३२ असार २०८३, बिहीबार
विवादमा मुछिएका जनप्रतिनिधि

बहालवाला ७ प्रदेश सांसदलाई दाग– कागज कीर्ते, अपहरणदेखि भ्रष्टाचार मुद्दासम्म

जेठ १३, २०८२
बुटवल
बहालवाला ७ प्रदेश सांसदलाई दाग– कागज कीर्ते, अपहरणदेखि भ्रष्टाचार मुद्दासम्म

लगातार दुईपटकसम्म कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित विष्णु पन्थी सम्भावना बोकेका नेतामा पर्थे । 

निष्ठावान तथा इमान्दार राजनीतिज्ञको पहिचान बनाएका एमाले युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री पन्थीविरुद्ध वैशाख अन्तिम साता अदालतबाट पक्राउ पुर्जी जारी भयो । बहालवाला सांसद पन्थीको छवि बिग्रिने गरी एकाएक पक्राउ पुर्जी जारी भएपछि धेरैले विश्वास समेत गरेनन् । 

आर्थिक लेनदेन मुद्दामा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिगो रकम दाखिला गरेपछि उनलाई पक्राउ नगर्ने आदेश आयो । 

पाल्पाको सिस्नेखोलामा विद्युत् उत्पादन गर्ने गरी ५० जनाको साझेदारीमा खोलिएको ‘हाइड्रो पावर’ कम्पनीले उधारोमा खरिद गरेको सामानको भुक्तानी नदिएको विषयमा पदाधिकारी र सञ्चालकलाई छाडेर पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सांसद पन्थीले शेयर सदस्य नै नभएको हाइड्रोपावर कम्पनीको सार्वजनिक मुद्दाले आफूलाई बदनाम बनाएको, व्यक्तिगत जीवन र सार्वजनिक प्रतिष्ठामा गम्भीर चोट पुर्‍याएको बताउँदै यसको कानूनी उपचार खोज्ने बताए । आफूमाथि अदालतले पनि लापरबाही गरेको पन्थीको आरोप छ ।  

***

जनमत पार्टीकी प्रदेशसभा सदस्य गीता गुरुङ सांसद पद त्यागेर बेलायत पलायन भइन् । संसद्को एकतिहाइ बैठकमा समेत नआएर विवादमा तानिएकी सांसद गुरुङले उतैबाट सभामुखलाई पत्र लेखेर राजीनामा दिएकी हुन् ।

सार्वजनिक जिम्मेवारी छाडेर विदेशिएपछि पार्टीभित्र पनि उनको आलोचना हुँदै आएको थियो ।

रूपन्देहीकी समानुपातिक सांसद गुरुङले दिएको राजीनामा उनको स्वयं उपस्थितिविना स्वीकृत नहुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

संसद्मा अनुपस्थित उनले नीति निर्माण तहमा पुगे पनि जनताको कर नलिने भन्दै पद छाडेको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

सदनमा उपस्थित नहुने र पार्टीको सम्पर्कमा समेत नरहने गरेका कारण खैलाबैला मच्चिएका बेला गीता पटक–पटक बेलायत जाने/आउने गरेको खुलेको छ ।

जनमत पार्टीको संसदीय दलका नेता चन्द्रकेश गुप्ता (सीके)ले पार्टीको नीति, अनुशासन र निर्देशनविपरीत गुरुङ सम्पर्कविहीन रहेको बताए ।

***

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्य जानकीप्रसाद यादव १२ फागुन २०८० मा निलम्बनमा परे । कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित यादवविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा मुद्दा चलाएको थियो । 

साढे २ महिना निलम्बनमा परेका सांसद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । 

अदालतले वि.सं. २०८१ वैशाखको दोस्रो साता सफाइ दिएपछि उनको निलम्बन फुकुवा भयो । यादव पूर्व उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री समेत हुन् । 

***

सरकारी कागजात कीर्ते मुद्दामा रुकुम पूर्व १ (क) बाट निर्वाचित कांग्रेस प्रदेश सांसद धनबहादुर केसी (डीबी) २३ भदौ २०८१ मा जेल चलान भए । 

तीनदशक अघि केसीलाई साविक रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

प्रदेश सभामा हाजिर गरे पनि फरार सूचीमा रहँदै आएका उनलाई कानूनी कारबाहीको माग गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाइएपछि दबाबमा परेका उनी आफैं कारागारमा उपस्थित भएका थिए । 

जेलचलान भएको भोलिपल्टै भुक्तान गर्न बाँकी कैद बराबरको रकम तिरेर सांसद डीबी थुनामुक्त भए । दुई श्रीमती रहेका उनकी कान्छी श्रीमती राधा बोहोरा केसीले वि.सं. २०४६ सालमा सम्बन्धविच्छेद मुद्दा समेत दिएकी थिइन् । 

***

लुम्बिनीका अर्का विवादित प्रदेशसभा सदस्य हुन्, बाँके क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित बादशाह कुर्मी ।

पूर्व वन तथा वातावरण मन्त्री कुर्मीलाई नेपालगञ्जकी निर्मला कुर्मीलाई अपहरण तथा बेपत्ता पारेको आरोप लाग्दै आएको छ । 

निर्मलालाई बेपत्ता पार्ने मुख्य आरोपित व्यक्तिलाई सांसद र मन्त्री बनाएको भन्दै महिला अधिकारकर्मीहरूद्वारा लामो समयदेखि आन्दोलन चलिरहेका बेला मन्त्री बनेका उनले चौतर्फी दबाबपछि डेढ महिनामै राजीनामा दिए ।

वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारमा उनलाई मुख्यमन्त्री आचार्यले २०८१ साउन ९ गते मन्त्री नियुक्त गरे पनि दबाबपछि भदौ २५ मा राजीनामा दिए । अहिले सांसदका रूपमा प्रदेशसभा बैठकमा उपस्थित हुने गरेका छन् । 

***

बाँकेका एमाले सांसद रत्नबहादुर खत्री सवारी चालक अनुमति पत्र (लाइसेन्स) कार्यालयका कर्मचारीसँग शङ्कास्पद आर्थिक गतिविधिमा जोडिएको आरोपमा अनुसन्धानमा तानिएका छन् ।

बाँके क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद खत्रीले यातायातका कर्मचारीलाई डकुमेन्ट पठाएको बयानका क्रममा बताएका थिए । 

सांसद तथा पूर्व सामाजिक विकास मन्त्री खत्रीले आफूलाई बदनाम गराउन यस्ता आरोप लगाइएको बताए । 

‘मैले जिल्लाबासीको नाताले सहजीकरण गरिदिनका लागि पहल गरेको हो,’ खत्रीले भने, ‘मलाई अख्तियारले पत्र काटेको छैन । फोन गरेको छैन । राजनीतिमा अप्ठ्यारो बनाउने हो । राजनीति गर्नेलाई यस्तो आरोप आइरहन्छ । जनताले वास्तविकता बुझेका छन् ।’

***

खत्रीसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का बाँकेबाटै प्रतिनिधित्व गर्ने सांसद अम्बिका काफ्लेको नाम पनि सोही विषयमा जोडिएर विवादमा तानियो ।  काफ्लेले उक्त आरोपमा आफू निर्दोष रहेको बताइन् । काफ्ले समानुपातिक सांसद हुन् । 

अख्तियारले गत १९ चैत २०८१ मा यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायव सुब्बा मुकुन्दराज केसी र मामाभाञ्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोपाइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको थियो । 

उनीहरू अहिले धरौटीमा छुटेका छन् । लुम्बिनी प्रदेशसभामा ८७ सांसद छन् । पछिल्लो समय सांसदहरू विभिन्न मुद्दा र आरोपमा मुछिँदै आएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले कानूनी प्रक्रियामा जानुपर्ने विषयमा मात्र प्रदेशसभाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताए । 

‘केही विषय सामाजिक सञ्जालमा चर्चामा आएका माननीयहरूको व्यक्तिगत कुरा हो, कानूनीरूपमा कारबाहीको प्रक्रिया भए प्रदेश सभाले हेर्ने हो,’ सचिव पुनले भने । 

salt training

कमेन्ट गर्नुहोस्