३२ असार २०८३, बिहीबार
कांग्रेसमा सदस्यताको उल्झन

मंसिरमा महाधिवेशन गर्नुपर्ने कांग्रेसले बल्ल ४ जिल्लामा टुंगायो क्रियाशील सदस्यता, देशैभरि भद्रगोल

जेठ ४, २०८२
काठमाडौं
मंसिरमा महाधिवेशन गर्नुपर्ने कांग्रेसले बल्ल ४ जिल्लामा टुंगायो क्रियाशील सदस्यता, देशैभरि भद्रगोल

कांग्रेसमा दुईपटक थपिएको समयमा पनि चारवटा जिल्लाले मात्रै क्रियाशील सदस्यताको नवीकरण टुंग्याएका छन् । चैत मसान्तमा सदस्यता नवीकरण गर्ने म्याद सकिएपछि १५/१५ दिन गरी वैशाख मसान्तसम्मको समय दिइएको थियो । तर, यसबीचमा ७७ मध्ये जम्मा चारवटा जिल्लाले मात्रै सदस्यताको सबै प्रक्रिया पूरा गरेका हुन् । 

कांग्रेस स्रोतका अनुसार पार्टीको विधान, नियमावली र परिपत्र अनुसार पार्टीले दिएको समय अनुसार चारवटा जिल्लाले मात्रै सबै प्रक्रिया पूरा गरी क्रियाशील सदस्यताको विवरण केन्द्रीय कार्यालयमा बुझाएका हुन् । 

चारमध्ये सबैभन्दा पहिले सदस्यताको नवीकरण टुंग्याउने जिल्ला कार्यसमिति गोरखा बनेको छ । उसले यसअघि पहिलोपटक थपिएको म्यादको अन्तिम दिन अर्थात् वैशाख १५ गते सदस्यता नवीकरणको सबै प्रक्रिया पूरा गरी केन्द्रमा पठाएको हो । गोरखाबाहेक अर्घाखाँची, रोल्पा र बैतडीले पनि सबै प्रक्रिया पूरा गरेर सदस्यता नवीकरणको विवरण केन्द्रीय ‘सिस्टम’मा अपडेट गरेका छन् ।

‘अघिल्लोपटक समय दिएकै बेलामा गोरखा सबै विवरणसहित नवीकरण प्रक्रिया पूरा गरेर पहिलो भयो । त्यसपछि पनि अर्घाखाँची, रोल्पा र बैतडीले सबै विवरण र प्रक्रिया पूरा गरेर सदस्यता नवीकरणको अपडेट गरिसक्नुभएको छ,’ कांग्रेस स्रोतले भन्यो, ‘अन्य सात जिल्लाले पनि नवीकरण गरिएको जानकारी इमेलमार्फत् गराएका छन् । तर, वडादेखि जिल्ला कार्यसमितिसम्मको निर्णयसहितका प्रक्रिया पूरा गर्न बाँकी छ ।’ 

कोशी, गण्डकीका धेरै जिल्ला र गुल्मी सदस्यता टुंग्याउने प्रक्रियामा छन् । ७७ वटा जिल्लामध्ये पार्टीले दिएको समयभित्र १०/११ वटा जिल्लाले मात्रै सदस्यता नवीकरणको प्रक्रियालाई लगभग अन्तिम टुंगो दिन लागेका हुन् । 

अब बढीमा एक हप्ता, १० दिन जतिमा विवाद भएका बाहेकको सदस्यता नवीकरण टुंगिने कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । 

‘हामीले दुईपटक म्याद दियौं । धेरैले नवीकरण सकेर पठाउने प्रक्रियामा हुनुहुन्छ । अब पहिले जस्तो घोषणा गर्ने, परिपत्र गर्ने जस्ता काम गर्दैनौं । अब छिटो पठाऊ भनेर ताकेता मात्रै गर्छौं,’ केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘मधेसका लगभग सबै जिल्लामा विवाद छ । अन्य केही जिल्लामा पनि विवाद सकिएको छैन । यीबाहेक अबको १० दिन जतिमा धेरै जिल्लाको सदस्यता नवीकरणको प्रक्रिया टुंगिन्छ भन्ने विश्वास गरेका छौं ।’

अन्य जिल्लाले केन्द्रीय कार्यालयले विकास गरेको प्रणालीमा  इन्ट्री गरेका छन् । तर, मधेशको सिरहा क्षेत्र नम्बर ३ को विवाद, सिरहा नागरपालिकाको वडा नम्बर ६, महोत्तरीको बर्दिवासको दुई वटा वडा, सर्लाही क्षेत्र नम्बर ४ को केही वडामा चुनावका बागी, विद्रोहीको कारण विवाद छ । विवाद भएका ठाउँमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले फोन गरेर नियमित ताकेता गरेको छ । बागमती प्रदेशमा रामेछापबाहेक काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेसहितका जिल्लामा विवाद नभएको स्रोत बताउँछ । 

परिपत्र अनुसार प्रक्रिया पूरा नगरी सदस्यताको विवरण मात्रै अपडेट गर्नेलाई समितिले सदस्यताको प्रक्रिया पुगेको भनेर मानेको छैन । विवरण पार्टीले विकास गरेको सिस्टममा अपडेट गर्ने र सदस्यताको विषय टुंगिएको सबै तहको निर्णयको प्रतिलिपि पनि पठाउनुपर्ने छ । यी सबै पठाएपछि बल्ल सदस्यता नवीकरणको टुंगो लागेको मानिन्छ ।

मधेशका ८ जिल्ला र विवाद भइरहने सोलुखुम्बु, रामेछाप, सिन्धुलीसहितलाई सफ्टवेयर प्रणाली बन्द हुन लाग्यो भनेर म्यासेज पठाउने तयारी छ । ‘अरु जिल्लाले गरिरहेका छन् । हाम्रो सिस्टममा पनि अपडेटमा केही समस्या छन् । यसको सुविधा दिएका छौं । तर, अरूले सक्ने विवाद भएका जिल्लाले फेरि नसके अब बाध्यकारी समय दिन्छौं,’ केन्द्रीय कार्यालयका एक सचिवले भने, ‘कति जिल्ला यस्ता छन् कि अपडेटको सफ्टवेयर बन्द गर्छौं नभनीकन पठाउँदैनन् ।’

छैन अपडेट बुझ्ने जनशक्ति
पार्टीले सिस्टम बनाएर एक्सलमार्फत् सदस्यताको अपडेट गराउने प्रणाली विकास गरेको छ । तर, १० देखि ५० हजारसम्म सदस्यता एउटै जिल्लाबाट आउने स्थिति भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेही बताउँछन् । 

‘हामीले एक्सलको प्रणालीमा अपडेट गर्ने भएका छौं । तर, ५० हजारसम्म एउटै जिल्लाको अपडेट गर्नुपर्ने स्थिति छ । यसैले प्राविधिक थप्ने र अपडेटलाई सजिलो बनाउने तयारी पनि गरेका छौं,’ उनले भने, ‘उताबाट अपडेट गरेर मात्रै पुग्ने छैन । यताबाट पनि कन्फर्म गर्नेसहितका प्रक्रियामा जनशक्ति पनि आवश्यक हुने भएकोले थप गर्दैछौं ।’

सदस्यताको सिस्टम ह्याक नहोस् भन्नका लागि पनि केही समय लागेको उनी बताउँछन् । आईटी इन्जिनियर थप्ने र छिटो अपडेट हुने वातावरण बनाउने उनी बताउँछन् । 

केन्द्रीय पदाधिकारी र शीर्ष नेताले प्रतिनिधित्व गर्ने जिल्लामै समस्यताको विषय टुंगिन बाँकी रहेको एक नेता बताउँछन् । ‘केन्द्रीय पदाधिकारी र सिनियर नेताले सदस्यता नवीकरण टुंग्याउन पर्याप्त सहजीकरण गर्नुपर्ने हो । तर, त्यस्तो भइरहेको छैन,’ एक नेता भन्छन्, ‘सिनियरले नै आपसी समन्वय नगरिदिँदा सदस्यताको अन्योल सकिन समय लागेको हो ।’ 

कांग्रेसको १४ औं महाधिवेशनमा ८ लाख क्रियाशील सदस्य थिए । कांग्रेसका सबै कार्यसमितिको चार वर्षे नियमित कार्यकाल आगामी मंसिरभित्र सकिनेछ । विशेष अवस्थालाई देखाउँदै पार्टीले एक वर्षसम्म थप गर्न पाउनेछ । तर, सदस्यताको नवीकरण र त्यसपछि सदस्यता वितरणको प्रक्रिया सकेपछि बल्ल कांग्रेस महाधिवेशनको तयारीमा प्रवेश गर्नेछ । 

यसअघि महाधिवेशनको मिति घोषणा भएपछि क्रियाशील सदस्यताको विषय टुंगो लगाउने अभ्यास कांग्रेसको थियो । यसपटक सदस्यता टुंग्याएर मात्रै महाधिवेशनमा होमिने गरी महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले काम थालेको हो । तर, समयमा सदस्यताको टुंगो लगाउन उनीहरूलाई सकस परिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्