३१ जेठ २०८३, आइतबार
प्रहरीलाई थप जिम्मेवारी

कम्पनीका चेक बाउन्सको मुद्दा समेत हेर्नुपर्ने भएपछि दबाबमा प्रहरी, जनशक्तिको समस्या

जेठ २, २०८२
काठमाडौं
कम्पनीका चेक बाउन्सको मुद्दा समेत हेर्नुपर्ने भएपछि दबाबमा प्रहरी, जनशक्तिको समस्या

चेक बाउन्स (चेकमा प्रविष्ट भएको रकम बैंक खातामा नरहेको) का सबै उजुरी प्रहरीले हेर्नेगरी ऐन संशोधन भएसँगै प्रहरीमा मुद्दाको चाप बढ्ने देखिएको छ । 

व्यक्तिगत लेनदेन वा कारोबारमा काटिएका चेक बाउन्सका उजुरी प्रहरीले हेर्दै आएको थियो । अब कम्पनीका चेकको उजुरी समेत हेर्ने जिम्मेवारी प्रत्यायोजन गरेसँगै प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ । 

मुद्दा चल्ने प्रहरी इकाइले चेक बाउन्सका अलावा अरू दर्जनौं उजुरीमाथि अनुसन्धान गर्दै आएको छ ।

आर्थिक अपराध (विशेषगरी ठगी र बैंकिङ कसुर) का मुद्दाको चाप यसै पनि अहिले प्रहरी इकाइमा बढ्दो छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै दैनिक सयको हाराहारीमा चेक बाउन्सका उजुरी आउने गर्छन् ।

कम्पनीका चेकका मुद्दा समेत प्रहरीमा आउने भएपछि भएका जनशक्तिले थेग्न नसक्ने बुझाइ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा व्यापक संशोधन गरिएको छ । एकीकृत प्रणालीअन्तर्गत चेक बाउन्ससम्बन्धी उजुरी प्रहरीले मात्रै हेर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ ।

‘अहिले पनि अरू मुद्दालाई पन्छाएर बैंकिङ कसुरकै उजुरीमा प्रहरीले धेरै समय खर्चिनुपरेको छ,’ परिसरको मुद्दा फाँटका एक अधिकृतले लोकान्तरसँग भने, ‘एक त जनशक्तिको अभाव छ, अर्कातर्फ मुद्दाको चाप बढ्दा प्रहरीले कसरी काम गर्न सक्छ ?’ 

के छ नयाँ व्यवस्था ?

गत बुधबार राजपत्रमा प्रकाशित संशोधित ऐनअनुसार अबदेखि चेक बाउन्ससम्बन्धी मुद्दा प्रहरीमार्फत मात्र अघि बढ्नेछ । यसअघि पीडित व्यक्ति वा संस्था स्वयंले अदालतमा सिधै मुद्दा दर्ता गर्न पाउने व्यवस्था थियो ।

संशोधनसँगै विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७(क) खारेज गरिएको छ । उक्त दफामा चेक बाउन्स भएमा ५ वर्षसम्म मुद्दा दायर गर्न सकिने व्यवस्था थियो । अब नयाँ व्यवस्थाअनुसार चेक बाउन्स भएको अवस्थामा पीडितले एक वर्षभित्र सम्बन्धित प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न पाउँछन् । 

प्रहरीमा जाहेरी परेको मितिबाट ६ महिनाभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, चेक बाउन्स भएको एक वर्ष नाघिसकेको छ भने सो सम्बन्धमा अब कानूनी कारबाही अगाडि बढ्न सक्दैन । 

संशोधित ऐनअनुसार अब बैंक वा वित्तीय संस्थाले चेक फिर्ता भएपछिको प्रक्रियामा समेत नयाँ व्यवस्था गरिएको छ । खातामा पर्याप्त रकम नभएको आधारमा चेक अनादर भएमा बैंकले खातावाललाई चेक पेस भएको मितिबाट ४५ दिनको म्याद दिई चेकमा उल्लेख भएको रकम खातामा जम्मा गर्न सूचना दिनुपर्नेछ । 

उक्त अवधिभित्र खातावालले रकम जम्मा गरेन भने ३ दिनभित्र चेक बाउन्स भएको प्रमाणित गरेर चेक धारकलाई फिर्ता दिनुपर्नेछ । 

यसअघि चेक बाउन्स भएमा बिगो अर्थात् चेकमा उल्लेख रकम बराबरकै जरिवाना लाग्ने कानूनी व्यवस्था थियो । संशोधन अनुसार चेकमा उल्लेख भएको रकम र पाँच प्रतिशत बिगो काम गरिने उल्लेख छ । संशोधित ऐनमा मुद्दा मिलापत्रमार्फत टुंग्याउने प्रावधान पनि राखिएको छ । अघिल्लो कानूनी संरचनामा यो व्यवस्था मुलुकी अपराध कार्यविधि संहिताअनुसार सम्भव भए पनि अब मुख्य ऐनमै स्पष्ट रूपमा व्यवस्था गरिएको हो । यसले मिलापत्रलाई कानूनी आधारमा बलियो बनाएको छ । 

सजायको व्यवस्था के छ ? 

चेक बाउन्सबाट पीडितलाई भराउनुपर्ने बिगो १५ लाख रुपैयाँसम्मको छ भने दोषी व्यक्तिलाई अधिकतम एक महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । 

१५ लाखदेखि ५० लाख रुपैयाँसम्मको बिगो भएमा दोषीलाई ३ महिनासम्म कैद हुनेछ ।

बिगो ५० लाखदेखि १ करोड रुपैयाँसम्मको छ भने कैद अवधि १ वर्षसम्म हुनेछ । एक करोडदेखि १० करोड रुपैयाँसम्म बिगो भएमा दोषीलाई २ वर्षसम्म कैद सजाय हुनेछ । १० करोड रुपैयाँभन्दा माथिको बिगो भएमा ४ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

प्रहरीको तयारी कस्तो छ ? 

चेक बाउन्सका मुद्दा ७७ वटै जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दै आएका छन् । जुन जिल्लामा कारोबार भयो, त्यही जिल्लाको प्रहरी कार्यालयमा उजुरी दिनुपर्ने हुन्छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाका अनुसार कम्पनीका चेक बाउन्सका उजुरी समेत हेर्नुपर्ने अधिकार प्रहरीलाई प्रत्यायोजन भएसँगै प्रहरी तयारी अवस्थामा छ । 

उनले भने, ‘पहिलो कुरा जनशक्ति थप गर्नुपर्छ । जनशक्ति थपेर मात्रै हुँदैन, उनीहरूलाई तालिम एवं प्रशिक्षण चाहिन्छ र तेस्रो कुरा ठूला आर्थिक कारोबारको अडिट गर्ने क्षमता प्रहरीमा वृद्धि गर्नुपर्ने देखिन्छ ।’ 

थापाका अनुसार प्रहरीमा उजुरी आउने क्रम शुरू भएसँगै प्रहरीमा आवश्यक जनशक्ति एवं क्षमता विकास गर्दै जाने तयारी छ ।  

salt training

कमेन्ट गर्नुहोस्