सर्लाहीको चन्द्रनगर गाउँपालिका– १ किसनपुरका अरविन्दकुमार पण्डितको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
हत्याको मुख्य कारण परस्त्रीसँगको सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पण्डितले अर्काकी श्रीमतीमाथि आँखा लगाउँदा उनको हत्या भएको देखिएको जानकारी दिएको छ ।
गत वैशाख २८ गते पण्डितको हत्या भएको थियो ।
पक्राउ पर्नेमा पण्डितकी प्रेमिका भनिएकी ईश्वरपुर नगरपालिका– ६ चिरानटोल बस्ने २५ वर्षीया नजिमा खातुन, नजिमाका श्रीमान मोस्तकिम अन्सारी, चिरानाटोलका मोहम्मद हुसेन मोमिन, सुयब अन्सारी, कोनूर आलम अन्सारी र सलाउद्दिन अन्सारी छन् । पक्राउ परेका सबै नातेदार भित्रैका हुन् ।
सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार मृतक पण्डित र अभियुक्त नजिमा खातुनबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
खातुन ३ सन्तानकी आमा हुन् । उनीहरू चैत १९ गते भागेर भारत पुगेका थिए । खातुनका श्रीमान मोस्तमिक अन्सारीले आफ्नी श्रीमतीलाई पण्डितले भगाएको भन्दै चैत २६ मा निवेदन समेत दिएका थिए ।
भारतमा एक महिना बसेर खातुन र पण्डित वैशाख २० गते नेपाल आए ।
गाउँमा पञ्चहरू बसेर पण्डितलाई चेतावनी दिँदै खातुनलाई ‘टर्चर’ नदिने सहमति गरेका थिए । अलग बस्न थालेकी खातुनको कोठामा पण्डित बेलाबेलामा आइरहन्थे ।
गाउँलेहरूले खातुन र पण्डितको सम्बन्धलाई लिएर कुरा काट्न थाले ।
पटक–पटक सम्बन्धलाई लिएर मानसिक तनाव खेपेपछि खातुनले आफ्ना श्रीमानलगायतसँग मिलेर पण्डितको हत्या गर्ने योजना बनाएको जानकारी डीएसपी राईले दिए ।
एकाएक पण्डित वैशाख २४ गते बेपत्ता भए । अनुसन्धानका क्रममा २८ गते खातुनले पण्डितलाई फूलजोर बाबा मन्दिरनजिकै भेट्न बोलाएको खुल्यो ।
बिहान ८ बजे पुगेका पण्डितलाई फूलजोर खोलातिर लगेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार फूलजोर बाबा मन्दिरमा भेट्न बोलाएर त्यसको एक घण्टापछि फूलजोर खोलातर्फ लगी प्रेमिका नजिमा, उनका श्रीमान मोस्तकिमसहितले पण्डितको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
हत्यापछि अभियुक्तहरूले पण्डितको शवलाई खोला किनारामा घाँसपात र घस्यौटाले छोपेर घर फर्किएका थिए । हत्या गरेको भोलिपल्ट वैशाख २९ गते राति ९ बजेतिर अभियुक्तहरूले अरविन्दको शवलाई ईश्वरपुर नगरपालिका– ८ थकरिया चौरीमा रहेको उखु बारीमा लगेर फालेको अनुसन्धानबाट खुलेको जानकारी एसपी खड्काले दिए ।
सडेको अवस्थामा पण्डितको शव वैशाख ३० गते प्रहरीले बरामद गरेको थियो । मृतकका दाजु अशोककुमारले शवको सनाखत गरिदिएको जानकारी प्रहरीले दिएको छ ।
‘अभियुक्तमध्ये मोहम्मद हुसेन मोमिनले मृतक पण्डितको चप्पल लगाएका रहेछन्, उक्त कुरा पण्डितका बुवाले देखेर पत्ता लगाइदिए,’ एसपी खड्काले भने, ‘पक्राउ परेका ६ जनालाई नै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरिएको छ ।’