
कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमलाई सफाइ दिएको हो ।
मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
अहिले आलमसहित ४ जनाको हकमा उक्त फैसला उल्टिएको उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीले लोकान्तरलाई जानकारी दिए ।
आलमका अलावा महाताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीले सफाइ पाएको भण्डारीले बताए ।
वि.सं. २०६४ को संविधानसभा निर्वाचनताका रौतहटमा इँटाभट्टामा जिउँदै आफ्ना कार्यकर्ता जलाएको अभियोग आलममाथि थियो ।
संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो ।
त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलममाथि लागेको थियो ।