१७ असार २०८३, बुधबार

महिलाको गोप्य अंग ‘चेक गर्न लगाउने’ पूर्वमन्त्रीसहित तीन जनाविरुद्ध मुद्दा

जेठ २६, २०८२
विराटनगर
महिलाको गोप्य अंग ‘चेक गर्न लगाउने’ पूर्वमन्त्रीसहित तीन जनाविरुद्ध मुद्दा

पूर्वमन्त्री एवं राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक महिलाले सुम्बासहित तीन जनाविरुद्ध गैरकानूनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् । 

सुब्बा राप्रपाका नेता हुन् । उनी २०७२ सालमा भूमि  मन्त्री बनेका थिए ।

सुब्बालगायत इटहरी उपमहानगरपालिका-९ बस्ने गोपाल साह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । साह पीडित महिलाका ससुरा हुन् । 

श्रीमानसहित परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेको भन्दै पीडित महिलाले यसअघि अंश मुद्दा दायर गरेकी थिइन् । उनले आफूलाई श्रीमान र ससुराले बारम्बार यातना दिने गरेको बताएकी छन् ।

माइतीमा बस्दै आएकी ती महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता र ससुरा गोपालसमेत माइतीमै आएर दुर्व्यवहार गरेको उल्लेख छ । 

उनलाई पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाब दिएको पीडितको जाहेरीमा उल्लेख छ । सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ । उनले ती महिलालाई लैङ्गिक अपमान हुने शब्द प्रयोग गरेको फिरादपत्रमा उल्लेख छ । 

माइतीघरमा प्रतिवादी सुब्बासहितले आफ्नो लिङ्गप्रति प्रश्न गरेको र ‘तिमी हिँजडा भएको कारण अस्वीकार गरेको’ भन्दै अपमान गरेको पीडितको आरोप छ । 

‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नका लागि हामीले आफ्नै महिला (सुनिता घिमिरे) कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरेँ ।  मेरो परिवारले पनि उक्त कुराको इन्कारी गर्नुभयो । तर, प्रतिवादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नाङ्गेझार पार्छौं भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दबाब सिर्जना गर्दै जान थाल्नुभयो ।’​

सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य छुट्याउन भन्दै सँगै आएकी सुनितालाई आदेश दिएको पीडितले बताएकी छन् । उनीहरूको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबर्जस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अंगहरू हेरेको उनले बताएकी छन् । त्यसपछि ‘...हैन रहेछ’ भन्दै संकेत गरेको उनको भनाइ छ ।

पूर्वमन्त्री सुब्बाले भने साहको परिवार आफ्नै घरमा बस्ने गरेकाले मिलाउन गएको बताएका छन् ।

‘मेरै घरमा बसेर साहको परिवार व्यवसाय गर्छन्’, उनले भने, ‘ठूलै झगडा भएपछि मिलाउनका लागि म गएको हुँ । मैले केही पनि भनेको छैन । मेरो चरित्र हत्या गर्नका लागि यति भएको हो’, उनले भने ।

ती महिलाका श्रीमान भने विदेशमा रहेको सुब्बाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्