधार गृहको कोठा नं. ६ पुग्दा कोठा छरपस्ट थियो । कोठाको भित्तामा रगतको छिर्का देखिन्थ्यो । १ फागुन २०८१ मा पोखरा-१८ ग्यारजती सराङकोटस्थित बालसुधार गृहभित्र बिहान करिब ५ बजेको समयमा कोठा नं. ६ बाट होहल्ला आयो । कोठामा होहल्ला भएपछि गृहमा बसेका कर्मचारी हतार-हतार त्यहाँ पुगे । 

कर्मचारी कोठामा प्रवेश गर्दा देखिएको दृश्य थियो, त्यो । सो दिन बिहान सोही गृहमा बस्ने पाँच बालबन्दीले आफूसँग बस्ने बन्दीलाई योजना बनाएर कुटपिट गरेका थिए ।
 
कास्की १, कास्की २, कास्की ३, कास्की ४ र कास्की ५ ले आ-आफ्नो कोठामा सुतिरहेका बालबन्दीलाई अपमानजनक शब्द प्रयोग गरी धाकधम्की दिँदै काठ, लाठी तथा हातमुक्का समेतले शरीरमा प्रहार गरी घाइते बनाएका थिए । घाइते बालबन्दीलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइएको थियो । 

गुपचुप राखिएको यो घटनाको कारण बालबन्दीबीच भएको मनमुटाव थियो । कुटपिटमा परेका चारजना बालबन्दी सराङकोट १, २, ३ र ४ बालसुधार गृहमा क्याप्टेनको हैसियतले डिउटीमा खटिन्थे । झगडाको निहुँ यहीँबाट शुरू भएको थियो । नियम सिकाउने बहानामा क्याप्टेनहरूले आफूहरूलाई कोठामा लगि कुटपिट गर्ने गरेको पनि बयान दिएका छन् । 

‘बालसुधार गृहमा बस्दा हामीले कहिलेकाहीँ स-सानो गल्ती गर्दा ती चार जना क्याप्टेनहरूले  हामीलाई बालसुधार गृहको नियम सिकाउने बाहना बनाएर कोठाभित्र लगेर काठको भाटाले कुट्ने गरेको हुँदा हामी पाँच जनाले ती चारजना क्याप्टेनलाई मौका मिलाएर कुटपिट गर्ने योजना बनाएका थियौं’, अभियुक्तहरूले बयानमा भनेका छन् । 

पीडित सराङकोट १ का अनुसार पीडकहरूले अनुशासनमा नबस्ने, गृहको नियम नमान्ने गर्थे । पाँच जना अभियुक्तले गुटबन्दी गरेर कुटपिट गर्छु भनी धम्की दिँदै आएका थिए । सोही क्रममा पाँच जना अभियुक्त पीडित सुतिरहेको कोठामा आइ अन्धाधुन्ध काठ र लाठीले कुटेको उनीहरूको भनाइ छ । 

बालसुधार गृहमा मनोविमर्शकर्ताको रूपमा रहेकी ज्योती शर्माको कागजी बयान अनुसार पनि अभियुक्तहरू ड्युटीमा खटिने क्याप्टेन र सहयोगी क्याप्टेनलाई अटेर गर्ने, बालसुधार गृहको नियम नमान्ने गर्दै आएका थिए ।
 
घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरी कारागार ऐनको कसुर अपराध स्थापित गरेको थियो । अनुसन्धानमा अभियुक्तहरूले कारागार ऐन, २०७९ को दफा ४९ को उपदफा १ ले निषेधित देहाय घ, को (१ ) र देहाय (ङ) को १, २ ले परिभाषित गरेको कसुर आकर्षित भयो । 

सो ऐनको दफा ४५ को कसुर तथा सजाय व्यवस्था अनुसार कारागारभित्र हुल दंगा गरेमा, बन्दी कारागार कार्यालयका कर्मचारीलाई आक्रमण गरेमा वा यातना दिएमा, दश वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म वा दुवै सजाय हुने व्यवस्था छ ।  

यस्तै, कारागारभित्र कुनै व्यक्तिउपर अपमानजनक वा धम्कीपूर्ण भाषा प्रयोग गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । ती अभियुक्तमध्ये एकजना चोरी, दुईजना जबर्जस्ती करणी र दुईजना कर्तव्य ज्यान मुद्दामा बालसुधार गृहमा सजाय भुक्तान गरिरहेका थिए । 

सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा यो मुद्दाको सुनुवाइ गर्‍यो । दाहालको इजलासले एक जनालाई कारागार चलान गरेको छ भने तीन जनालाई बालसुधार गृहमा पठाएको छ । अर्का एकजना धरौटीमा रिहा भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्