
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा बिहीबार पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन् ।
१९ खर्बको बजेटमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब व्यहोर्ने घोषणा अर्थमन्त्रीको छ ।
बजेटमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अर्थमन्त्रीको विश्वास छ ।
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ११ करोड बजेट विनियोजन गरिएको छ ।
पौडेलले मुद्रास्फीति ४.६ प्रतिशतबाट आगामी आर्थिक वर्षमा ३.४ प्रतिशतमा झर्ने घोषणा गरेका छन् । साथै, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा मुख्य प्राथमिकता दिएका छन् ।
यसअघि जस्तो लोकप्रिय कार्यक्रम नराखी सरकारले साढे ४ हजार आयोजना कटौती गरेको छ ।
कर्मचारीको तलब १५ प्रतिशतसम्म बढ्ने हल्लाका बीच सरकारले महंगी भत्ता मात्र बढाएको छ । उक्त भत्ता ५ हजार पुर्याइएको हो ।
३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा
युवा उद्यमशीलता बढाउन ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिइने भएको छ ।
यो कार्यक्रमले युवा रोजगारीमा क्रान्तिकारी परिवर्तन आउने दाबी अर्थमन्त्रीले गरेका छन् । ‘काम खोज्न होइन, काम दिने युवा’ तयार पार्ने अर्थमन्त्रीको घोषणा छ ।
स्नातक पास गरेकालाई स्वयंसेवी शिक्षक
सरकारले स्नातक तह पास गरेका शिक्षकलाई स्वयंसेवी शिक्षक बनाउने कार्यक्रम ल्याएको छ । सरकारले सामुदायिक शिक्षाको लागि गुणस्तर बढाउन यस्तो कार्यक्रम ल्याइएको जनाएको छ ।
त्यस्तै, सरकारले अंग्रेजी, विज्ञान र गणित विषयको गुणस्तर बढाउन विश्वविद्यालयसँगको समन्वयमा शिक्षक बैंक स्थापन गर्ने पनि जनाएको छ ।
साथै, पढ्दै गरेका विद्यार्थीलाई साताको २० घण्टा काम मिलाउने घोषणा पनि बजेटमा समेटिएको छ ।
जंगलमा फलफूल रोप्न ‘फ्रुट फरेस्ट’
समुदायसँग सहकार्य गरेर वन जंगल क्षेत्रमा फलफूल र वनस्पतिको विरुवा रोपिने कार्यक्रम सरकारले ल्याएको छ । त्यस्तै, राष्ट्रिय राजमार्गको दायाँबायाँको क्षेत्रमा फलफूल, जडिबुटी र उच्च मूल्यका वनस्पति वृक्षारोपण गरिने, यसको संरक्षणका लागि समुदायलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको छ ।
यसै वर्ष ५ लाखलाई जग्गाको लालपुर्जा
सरकारले यसैवर्ष ५ लाख परिवारलाई जग्गाधनीपुर्जा दिइने घोषणा गरेको छ । यस्तो कार्यक्रममा सुकुम्बासी, दलित, भूमिहीनलाई प्राथमिकता राखिने अर्थमन्त्रीको घोषणा छ । सरकारले सरकारी र सार्वजनिक जग्गाको अभिलेखलाई व्यवस्थित गर्ने घोषणा पनि गरेको छ ।
प्रधानमन्त्रीको गृहजिल्लामा आधुनिक रंगशाला
सरकारले बजेटमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा आधुनिक रंगशाला निर्माण गर्ने कार्यक्रम अगाडि सारेको छ । बजेटमार्फत अर्थमन्त्री पौडेलले झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने घोषणा गरेका हुन् ।
चामलमा २ वर्षभित्र आत्मनिर्भर
सरकारले २ वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने महत्त्वाकांक्षी योजना अगाडि सारेको छ । यसका लागि चैते धान उत्पादन बढाउन तराई मधेशका २२ जिल्लामा सिँचाइ आयोजना ल्याइएको छ ।
सहकारीपीडितको बचत फिर्ता गर्न सम्पत्ति लिलाम गरिने
सरकारले सहकारी पीडितको बचत फिर्ताका लागि कोष स्थापन गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पीडितको बचत फिर्ताका लागि सहकारीका रकम र सम्पत्ति लिलाम गरी बचत फिर्ता गर्न कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै, सरकारले सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरेर ऋण असुल्ने कामलाई प्राथमिकतामा राखेको छ ।
काठमाडौंमा प्रविधि पार्क र एआई सेन्टर, हेटौंडासम्म पोडवे
बजेट वक्तव्यमार्फत सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क बनाउने र एआई सेन्टर खोल्ने घोषणा गरेको छ । साथै, काठमाडौंबाट हेटौंडासम्म पोडवे सञ्चालनको सम्भाव्यता अध्ययनलाई पनि बजेटमा समेटिएको छ ।
महिलाको नाममा उद्योग दर्ता गरे नवीकरण शुल्क नलाग्ने
सरकारले महिलाका लागि उद्योग दर्ता गरे नवीकरण शुल्क नलाग्ने घोषणा गरेको छ ।
‘महिलालक्षित उद्यमशीलता प्रवर्द्धन गर्नका लागि रोजगारी तथा स्वरोजगारीका अवसरहरू वृद्धि गरिनेछ,’ अर्थमन्त्रीले भने, ‘महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ ।’
टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधारणलाई
सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सर्वसाधारणलाई दिने शेयर प्रतिशत बढाउने घोषणा गरेका हुन् ।
यसअघि टेलिकममा सरकारको ९१.५३ र सर्वसाधारणको ८.४७ प्रतिशत शेयर स्वामित्व थियो ।
बढेन ईभी कर
सरकारले चौतर्फी चर्चाका बीच इभीमा कर बढाएन ।
विद्युतीय साधनलाई प्रवर्द्धन गर्न भन्दै सरकारले ईभीमा यसअघि लगाइएको करको दर यथावत राखेको घोषणा अर्थमन्त्रीले गरेका हुन् ।
ईभीमा कर बढ्ने आकलन गर्दै व्यवसायीले अत्यधिक ईभी गाडी भित्र्याएका थिए । तर, सरकारले करका दरमा हेरफेर गरेन ।
४ हजार ६ सय आयोजना कटौती
सरकारले बजेटमार्फत ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत पुराना साढे ४ हजार आयोजना कटौती गरेका हुन् ।
सरकारले संघीय बजेटमा ३ करोडभन्दा साना आयोजना नराखेको हो, जसले आयोजनाको संख्या घटेको अर्थमन्त्रीले बताएका छन् ।
कर्मचारीको तलब बढेन, महंगी भत्ता ५ हजार पुग्यो
सरकारले यसपटक कर्मचारीको तलब भत्ता बढाएन । तर, कर्मचारीको महंगी भत्ता ५ हजार पुर्याएको छ ।
१० देखि १५ प्रतिशत तलब बढ्ने अपेक्षाकाबीच सरकारले भत्ता मात्रै बढाएको हो ।
साथै, सरकारले यसअघि ६८ वर्षमा दिइँदै आएको वृद्धभत्ता पाउने उमेरलाई ७० वर्ष पुर्याएको छ ।
कलकत्तासम्म पानीजहाज सञ्चालनको अध्ययन
यसअघि पनि चर्चामा रहेको पानीजहाजको प्रसंग सरकारले फेरि ल्याएको छ । सरकारले कोशी, गण्डकीलगायतका मुख्य नदीबाट भारतको कलकत्ता बन्दरगाहसम्म पानीजहाज सञ्चालन गर्नका लागि अध्ययन प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ ।
बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् । यसअघि केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा नेपालको आफ्नै पानीजहाज सञ्चालनको परिकल्पना अगाडि सारेका थिए ।