०८ साउन २०८३, शुक्रबार

जीपी कोइराला अस्पतालमा डायलासिस सेवा शुरू

बैशाख १८, २०८२
काठमाडौं
जीपी कोइराला अस्पतालमा डायलासिस सेवा शुरू

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवा शुरू गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार यो सेवाको उद्घाटन गरे । 
     
लायन्स क्लब इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा जीपी कोइराला लायन्स ‘हेमोडायलासिस युनिट’ स्थापना गरिएको हो । 

उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएका छन् । यसअघि तीन वटा उपकरणबाट डायलासिसको सफल परीक्षण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौं । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं’, डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइसकिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको थियो । शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा छ ।  

अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका, म्याग्दे, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका स्थानीय तहका बिरामीले सेवा लिने गरेका छन् ।     
     
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ । अस्पतालले केही समय अगाडिबाट ‘कल्चर’ सेवा पनि शुरू गरेको छ । 

अस्पतालमा बहिरङ्ग, आपत्कालीन, प्रयोगशाला, ‘भिडियो एक्सरे’, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।  

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि शुरू गरिसकेको छ । अस्पतालमा दैनिक २५० बढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्