११ साउन २०८३, सोमबार

खार्किभमाथि रुसको ‘शक्तिशाली’ आक्रमण, कम्तीमा ३ जनाको मृत्यु

जेठ २४, २०८२
काठमाडौं
खार्किभमाथि रुसको ‘शक्तिशाली’ आक्रमण, कम्तीमा ३ जनाको मृत्यु

युक्रेनको उत्तरपूर्वी शहर खार्किभमाथि रूसले गरेको हवाई आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई बालबालिका पनि रहेका छन्। खार्किभ युक्रेनको दोस्रो ठूलो शहर हो। 

खार्किभका मेयर इहोर तेरेखोभले शुक्रबार बिहानै भएको आक्रमणलाई ‘रूसले युक्रेनमाथि हमला थालेयता खार्किभमाथिको सबैभन्दा शक्तिशाली आक्रमण’ भएको बताएका छन्।

उनका अनुसार आक्रमणमा ईरानी प्रविधिबाट बनेका ४८ ड्रोन, दुईवटा क्षेप्यास्त्र र चारवटा गाइडेड बम प्रयोग गरिएका थिए। १४ लाख जनसंख्या भएको खार्किभ शहर रूसी सीमाबाट ५० किलोमिटर टाढा पर्छ।

‘ड्रोनहरू अझै आकाशमा घुमिरहेका छन्’, मेयर तेरेखोभले स्थानीय समय अनुसार बिहान ४:४० बजे टेलिग्राममार्फत जनाएका थिए। आक्रमणका कारण आवासीय भवन र नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

खार्किभमा यसअघि बिहीबार भएको अर्को मिसाइल आक्रमणमा पनि १८ जना घाइते भएका थिए, जसमा चारजना बालबालिका थिए।

युक्रेनभरि आक्रमणको लहर

युक्रेनका अन्य शहरमा पनि शुक्रबार रुसी आक्रमणले क्षति पुर्‍याएको छ। 

दक्षिणी शहर खेरसोनमा भएको गोलाबारीमा एक दम्पतीको मृत्यु भएको छ भने बासोबासका भवनहरूमा क्षति पुगेको क्षेत्रीय गभर्नर ओलेक्जान्द्र प्रोकोडिनले जनाएका छन्।

ड्निप्रो शहरमा भएको छुट्टाछुट्टै आक्रमणमा ४५ र ८८ वर्षीया दुई महिला घाइते भएका छन्।

शुक्रबार देशभरि भएको हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। शनिबार लुत्स्क शहरमा उद्धारकर्मीहरूले थप एक शव फेला पारेर मृतक संख्या ७ पुगेको पुष्टि गरेका छन्।

रूसले भने युक्रेनी भूमिमाथिको आक्रमणलाई युक्रेनबाट भएका ‘आतंकवादी' गतिविधिहरूको जवाफको रूपमा प्रस्तुत गर्दै सैन्य ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्