२२ असार २०८३, सोमबार

स्थानीय तहमा असल अभ्यासको थालनी- रुपन्देही र पाल्पाका ६ पालिकाबीच १० बुँदे सहमति

जेठ २५, २०८२
बुटवल
स्थानीय तहमा असल अभ्यासको थालनी- रुपन्देही र पाल्पाका ६ पालिकाबीच १० बुँदे सहमति

रुपन्देही र पाल्पाका ६ वटा स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका छन् ।

बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका ६ वटा स्थानीय तहका बीचमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका छन् । 

बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका (पाल्पा)ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानून यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् । 

यस्तै, पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटो छरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाहरूको संरक्षण, नदीजन्य पदार्थको उत्खनन् तथा उपयोगका सम्बन्धमा नदीको बहावलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्न यी पालिकाबीच सहमति भएको छ ।

पालिकाकाबीचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योल समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने सहमति पनि भएको छ । यसैगरी, सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्नका लागि आवश्यक कार्य गर्ने, स्थानीय तहले निर्माण गर्नुपर्ने कानून निर्माणका लागि यथाशीघ्र आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बीचमा भएको छ ।

यी ६ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहोरमैला बिर्सजनस्थल वा प्रशोधन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवर्द्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् ।

यस्तै, कृषि उपज तथा अन्य उत्पादनको संकलन, भण्डारण र बिक्री वितरणका लागि आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलको समाधान गर्न एकमत हुने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए ।
 
६ वटा पालिकाबीच भएको सहमतिलाई सबै पालिकाहरूले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय गर्ने उनले बताए । 

पाण्डेयले बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग मानव संसाधनको विकासका क्षेत्रमा ५ लाख रूपैयाँ र छिमेकी पालिकाको ५ लाख रूपैयाँ लगानी गर्ने गरी आगामी बजेटमा समावेश गर्ने बताए ।
 
उनले स्थानीय तहका बीचमा आपसी समन्वय, सहकार्य र साझेदारी कायम राख्नेगरी हरेक वर्ष सबै पालिकाको सहभागिता र सहकार्यमा बुटवल उपमहानगरपालिकाले अन्तरपालिका समन्वय बैठक तथा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्ने पनि बताए ।

यस्ता कार्यक्रमले स्थानीय तहका बीचमा सहकार्य, समन्वय र साझेदारी गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ बताउँछन् । उनले बुटवलले थालेको यो अगुवाइले देशभरमै सकारात्मक सन्देश प्रवाह हुने र अन्य पालिकाहरूले पनि सिक्दै जाने बताए । 

बुटवल र तिलोत्तमाका बीचमा धेरै विषयमा कैयौं पटक छलफल गर्नुपर्ने र निकास निकाल्नका लागि यस्ता कार्यक्रमले झनै प्रभावकारी बनाउने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । उनले बुटवलले थालेको यो अभ्यासले छिमेकी पालिकाहरूसँग सहकार्य र समन्वय गर्नका लागि सहज हुने बताए । 

शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले नदीजन्य पदार्थदेखि विकासका काममा छिमेकी पालिकाहरूबीच अन्योल हुने गरेको अवस्थामा बुटवलले थालेको पहल प्रभावकारी हुने बताए । उनले अन्य पालिकासँग समेत यसैगरी समन्वय र सहकार्यको जरुरी रहेको बताए । 

तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवल र तिनाउका बीचमा पानीको श्रोतदेखि अन्य क्षेत्रको सहकार्य रहिआएको र बुटवलले यसैवर्षदेखि आपसी साझेदारीमा विशेष जोड दिएको बताए । 

उनले तिनाउबाट बुटवलमा पानी ल्याउने मुहान क्षेत्रको विकासका लागि २ करोड रूपैयाँ विनियोजन गरेको र बुटवलसँगको सहकार्य अझ मजबुत बनेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्