
१५ औं महाधिवेशनमा पुनः सभापतिमा दाबेदारी गर्न नमिल्ने अवस्थामा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई उनी निकटकै नेताले दबाब बढाउन थालेका छन् ।
पारिवारिक विरासतप्राप्त तीन नेता डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले एक वर्ष अगाडिदेखि शुरू गरेको दबाब समूहमा ८ नेता पुगेका छन् ।
देउवाकै विश्वासपात्र नेता र टीमका पदाधिकारी नै थपिन थालेका छन् ।
प्रवक्ता डा. प्रकाशशरण महतपछि यो ८ भाइको समूहमा उपसभापति पूर्णबहादुर खड्काले पनि जोडिने वचन दिएका छन् । आइतबार सानेपामा छोराको अपार्टमेन्टमा पूर्व उपसभापति गोपालमान श्रेष्ठले ८ जना नेतालाई सँगै उभ्याउन खोजेका थिए ।
तर, स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्का र जहाज डिले भएका कारण विजय गच्छदार उपस्थित नभएको उक्त समूहको दाबी छ ।
यी दुईबाहेक श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत आइतबारको भेलामा सहभागी थिए ।
डा. शशांकबाहेक निधि, सिंह र सिटौला सभापतिमा उम्मेदवार भएर टेस्ट भइसकेका नेता हुन् । देउवा टीममै रहेर सह–महामन्त्री, महामन्त्री र उप–सभापति भएका खड्का आफू निर्विवाद सभापतिको उम्मेदवार यही समूहबाट बन्न पाउनुपर्ने मतमा छन् । खड्का समूहको राजनीतिमा हुने यस्ता गतिविधिप्रति रुचि राख्ने नेतामा भने पर्दैनन् ।
‘हामी ८ भाइ हुने भन्या, तर आइतबार गच्छदारजी जहाज ढिलो हुँदा आउनुभएन । पूर्णजी आउँछु भन्नुभएको थियो, अस्पतालमा फलोअप भएका कारण आउनुभएन,’ गोपालमानले भने, ‘हामी यसरी लगातार बस्दै आएका छौं । अरू साथी बटुल्छौं । पदाधिकारी, सहमहामन्त्रीसहितका नेता थप्दै जान्छौं ।’

बालकृष्ण खाँण, जिपछिरिङ लामासहितका नेता अब थपिने जानकारी श्रेष्ठले दिए ।
‘अबको भेलामा साथीहरू प्लस हुन्छन्, किनकि पूर्णजी थपिइसक्नुभएको छ । थप साथीहरू जम्मा गरेर पार्टीलाई दबाब दिन्छौं,’ श्रेष्ठले भने, ‘हामीले १५ औं महाधिवेशनको तयारीलाई नजिकबाट हेरेका छौं । सरकार र पार्टीका गतिविधिलाई नजिकबाट हेर्ने र समीक्षा गर्ने काम भएको छ । सरकारलाई सुधार गरेर जनतामुखी बन्न दबाब बढाउँछौं ।’
यो समूहले देउवानिकटका सबै नेतालाई आफूहरूको समूहमा मिसाउने र सभापतिलाई दबाब बढाउने नीति लिएको अर्का एक नेता बताउँछन् ।
‘हामी समूहका रूपमा सभापति देउवाको विकल्प बनेर उभिएका होइनौं । तर, उहाँलाई खबरदारी गर्न उहाँकै पक्षधर नेता एक ठाउँमा उभिएका हौं,’ सो समूहका एक नेता भन्छन्, ‘सभापतिजी अब सक्रिय राजनीतिबाट विस्तारै टाढिँदै जाने भएपछि सबै नेता मिलौं र भरपर्दो विकल्प अगाडि सारौं भन्ने मात्रै हाम्रो स्वर्थ हो । यसैले उहाँका वरिपरिका सबैलाई समेट्दै छौं ।’
यसअघि फागुन २ गते ११ जना नेताले सभापति देउवालाई भेटेर १५ औं महाधिवेशनको तयारी, नीति र नेतृत्वको विषयमा ध्यानाकर्षण गराएका थिए ।
‘यसअघि मेरै नेतृत्वमा सभापतिलाई भेटेका थियौं । हाम्रो उद्देश्य नेता विशेषलाई मात्रै अगाडि बढाउनुपर्यो भन्ने होइन,’ सिटौलाले भने, ‘अब सभापति अगाडि नबढ्ने भएपछि कसले चुनौती चिर्न सक्छ । चुनौती के हुन् भन्नेमा खुलेर छलफल गरौं, पार्टीलाई एउटा दिशा दिऊँ भनेर भेला भएका हौं ।’
तर, त्यतिखेर देउवाले कुनै वचन दिएका थिएनन् । यही समूहबाट आफू नेता बनेको भन्दै समय आएपछि घोषणा गरेर जाने बताएका थिए ।
नेताहरूबाट दबाब आए पनि देउवा तत्काल कुनै नेता विशेषलाई विरासत बिसाउने पक्षमा छैनन् । असन्तुष्ट हुनेलाई पनि उनले रोक्न कुनै अग्रसरता नलिएको उनीनिकट स्रोत बताउँछ । देउवाको यही मौनताले उनीनिकटका नेता झस्किन पुगेका छन् ।
विधानअनुसार यही वर्षको मंसिर मसान्तसम्म १५ औं महाधिवेशन गर्नैपर्ने स्थिति छ । तर, आइतबार बसेको ६ भाइको बैठकले क्रियाशील सदस्यताको विषयमा भएको अलमल र समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएको पूर्व उपसभापति विमलेन्द्र निधिले बताए ।
‘धेरैले अगामी नेतृत्वका लागि मात्रै हो कि भन्ने ठान्छन् । तर, महाधिवेशनको तयारीका लागि टुंग्याउनुपर्ने क्रियाशील सदस्यतका लागि पदाधिकारी जिम्मेवार भएनन्,’ निधिले लोकान्तरसँग भने, ‘म, प्रकाशमानजी, सिटौलाजी महामन्त्री भएरै सदस्यता टुंग्याएका नेता हौं । तर, अहिलेजति भद्रगोल त्यतिखेर थिएन । यस्तै ढिलाइबारे पार्टीको ध्यानाकर्षण गराउन खोजेका हौं ।’
दुईपटक समय थप गरे पनि ४ जिल्लाले मात्रै सदस्यता टुंग्याएकाले बाँकीको विषयमा दबाब बढाउने पक्षमा दबाब समूहका नेता छन् । पार्टीमाथि दबाब बढाउनका लागि सातवटै प्रदेशमा कार्यक्रम गरेर जाने तयारी पनि यो दबाब समूहले गरेको नेता श्रेष्ठले जानकारी दिए ।
‘हामी जेठको अन्तिमसम्म काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको बारेमा एउटा व्यापक छलफल कार्यक्रम गर्दैछौं । प्रकाशमानजीले यसको संयोजन गर्नुहुनेछ,’ श्रेष्ठले भने, ‘त्यसमा कार्यपत्र पनि प्रस्तुत गर्छौं । गणतन्त्रको विकल्प खोज्नुपर्छ, बहसका बीच विकल्प खोज्नुपर्ने स्थिति आको छैन, बरु हामी नै सुधारिएर जानुपर्छ भन्नेमा छौं ।’
काठमाडौंमा कार्यक्रम गरेपछि यस्तै स्वरूपका कार्यक्रम अन्य ६ प्रदेशमा पनि राख्ने तयारी यो दबाब समूहको छ । समूहले सरकारको काम प्रभावकारी नभएको भन्दै प्रश्न पनि उठाएको छ ।
‘अहिलेको प्रधानमन्त्रीलाई सुध्रन एक वर्ष बाँकी छ । धेरै सुधारका काम गर्नुपर्छ । भ्रष्टाचारीलाई मेरो–तेरो नभनी कारबाहीको दायरामा ल्याउनुपर्यो । अहिले आउने बजेट आशाप्रद हुनुपर्यो । युवा, किसान, उद्योगी व्यवसायी, पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने र अर्थतन्त्रलाई सुधारको बाटोमा लिएर हिँड्ने गरी आउनुपर्यो भन्ने हाम्रो माग छ,’ श्रेष्ठले भने, ‘१३ महिना सुशासन दिनका लागि पर्याप्त समय हो । ७ बुँदे सहमतिको उद्देश्य नै यही हो । साथै, संविधान संशोधन पनि सबैसँग सहमति गरेर गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

अप्ठ्यारो नपर्ने गरी नेतृत्व, युवाले हतार गर्न नहुने मत
यसअघि सभापति देउवाकोमा जाँदा डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई कुनै हालतमा रोक्ने हिसाबले नेताहरू प्रस्तुत भएका थिए ।
१५ औं महाधिवेशनका लागि गगन र शेखरले नै फेरि पनि तयारी तीव्र बनाएका छन् । यसैले देउवानिकट रहेकै नेताहरूले सभापतिमाथि दबाब बढाएर सर्वमान्य नेता तोक्नुपर्ने माग गर्दै आएका छन् । नेता श्रेष्ठ पनि नेतृत्वको कुरा आउँदा कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी अगाडि सार्नुपर्ने पक्षमा आफूहरू रहेको बताउँछन् ।
‘नेतृत्वको विषयमा प्रवेश गर्दा कसैलाई अप्ठ्यारो नपर्ने गरी जानुपर्छ । उपसभापति, महामन्त्रीमा उठ्न हिच्किचाउन नपर्ने गरी सिनियर नेतालाई अगाडि बढाउँछौं,’ श्रेष्ठ भन्छन्, ‘पञ्चायतसँग लडेका, खारिएका, संघर्ष गरेका, जेलनेल खाएका साथी छौं । ५ देखि ६ दशक योगदान गरेका साथीभाइ एक ठाउँमा छौं । यसैले युवा अहिले नै फर्स्टम्यानका लागि आत्तिनुहुँदैन, विस्तारै–विस्तारै आउनुपर्छ । हामी पनि युवालाई साथ लिएर उहाँहरूलाई नेतृत्वमा पुर्याउनुपर्छ भनेरै लागेका छौं ।’
नेतृत्वका लागि महामन्त्री गगन थापासहितका नेताले दबाब बढाए पनि यो दबाब समूहले युवा नेताको नेतृत्वमा पुग्ने बेला नभएको निष्कर्ष निकालेको हो ।
पुराना नेताले नेतृत्वमा आउन रोक्ने प्रयास गरेकै बेला महामन्त्री थापाले दाइहरूलाई धन्यवाद भन्नुपर्ने बेला आएको टिप्पणी गरेका छन् ।
‘मुलुकमा यतिखेर उकुसमुकुसको स्थिति छ । देशप्रति जनताको भरोसा टुटेको छ । नेपाल बन्छ भन्ने विश्वास टुटेको अवस्थामा समस्या समाधान गर्नका लागि जिम्मेवारी उठाउन हामी तयार हुनैपर्छ,’ सान्दाजु नामक पुस्तक विमोचन गर्दै थापाले सोमबार भने, ‘जिम्मेवारी उठाउन तयार बनौं, दाइहरूलाई अब धन्यवाद भनेर बिदा गरौं ।’