०६ साउन २०८३, बुधबार

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति [पूर्णपाठ]

बैशाख २८, २०८२
काठमाडौं
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०८१/८२ को ९ महिना(साउनदेखि चैतसम्म)को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ९ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ ।

चैत महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ पुगेको छ । 

देशको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३६ अर्ब ४६ करोड रहेको छ । भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ९० अर्ब ३८ करोड छ । 

९ महिनामा उच्च शिक्षाका नाममा नेपालबाट १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । 

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय ९.५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५४ करोड पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १९.० प्रतिशतले वृद्धि भई १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । 

घट्यो महंगी

चालू आर्थिक वर्षको वर्षको ९ महिनामा उपभोक्ता मुद्रास्फीति अर्थात् महंगी ३.३९ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो ।

चैत महिनासम्म खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।

ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको छ ।​

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ ।

तर, काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ । 

यस्तो छ पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्