२९ असार २०८३, सोमबार
गृहमन्त्रीको राजीनामा मागिएको प्रकरण

संसदको अवरोध फुकाउने बहाना– विपक्षी फकाउन कांग्रेसको अतिरिक्त सक्रियता !

जेठ २६, २०८२
काठमाडौं
संसदको अवरोध फुकाउने बहाना– विपक्षी फकाउन कांग्रेसको अतिरिक्त सक्रियता !

प्रतिनिधि सभामा जारी गतिरोधका विषयमा दुई छेउबाट एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी अडानमा उभिँदा नेपाली कांग्रेसले विपक्षीलाई रणनीतिक रूपमा मनाउने प्रयास गरिरहेको छ ।

पटक–पटकका भेटघाट र संवादपछि कांग्रेसले आक्रामक बन्दै गएका विपक्षीलाई नरम बनाउँदै प्रतिनिधि सभाको अवरोध खुलाउन पहल गरिरहेको हो । साथै, भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको निरन्तरको अडानबाट ‘ब्याक’ गराएको छ । 

जेठ १३ देखि १२ दिनसम्म अडानमा बसेका विपक्षीलाई कांग्रेसले सहमतिनजिक ल्याएको छ । कुनै हालतमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा रहेका विपक्षीलाई ‘ब्याक’ गराउन कांग्रेसले भूमिका खेलेको हो । तीन/चार दिनको प्रयासमा कांग्रेसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मनाएको नेताहरू बताउँछन् । 

‘यसपटक उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखकदेखि प्रमुख सचेतक श्याम घिमिरेले विपक्षीसँग सार्थक वार्ताको प्रयास गर्नुभयो । जसको परिणाम गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नैपर्ने मागबाट विपक्षीहरू ब्याक हुनुभएको छ,’ कांग्रेस स्रोत भन्छ, ‘मध्यमार्गी प्रस्तावसमेत ल्याएर कांग्रेसले असन्तुष्ट बनेको रास्वपालाई बनाउन प्रयत्न गरिरहेको छ ।’

गत बिहीबार–शुक्रबारदेखि नै कांग्रेसका नेताहरू विपक्षीसँग संवादमा जुटेका थिए । उपभापति खड्काले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेट गरेको भोलिपल्टै शनिबार सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा अर्थपूर्ण भेट भएको थियो । 

सत्ता समीकरणको राजनीतिमा इमान्दार नेताको छवि बनाएका देउवा यसअघि विपक्षीसँग भेट्न त के फोन संवादमा समेत इच्छा गर्दैनथे । तर, पछिल्लो केही दिनयता पार्टीका दोस्रो र तेस्रो तहका नेताले संवाद गर्न थालेपछि देउवाले आफ्नै निवासमा प्रचण्डसँग भेट गरेका हुन् । 

यही भेटपछि माओवादी र नेकपा एस गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको अडानबाट पछाडि फर्केका थिए । छानबिन समितिको माग गरिरहे पनि कांग्रेसले गृहमन्त्रीको राजीनामाको अडानबाट रास्वपालाई समेत फिर्ता गराइसकेको छ । 

लगभग सबै विपक्षीलाई लचक गराए पनि रास्वपाले कांग्रेसको मध्यमार्गी प्रस्तावलाई नमान्दा अझै प्रतिनिधि सभा बैठक बस्ने स्थिति बनेको छैन । 

कांग्रेसले अध्यागमनका कर्मचारीमाथि अख्तियारले गरिरहेको छानबिन प्रक्रिया टुंग्याएपछि मात्रै अन्य विषयमा जान सकिने मत राखेको छ । तर, रास्वपाले सहमतिका लागि भनेर ५ बुँदा अगाडि सारेको छ । 

रास्वपाका नेताहरू स्वर्णिम वाग्ले, सन्तोष परियार, शिशिर खनालसहितले सोमबार पनि कांग्रेसका नेतासँग छलफल गरेका थिए, जसमा अख्तियारले गरिरहेको अध्यागमनको भ्रष्टाचारजन्य कार्यको अनुसन्धानमा पूर्ण सहयोग गर्ने, भिजिट भिसाको नाममा भएको तस्करी, सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावरसहितको अनुसन्धान गर्न ५ दिनभित्र छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, गृहमन्त्रालय मातहतका कार्यालयहरूसँग समन्वय गरी कमजोरीको पहिचान गर्नुपर्ने जनाएको छ । गृहमन्त्रीको राजीनामाबारे भने रास्वपाले प्रस्ट पारेको छैन । ५ बुँदेमा ‘राजनीतिक–प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्ने’ भनेको छ । 

null

एमाले असन्तुष्ट !

एमाले सरकारको नेतृत्व गरिरहेको दल हो । तर, कांग्रेसले नै सत्तारुढ दल जसरी विपक्षीसँग वार्ता गरेपछि एमाले असन्तुष्ट भएको कतिपयको आकलन छ । एमालेले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग दुवैलाई अतिवादी भन्दै आएको छ ।

कांग्रेसले अग्रसरता लिँदै गाँठो फुकाउन अग्रसरता लिएपछि एमाले केही सशंकित भने बनेको देखिन्छ । 

एमाले सचेतक महेश बर्तौला आफूहरूले सहमतिको प्रयासमा भाँजो नहालेको बताए । 

‘अहिले प्रतिपक्षले सत्तापक्षलाई पेलेको अवस्था हो । अरू तनाव बढाउनुपर्ने कुरा नै छैन,’ बर्तौलाले भने, ‘एमालेले अग्रसरता नलिएको भन्ने आरोपमा सत्यता छैन । हामी छलफल गरेर निकास निकाल्ने प्रयत्नमै छौं ।’

अख्तियारले अध्यागमनमाथि छानबिन सकेर निष्कर्ष निकाल्दासम्म अन्य कुनै छानबिन समितिको आवश्यकता नपर्ने अडान लिँदै आएको छ । तर, कांग्रेसले यो प्रकरणबाट छिटो निस्किन विपक्षीसँग सहयोगका हात लम्काएको छ । 

तीन/चार दिनयता कांग्रेसले मात्रै अग्रसरता लिएर छलफल गरेपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले कांग्रेसका शीर्ष नेतासँग संवाद गरेका थिए, जसमा सभापति देउवा, उपसभापति खड्का, गृहमन्त्री लेखकसहितका नेता सहभागी थिए । सो भेटमा विपक्षीको मागमा कुनै तर्क नै नभएको भन्दै सदनको गतिरोध अन्त्य गरेर जान अब ढिलाइ गर्न नहुने निष्कर्ष निकालिएको थियो । 

‘विपक्षीको माग कति अनुचित छ भन्ने कुरा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागबाट उनीहरू फिर्ता भएको कुराले पुष्टि हुन्छ,’ एमाले स्रोतले भन्यो, ‘विपक्षीसँग संवाद गर्दा कांग्रेस नरम भएको छ । एमाले कुनै हालतमा अख्तियारले गरिरहेको छानबिनलाई प्रभावित हुने गरी समानान्तर छानबिन समितिको पक्षमा छैन ।’

बालुवाटारमा भएको बैठकमा कांग्रेसका नेताहरूले सदनको गतिरोध अन्त्यका लागि मध्यमार्गी प्रस्ताव ल्याएको बताएका थिए । 

प्रचण्डले देउवालाई भेटेको कुरालाई आफूहरूले सामान्य रूपमै लिएको एमाले स्रोत बताउँछ ।

‘प्रचण्ड भेटौं भनेर आफैं देउवाको निवासमा पुगे, अनि उनैले बोलाएर भेटेको हुँ भन्ने म्यासेज बाहिर ल्याए,’ एमाले स्रोतले भन्यो, ‘यस्तो भाष्य बनाउन प्रचण्ड माहिर छन् । यसैले कांग्रेस सभापतिलाई भेट्दैमा हामी शंकाको दृष्टिले हेर्दैनौं ।’

कांग्रेस सांसद रामहरि खतिवडा सबै दलहरू सदन खुलाउने अन्तिम तयारीमा रहेको बताउँछन् । 

‘विपक्षीले पनि कुरा बुझिसक्नुभयो । अब समस्या छैन । रास्वपाको केही गनगन मात्रै हो,’ खतिवडाले भने, ‘अब बुधबारसम्म सहमति हुन्छ, सदन चल्छ ।’

सहमति हुने दाबीसहित सोमबार दिउँसो २ बजेलाई बैठक डाकिएको थियो । तर, डेढ घण्टा ढिलो गरेर बैठक बस्यो ।

प्रतिपक्षीले बेञ्चबाट उठेर पहिलेकै जस्तो विरोध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरे । तर, दलहरू सहमतिको बिन्दुमा नपुगेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्