
काठमाडौं, १५ मंसिर— प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार आरजु देउवा राणाले धनगढीमा घर किन्नुको रहस्य खोलेकी छिन् ।
आफ्नै निवासमा लोकान्तरसँग शुक्रबार बिहान लाइभ कुराकानी गर्दै आरजुले सुरुमा भाडामा घर खोजेपनि नपाएपछि किन्ने निर्णय लिएको बताइन् ।

उनले भनिन्, ‘म घरकिन्ने मूडमा आएको नै होइन यहाँ घर रेन्ट गरेर बस्ने मुडमा आएको हो । पूरै धनगढीमा खोज्दा पनि घर पाइएन् । हाल किनेको घर भाडामा माग्दा यो विक्रिमा भन्नु भयो ।’
उनले घर किन्ने कुरा ४ वर्ष अगाडि पनि भएको तर विविध कारणले किन्न नसकिएको भन्दै यो पाला आउँदा भने घर मन परेको र चाहिएकाले पनि किनिएको बताइन् ।
उनले घरका लागि ५० लाख बैना दिइसकेको पनि बताइन् । बैंकको भ्यालुएसनन २ करोड ३१ लाख भएको तर घरबेटीले ३ करोड भएकाले कुराकानी अझैं टुंगोमा पुग्न बाँकी रहेको उनले बताइन् । आफूले कलाली क्षेत्र नम्बर ५ मा १० हजार मतान्तरले जित्ने पनि राणाको दाबी थियो ।