
नियति
कुख्यात गुण्डाहरू
आग्लो भाँचेर घर भित्र पसे
र चहारे कोठा चोटा ।
समय चिच्याउन खोज्यो
धुरीबाट हतासले
पेस्तोल तेर्साइयो
छाती अगाडि
नबोल्ने संकेत गर्दै
हातपाउ बाँधेर लडाइयो कुनामा ।
गुण्डाहरूले
साउती गरे एकापसमा
र बाकस फुटाए
जति थियो बहुमूल्य चिज
रित्याएर खल्ती भरे ।
समय शून्यवत भयो
एउटा पेस्तोल तेर्साएर
ढोका अगाडि बस्यो
र अरू पल्लो कोठा गए ।
चित्कार सुनियो
अइया......
खाटबाट गरल्याम्म
आवजसहित केही चिज खस्यो ।
अन्धकार रात
सुई..सुई
एकोहोरो मौन थियो
र नजिकै बहिनीको छातीमा
गोलीको निशानी थियो ।
नियतिको क्रुर अत्याचार
समयका पीडाहरूमा
आमाको लाश
संघारमा
लम्पसार लडेको थियो ।
खोलाहरू
खोलाहरू अविरल बगिरहे
बगिरहें म किनार भएर दगुर्दासम्म
फुटेका छन् अहिले मन भित्रै भङ्गलाहरू
साँघु भएर कोही आएन
खोलामै डुबेका छन संकल्पहरू ।
खोलाहरूले चिर्दै गए पहाड
चिर्दै गए मुटुका प्रत्येक कोठाहरू
विना रगत धड्की रह्यो मुटु
म रगत दिन्छु कसैले भनेन
आगोसँग जल्दै गएका छन्
मनका विश्वासहरू ।
सहयात्रीहरू हराए
खोलमा छन कि भनेर खोज्दै छु
कोलम्बसको अमेरिकाको दिनबाट
समुद्रको किनारै किनार
बगरहरू भएर ।
खोलाहरू वर्षामा उर्लिरहे
उर्लिरहे मनलाई बगाउँदै लैजान
अहिले बगरमा उभिएको छु कठिनले
सहयात्रीहरू कसैलाई भेटिनँ
साथीहरू मलाई बचाऊ
कठिनले घस्रँदैछु किनारतिर ।
खोलाहरू अविरल बगि नै रहे
मलाई हुत्याउँदै बगाउन
म किनारमा तैरिएको छु
समाऊ
बाँच्ने रहर पलाएको छ
म खोलाहरूसँंग लुकामारी खेल्दै
गुमेको समय फिर्ता खोजिरहेछु ।
सुन्दरहरैँचा–०६, दुलारी, मोरङ्ग