०९ साउन २०८३, शनिबार
बुटवल घटनाको भित्री कथा

सुजन जेल परेपछि दीपाले गरेकी थिइन् डिभोर्स, आम माफीपछि आमासहित २ छोरीको हत्या

जेठ १४, २०८२
बुटवल
सुजन जेल परेपछि दीपाले गरेकी थिइन् डिभोर्स, आम माफीपछि आमासहित २ छोरीको हत्या

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजन स्कूलनजिकै मिलिजुली पथ छ । सधैँ व्यस्त रहने होराइजन चोकको उत्तरतर्फ पर्छ, मिलिजुली पथ । त्यहाँबाट सय मिटरअघि बढेपछि नीलो टिनको छानोसहितको एक तले ‘सुजन निवास’ देखिन्छ ।

घरमा बाहिरै देखिने गरी हस्तकलामा सामग्री बिक्रीमा राखिएका छन् । घरमा एक वर्षदेखि सुजन कोइराला बस्दै आएका थिए । बुधबार बिहानसम्म मिलिजुली टोल शान्त थियो । घाम चर्कँदै जाँदा माहोल एकाएक अशान्त भयो । साढे ७ बजेतिर घरमा प्रहरी पुगेपछि स्थानीय चकित परे । 

अनि केही छिनमै सुजनले पूर्व पत्नी र उनका २ छोरीको हत्या गरेको सार्वजनिक भयो, त्यो पनि आफ्नै घरमा बोलाएर । यो घटनाले टोलमा सन्नाटा छायो । 

पाल्पाको तानसेनमा स्वास्थ्यकर्मीको रूपमा कार्यरत पूर्वी नवलपरासीको कावासोती घर भएकी सुजनकी पूर्व पत्नी ३३ वर्षीया दीपा बस्याल तथा उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीलाई सुजनले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

nullसुजनको विगत पनि आपराधिक छ । उनी आफ्नै दाजुको हत्या गरी जेलसमेत बसेको खुलेको छ ।

‘सुजन आफ्नै दाजुको हत्या गरी जेल बसेको र संविधान दिवसमा गत वर्ष आममाफी पाएर छुटेको बुझिएको छ । छुटेको एक वर्षमै आफ्नै घरमा बोलाएर पूर्व पत्नीसहित २ छोरीको हत्या गरेको देखिन्छ,’ रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सुरज कार्कीले लोकान्तरसँग भने, 'थप अनुसन्धान गर्दैछौं ।’ 

सुजनकै साथीले हत्याको खबर गरेपछि प्रहरी पुगेको थियो । सुजनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । 

सुजन र दीपाको १० वर्षअघि प्रेम विवाह भएको हो । विवाह गरेको ४ महिनामै सुजन आफ्नै सहोदर दाइ सुधीरको हत्या गरी जेल चलान भएपछि दीपा टाढिएकी थिइन् ।

दीपाले सुजनसँग सम्बन्धविच्छेद नै गरेर कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् । हत्या गरिएका दुई छोरी हाल यूएईमा कार्यरत ढकाल र दीपा दम्पतीका हुन् । 

सुजनले जेलमा बसेर हस्तकलाका सामग्री बनाउने गरेका थिए । राम्रो आचरण देखाएको भनेर गत वर्ष गणतन्त्र दिवसमा उनी राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । 

प्रहरीका अनुसार जेलबाट छुटेपछि उनले आफूले बनाएका हस्तकलाका सामग्री घरमै बिक्री गर्न थालेका थिए । टोलछिमेकमा पनि राम्रो व्यवहार देखाउँथे। 

null

डिभोर्स गरेर अर्कैसँग बिहेसमेत गरिसकेकी दीपा फेरि किन सुजनको घर गइन् भन्ने खुलेको छैन ।

उनीहरू फेरि कसरी नजिकिए र सुजनले दीपालाई कसरी आफ्नो घरमा बोलाए भन्नेबारे अनुसन्धान भैरहेको डीएसपी कार्कीले बताए ।

दीपा दुई छोरी लिएर मंगलबार बेलुका सुजनको घरमा आएको खुलेको छ । दीपा मस्त निदाइरहेका बेला सुजनले धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

‘पूर्वश्रीमानले डिभोर्स भइसकेकी पूर्व श्रीमतीको हत्या गरेको देखिएको छ । पूर्वश्रीमती र बच्चाहरू हिजो (मंगलबार) आएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले भने, ‘बिहान ४ बजे हत्या गर्‍यो भन्ने खबर पाएपछि हामी आयौं । धारिलो हतियार र चक्कु प्रहार गरी हत्या गरेको छ । एउटै बेडमा हत्या गरेको देखिन्छ ।’

सुजन र दीपाबीच सम्पर्क हुने माध्यमसमेत खुलेको छैन । तर, केही समय अघिदेखि बेलाबेला एकजना महिला मास्क लगाएर सुजनको घरमा आउने गरेको छिमेकीहरूले बताएका छन् । 

दीपा र उनका छोरीहरूको हत्यापछि सुजनले बिहान घरबाहिर छिमेकीसँग गफगाफ पनि गरेका थिए ।

सुजनको घरनजिकैकी पदमा राना भन्छिन्, ‘म बिहान घर बाहिर थिएँ । सुजनले दिदी नमस्ते भने । मैले के छ भाइ भन्दा ठीक छ भनेर भित्र गएका थिए । त्यसपछि म पूजा गर्न गएँ । त्यसको केहीबेरमा प्रहरी आएपछि सबै थाहा भयो ।’ 

केही समयदेखि नै सुजनको घरमा एकजना महिला आउने गरेको आफूले देखेको उनले बताइन् ।

‘केही दिनदेखि त्यो घरमा एकजना महिला आउने गरेको मैले देखेको थिएँ । तर, तिनी को हुन् भन्ने मलाई थाहा थिएन । मास्क र क्याप लगाएर आउँथिन्,’ उनले भनिन् । 

यस्तै, दीपाकी दिदी मञ्जु अर्यालले पनि दीपा कसरी सुजनको घरमा गइन् भन्ने आफूले बुझ्न नसकेको बताइन् ।

‘उनीहरू फेरि कसरी नजिकिए । उसले कसरी आफ्नै घरमा बोलाउन सक्यो । हामीले केही बुझ्न सकेका छैनौं,’ दिदी मञ्जुले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्